ड्यालस (टेक्सस) । अमेरिकी न्याय विभागले रियलपेज नामक कम्पनीलाई मिलेमतोमा अपार्टमेन्टको भाडा बढाएको आरोपमा कारवाही अघि बढाएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स अन्तरगत रिचार्डसनमा रियलपेजको प्रधान कार्यालय छ ।
न्याय विभाग र अमेरिकाका ८ वटा राज्यहरुले रियलपेज विरुद्ध मुद्धा दायर गरेका छन् । अपार्टमेन्टका मालिकहरुलाई पोस्ने गरि मिलेमतोमा भाडा बढाउन, तय गर्न यो कम्पनीले सघाउ पुर्याएको अभियोगपत्रमा उल्लेख छ ।
विगत केही वर्ष यता अमेरिकामा अपार्टमेन्टहरुको भाडा अचाक्ली बढिरहेको छ । मानिसहरुको आम्दानीको ६० प्रतिशत खर्च भाडाका लागि जाने गरेको छ । मुद्रास्फिती बढ्नुको धेरै कारणहरु मध्य अपार्टमेन्टको भडा वृद्धिलाई एउटा प्रमुख कारण मानिएको छ ।
नर्थ क्यारोलाइना फेडरेल अदालतमा यो मुद्धा दायर गरिएको छ । अपार्टमेन्टहरुको भाडा नियन्त्रण गर्न रियलपेजले एकाधिकार गरेको, भाडामा सिण्डिकेट गरेको लगायतका अभियोगहरु लगाइएका छन् ।
अचाक्ली बढ्दो अपार्टमेन्ट भाडालाई लगाम लगाउनका लागि हालैमात्र राष्ट्रपति जो बाइडेनले बार्षिक ५ प्रतिशतभन्दा बढाउन नपाउन व्यबस्थाका लागि आव्हान गरेका छन् । उपराष्ट्रपति तथा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसले रियलपेज जस्ता मिलेमतो गरेर उपभोक्तामाथि भाडा बढाउने कम्पनी र सफ्टवयरलाई नियन्त्रण गर्न आव्हान गरेकी छिन् । उनले अपार्टमेन्टका धनीहरु मिलेर भाडा बढाइरहेको समेत बताएकी छिन् ।
अमेरिकाको फिनिक्स, टेम्पा, लसभेगास जस्ता सिटीहरुमा बार्षिक २० प्रतिशतका दरले अपार्टमेन्ट भाडा बढिरहेको छ ।
प्रतिक्रिया