मेरा एक अश्वेत सहकर्मी छन् । उनका पुर्खा कैयौ शताव्दी अघि अमेरिका ल्याइए । उनी अमेरिकामै जन्मिए ।
अमेरिकामा सामान्यतया कार्यथलोमा राजनीतिक गफ, चर्चा–परिचर्चा गरिदैन । तर ब्रेकको समयमा हामीबीच समसामयीक विषयमा १०/१५ मिनेट विश्लेषण हुन्छ । कहिलेकाँही कफीसपमा भेटेर अमेरिकाको विगत, वर्तमान र भविष्यका बारेमा गफिन्छौँ । मलाई अमेरिकाको राजनीति, वर्किङ्ग क्लासका मानिसहरुको अनुभव, भोगाई बुझ्नुछ । उनलाई म जस्ता आप्रवासीको अमेरिका अपेक्षा, आशा जान्नुछ ।
उनले अमेरिकी युनिभर्सिटीबाट कानुनमा स्नातक गरेका छन् । उसै त दैनिक जीवनमा आइपर्ने कानुनी विषयहरु व्यबहारिक रुपमा सबैले जानेकै हुन्छन्, बुझेकै हुन्छन् । उनी त परे कानुनका विद्यार्थी, त्यसैले धेरै कुराहरु जान्दछन् । तर केही थाहा नभएजस्तो, नबुझेजस्तो पनि गर्छन् ।
‘यो देशका कानुन एउटै छ । तर कार्यान्वयनमा छालाको रङ्ग, उत्पत्ति, लिङ्ग हेर्ने शताव्दी अघिको मानसिकता अझै जिउँदै छ’ उनले केही दिन अघि भने । उनले आफ्नो नाडीको छाला देखाउँदै अवसरमा देखिएको विभेद प्रति असन्तुष्टी जनाए ।
‘यो मुलुकमा तैले र मैले एउटा भुलवशः सानो गल्ती गरियो भने हामी कुनै पनि कम्पनीमा सामान्य भन्दा सामान्य श्रमिकको काम पाउन बंचित हुनुपर्छ । हाम्रो ब्याकग्राउण्ड चेकजाँच हुँदा हामी अस्विकृत हुन्छौँ । तर यो देशमा ३४ वटा अपराध प्रमाणित अभियुक्त राष्ट्रपति हुन्छु भन्दै हिँडेको छ । केही जनता त्यस्तालाई जिताउँदा अमेरिका ग्रेट हुन्छ भन्दै पछि लागेका छन्’ उनले विद्यमान राजनीति प्रति आगो ओकले । उनको बडिल्याङ्ग्वेज (शरिरको हाउभाउ) ले धेरै कुरा भनिरहेको थियो । गफगाफलाई बिट मार्दै उनले भने–‘वेलकम इन योर ड्रिमल्याण्ड ।’ उनको अन्तिम वाक्यमा म प्रति सटायर थियो । म उनको व्यङ्ग्य पचाउन मुसुक्क हाँसे ।
अमेरिकाको यथास्थितीको राजनीति प्रति उनी सधैं असन्तुष्ट छन् । छाला रङ्गको आधारमा विभेद, लिङ्गको आधारमा विभेद, उत्पत्तीको आधारमा विभेद कहिल्यै नामेट हुन नसकेको उनी बताउँछ । बाँकी विश्व कहाँबाट पुगिसके । ५० वर्ष अघि संकटग्रस्त देशहरु अहिले अमेरिकाको अर्थतन्त्रलाई पछि पार्ने हिसाबले अघि बढिसके । तर अमेरिका भने ध्रुबीकृत राजनीति, बेइमान राजनीतिज्ञहरुका कारण पछि पर्दै गएको उनको विश्लेषण छ ।
अमेरिकामा रेसिज्म अर्थात जात, लिङ्ग, छालाको रङ्ग, व्यक्तिको पहिलेको राष्ट्रियताका कुनै पनि आधारमा भेदभाव गर्न पाइदैन । सन् १९६४ को ‘सिभिल राइट एक्ट’ ले रेसिज्मलाई गैरकानुनी कार्य भनेर व्याख्या गर्यो । व्यबहारमा भेदभाव गर्नेलाई दण्डित गर्ने प्रावधान यो कानुनले ल्यायो । तर यो कानुन कार्यान्वयनमा आएको ६० वर्ष बितिसक्दा पनि अमेरिकी व्यबहारमा रेसिज्म निमिट्यान्न हुन सकेको छैन ।
रेसिज्म एउटा सामान्य रोजगारीका लागि आवेदन दिँदादेखि नै सुरु हुन्छ । रोजगारीको आवेदन दिँदा आवेदकको ‘रेस’ अर्थात जातीयता/क्षेत्रियता खुलाउनुपर्छ । व्यक्ति श्वेत हो कि अश्वेत, हिस्पानिक हो कि एसियन किन आवश्यक पर्छ ? त्यसको साटोमा कार्य अनुभव उल्लेख हुनुलाई स्वभाविक र वान्छनीय मान्न सकिन्छ ।
