मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

ब्राजिलमा रहेका अधिकांशलाई नेपाल फर्काउने तयारी

ब्राजिलमा रहेका अधिकांशलाई नेपाल फर्काउने तयारी

केहीले शरणार्थी मान्यताका लागि आवेदन दिए


टेक्सस (अमेरिका) । डङ्की रुट हुँदै अमेरिका आउनका लागि ब्राजिलको साओपाउलो आइपुगेका झण्डै दुइसय नेपालीहरुलाई नेपाल फर्काउने तयारी भएको छ । केही भने शरणार्थीको मान्यता माग गर्दै डंकी रुटबाट अमेरिका जाने योजनामा छन् ।

झण्डै १० दिनदेखि विमानस्थलमै रहेका उनीहरुलाई खाने पिउने व्यबस्था उनीहरुलाई त्यहाँसम्म ल्याउने विमान कम्पनीले गरिरहेको छ । तर उनीहरुसँग ब्राजिलको भिसा नभएकोले बाहिर निस्कन पाएका छैनन् ।

गत सोमबारदेखि लागुहुने गरि ब्राजिल सरकारले पहिलेनै भिसा भएका बाहेक अन्यलाई ब्राजिल प्रवेश नदिने नीति लिएको छ । सो नीति अनुसार ब्राजिललाई ट्रान्जिट बनाएर हवाई माध्यमबाट अर्को देश जान पाए पनि हवाई यात्राको अन्तिम गन्तव्य ब्राजिललाई बनाउन नपाउने व्यबस्था भएको छ । भिसा नभै आउनेले हवाईजहाजबाटै अर्को देश जानुपर्ने र त्यो नभएमा फिर्ता पठाउने व्यबस्था सोमबारबाट सुरु भएको छ ।

अमेरिका आउनेगरि बिना भिसा आएका ६ सय ६० जना दक्षिण एसियालीहरु विगत १० दिनदेखि साओपाउलो विमानस्थलमै छन् । उनीहरुले ब्राजिल सरकारसँग शरणार्थीको मान्यता माग गरेका छन् । शरणार्थीको माग गरेर ब्राजिलमै बस्ने भन्दा पनि ब्राजिललाई रुट बनाएर अमेरिका पुग्ने उनीहरुको लक्ष्य रहेको छ ।

विमानस्थलमा अलपत्र परेका ६ सय ६० मध्य मध्य एकसय ७६ जना नेपाली रहेको ब्राजिलको ब्रासिलियास्थित नेपाली दुतावासले जनाएको छ ।

‘हामीलाई एकिन विवरण त आएको छैन । तर थोरै नेपाली विमानस्थलबाट बाहिरिइसकेको र केही त्यहि रहेको जानकारी आएको छ’ ब्रासिलिया स्थित नेपाली राजदुत निर्मलराज काफ्लेले हिमालयखबरसँग भने ।

नेपाली दुतावास रहेको ब्रासिलियाबाट साओपाउलोको दुरी एकहजार ४८ किलोमिटर छ । गाडीबाट यात्रा गर्दा १४ घण्टा लाग्छ भने हवाईयात्राबाट पुग्न डेढ घण्टा लाग्छ । ‘त्यहाँ रहनुभएका नेपाली समुदायले उहाँहरुलाई आवश्यक सहयोग गरिरहनु भएको छ’ राजदुत काफ्लेले भने । साओपाउलोमा झण्डै ५० जना नेपाली व्यबसाय गरेर बस्छन् ।

भिसा नभएका कारण विमानस्थलबाट बाहिरिन नसकेका यात्रुका लागि आवश्यक व्यबस्था मिलाउने दायित्व विमान कम्पनीहरुको हो । सोही कारण उनीहरु त्यहाँ आइपुगेका बिभिन्न विमान कम्पनीहरुले खाना, पानीको व्यबस्था गरिरहेका छन् । उनीहरुलाई आएकै देशमा फिर्ता लैजानु पर्दा विमान कम्पनीहरुलाई लाखौँ डलर नोक्सानी पर्ने हुँदा शरणार्थी आवेदन गरेर ब्राजिल हुदै अमेरिका जानका लागि अप्रत्यक्ष रुपमा विमान कम्पनीहरुले सहयोग गरिरहको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

नेपाल, भारत, भियतनाम लगायतका देशका नागरिकहरु अमेरिका, क्यानडा जानका लागि ब्राजिल आइपुगेका हुन् । उनीहरु ब्राजिलबाट कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, होण्डुरस, ग्वाटेमाला हुँदै मेक्सिको प्रवेश गर्छन् । मेक्सिकोबाट फलामे बार, नदी पार गरेर अमेरिका प्रवेश गर्ने उनीहरुको उदेश्य हुन्छ ।

कोलम्बिययाबाट पानामा प्रवेश गरेपछि डेरियन ग्याप नामको विशाल जंगलमा उनीहरुले कम्तिमा ७ देखि १० दिनसम्म हिड्नुपर्ने हुन्छ । भोकतिर्खा हुँदै त्यसरी डेरियन ग्याप पार गर्दा कतिपय मानिसहरु त्यही मृत्युवरण गर्छन् । खोलाले बगाएर, विरामी परेर, जनावरको आक्रमणमा परेर धेरै आप्रवासीहरुले निधन हुने गरेको छ । डेरियन ग्यापको जंगल पार गर्दा नेपालीहरुको समेत मृत्य भएको छ ।

अमेरिका प्रवेशका लागि अहिले निकै कडाई गर्न थालिएको छ । अवैध रुपमा प्रवेश गरेपनि पक्राउ गरेर जेलमा राखिने र कतिपयलाई नेपाल डिपोर्ट गर्न थालिएको छ । अमेरिकामै रहेकाहरु मध्य पनि धेरैको लामो समयसम्म शरणार्थीको मान्यताका निम्ति अदातल, युएससिआइएसमा सुनुवाई भएको छैन ।

यो वर्ष चुनावी वर्ष भएको र आप्रवासी प्रति अन’दार रिपब्लिकन पार्टीले अवैध आप्रवासीको विषयलाई ठूलो मुद्धा बनाएको छ । जसका कारण चुनाव हारिने डरले डेमोक्रेटिक पार्टीको सरकारले पनि तल्लोबाटो हुँदै आउने आप्रवासीप्रति पहिलेभन्दा कडाई गर्न थालेको छ ।

दलाललाई ८०/९० लाख रुपैयाँ तिरेर नेपालीहरु दक्षिण अमेरिकी देश हुँदै अमेरिका आउँछन् । यसरी आउँदा ठूलो रकम खर्च हुनुका साथै ज्यानकै जोखिम हुने र अमेरिकी सरकारले समेत डिपोर्ट गर्दै आएको छ । अवैध मार्गलाई डङ्की रुटका नामले पछिल्लो समयमा चिनिन थालिएको छ ।