अमेरिका । भर्जिनिया मनाससबाट विगत दुई सातादेखि सम्पर्कविहीन भएकी ममता काफ्ले भट्टको बारेमा सूचना दिनेलाई पाँच हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा गरिएको छ ।
स्थानीय अस्पतालमा कार्यरत ममता एक बच्चाकी आमा समेत हुन् । गत जुलाई ३१ पछि उनी सम्पर्कविहीन भएकी थिइन् । गैर नाफामूलक संस्थाका नाममा यो पुरस्कार घोषणा गरिएको हो ।
स्थानीय प्रहरी र गुप्तचर निकायले पनि ममताको खोजी गरिरहेको जनाएको छ । उनका बारेमा जानकारी दिन त्यहाँको प्रहरीले आग्रह गरेको छ । तर, पनि प्रहरी र गुप्तचरले अहिलेसम्म कुनै सुराक पाउन सकेका छैनन् । यो घटना के कसरी भयो भन्ने बारेमा पनि प्रहरीले केही सार्वजनिक गरेको छैन ।
स्थानीय नेपाली समुदायले पनि ममतालाई खोजी गर्न दबाब दिइरहेका छन् । उनी हराएको बारेमा स्थानीय सञ्चारमाध्यमले पनि सूचना र समाचार प्रशारण गरेका छन् ।
झण्डै १० महिनाअघि आमा बनेकी ममता कहाँ छिन् उनको अवस्था के छ भन्ने झन् रहस्य बन्दै गएको छ । २८ वर्षीया ममताले किन घर छाडिन् र अहिले कुन अवस्थामा कहाँ छिन् भन्ने बारेमा नेपाली समुदायभित्र विभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेको छ । अमेरिकाको व्यस्त जीवन, काम र परिवारबीचको सन्तुलनसँग जोडेर यस घटनालाई हेरिएको छ ।
भजिर्नियाको मनासस नेपाली समुदायको बाक्लो बस्ती रहेको ठाउँ हो । यो वासिङ्टन डिसीनजिकै पर्छ ।
प्रतिक्रिया