अमेरिकामा रेसिज्म अझै पनि दह्रो जरा गाडेर बसेको तथ्यलाई राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले पनि स्विकार गरेको छ । ह्वाइट हाउसद्वारा गत जुलाई ३, २०२४ मा सार्वजनिक ‘रेसियल डिस्क्रिमिनियसन इन कन्टेम्पोरी अमेरिका’ रिपोर्टमा रोजगारी, आर्थिक अवसर, हाउजिङ्ग, स्कुलमा व्याप्त भेदभावका बारेमा उल्लेख छ ।
अमेरिकामा रेसिज्मको जरा कति गढेर बसेको छ भन्ने दृष्टान्त बुधबार पूर्ब राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान उपराष्ट्रपति तथा भावी राष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिसमाथि व्यक्त टिप्पणीलेनै छारष्ट पारेको छ । जमैकिन अश्वेत बाबुकी छोरी कमलाले अहिलेसम्म, जहिले पनि, जहाँ पनि आफू अश्वेत भएको उल्लेख गर्दै आएकी छिन् । तर ट्रम्पले भनेका छन्–‘मलाई उनी अश्वेत जस्तो कहिले पनि लागेन । उनी भारतीयको कार्यक्रममा धेरै सहभागी हुने कारणले बरु भारतीय हुनुपर्छ ।’ सिकागोमा भएको अश्वेत पत्रकारहरुको संस्थाले आयोजना गरेको कार्यक्रममा ट्रम्पले बोलेको भनाईले अमेरिकाभित्र रेसिज्मको कति ठूलो खाडल छ र राष्ट्रपति भैसकेको व्यक्तिले कति खेलाँची ढङ्गले हेपेर बोलिरहेका छन् भन्ने दोस्रो उदाहरण खोज्न जरुरी छैन । ‘भालेवाद’ को विकृत रुप भन्दा कुनै अर्को कोणबाट ट्रम्पको बोलीलाई हेर्न र लिनु पर्दैन ।
एक महिना अघिमात्र अमेरिका स्वतन्त्र भएको दुईसय ४८ वर्ष पुग्यो । जतिसुकै मानवअधिकार, महिला अघिकारको बढाई चढाई गरेपनि अढाई शताव्दीको अवधिमा अमेरिकाले महिला नेतृत्वलाई विश्वास गर्न सकेको छैन । अमेरिका भन्दा धेरै पछि बेलायती उपनिवेशबाट स्वतन्त्र भएका थुप्रै मुलुकहरुमा महिला राष्ट्रपति, प्रधानमन्त्री भैसके । टाढा किन जानु र ? अमेरिकाको उत्तरी छिमेकी क्यानडाले राष्ट्रप्रमुखका रुपमा बेलायती राजालाई मान्दै आएको छ । तर क्यानडामा महिलाले सरकार प्रमुखका रुपमा पद सम्हालेको पनि ३० वर्ष नाघिसक्यो । क्यानडामाकिम क्याम्पवे तीन दशक अघि प्रधानमन्त्री भएकी हुन् । अर्को छिमेकी मेक्सिकोले राष्ट्रपतिका रुपमा पहिलो पटक महिला क्लाडिया साइनबाउन निर्वाचित भैसकेकी छिन् ।
संसारका विकसित देशहरुमा पर्ने मुलुकहरुमा अमेरिका बाहेक अधिकांशमा महिलाले नेतृत्व गरिसकेका छन् । बेलायतमा सन् १९७९ मै मार्गरेट थ्याचर, भारतमा सन् १९६६ मा इन्दिरा गान्धी, ब्राजिलमा राष्ट्रपतिका रुपमा सन् २०११ मा डिल्मा रोसेप, जर्मनीमा एञ्जेला मार्केल, अष्ट्रेलियामा सन् २०१० मा जुलिया गिलर्ड, न्यूजिल्याण्डमा सन् १९९७ मा डेम जेनी सिप्ले, इटालीमा सन् २०२२ मा जर्जिया मेलोनी, स्पेनमा सन् १९९६ मा मारिया टेरेसाले देशको नेतृत्व गरिसकेका छन् । अधिनायकवादी शासन व्यबस्था रहेका रुस, चीन लगायत र कडा मुस्लिम वाहुल्य देशहरुमा भने महिलाहरुलाई देशको नेतृत्व गर्ने अवसर प्रदान गरिएको छैन । मुस्लिम देशहरु मध्य पनि पाकिस्तान, बंगलादेशमा धेरै अघि महिला नेतृत्वले शासन चलाइसकेका छन् ।
संसारमा मानव अधिकारको पक्षमा आवाज उठाउने, प्रजातन्त्र र समानताको लागि संसारको चासो राख्ने अमेरिकाले भने किन महिलालाई नेतृत्वमा विश्वास गरेको छैन ? यसको सतही कारण हेर्दा ‘योग्य व्यक्ति नभएर’ भन्ने ओठे जवाफ आउला । तर भित्री कारण भनेको व्याप्त रेसिज्म अर्थात महिला माथिको अविश्वास, विभेद, भालेवाद नै हो । विभेद सतहमा देखिदैन । तर भित्री रुपमा महिलामाथि हुने व्यबहार, शासनमा पुग्नेहरुले बोल्ने शव्द र शैलीले अमेरिकामा महिलामाथिको राजनीतिक भेदभाव चर्को रुपमा रहेको स्पष्ट महसुस गर्न सकिन्छ । डोनाल्ड ट्रम्पले सन् २०१६ मा हिलारी क्लिन्टन विरुद्ध बोलेका दुर्वाच्य, महिला विरुद्ध बारम्बार ट्रम्पका मुखबाट निस्कने अपशव्द यसका ज्वलन्त प्रमाणहरु हुन् । यस पटकको प्राइमरी चुनावमा रिपब्लिकन पार्टीबाट प्रतिस्पर्धी रहेकी निकी हेली विरुद्ध पनि बारम्बार उनले गैर राजनैतिक शव्द प्रयोग गरे । रिपब्लिकन पार्टीभित्रकै पनि ट्रम्प प्रति असहमत राख्नेहरु विरुद्ध अपशव्द बोल्नु उनका लागि सामान्य ठहरिएको छ । यति हुँदाहुँदै पनि ट्रम्पका र्यालीहरुमा उनका समर्थनमा महिला स्वर उल्लेख्य सुनिन्छ । यसको अर्थ अमेरिकामा महिलाले नेतृत्वको अवसर नपाउनुमा सबै महिलाको समर्थन नभएर भन्नु भन्दा पनि महिलाद्वेषीहरुलाई महिलालेनै साथ दिन नछाडेर भन्नुपर्ने हुन्छ ।
अमेरिकामा महिलालाई अघि सार्ने र विश्वास गर्ने दलको रुपमा डेमोक्रेटिक पार्टीले आफुलाई चिनाउने प्रयास गरेको छ । डेमोक्रेटिक पार्टीलेनै पहिलो पटक सन् २००७ मा नेन्सी पेलोसीलाई संसदको सभामुख बनायो । दुई पटक सम्म उनलाई डेमोक्रेटिक पार्टीले सभामुख हुने अवसर दियो ।
अमेरिकी इतिहासमै पहिलो पटक महिला उपराष्ट्रपति डेमोक्रेटिक पार्टी बनाएको थियो । वर्तमान उपराष्ट्रपति कमला ह्यारिस अमेरिकी इतिहासमा पहिलो महिला उपराष्ट्रपति हुन् । राष्ट्रपतिको उम्मेदवारका रुपमा सन् २०१६ मा डेमोक्रेटिक पार्टीले हिलारी क्लिन्टनलाई अघि सारेको भएपनि उनी विजयी हुन सकिनन् । मतसंख्याका आधारमा उनले डोनाल्ड ट्रम्पभन्दा २८ लाख ६८ हजार मत बढी ल्याएकी थिइन् । तर अमेरिकाको विशिष्ट चुनावी प्रकृयाले गर्दा उनले जित्न सकिनन् ।
राष्ट्रपति जो बाइडेनले चौतर्फी दवाव, शुभेच्छुकहरुका सुझावका आधारमा उम्मेदवार नहुने निधो गरेपछि वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले चुनावी दौड सुरु गरेकी छिन् । विगत डेढ साताका घटनाक्रम र मुर्झाएका डेमोक्रेटिक पार्टीका मतदाता, शूभेच्छुकहरुमा मात्र नभएर ‘एन्टी ट्रम्प’ रिपब्लिकन बीच पनि आशा जगाएको विश्लेषण गरिएको छ । यो बीचमा उनको अभियानका लागि संकलित सहयोग रकम र अमेरिकाभरि बढेको चुनावी चासोले यो देशले इतिहासमा पहिलो महिला राष्ट्रपतिको नाम लेखाउला त भन्ने तिर संसारकै चासो बढेको छ ।
कमला ह्यारिसले राष्ट्रपतिमा जितिन् भने एकै पटक तीनवटा रेकर्ड बन्नेछन् । पहिलो, अमेरिकी इतिहासमा पहिलो महिला राष्ट्रपति उनी हुनेछिन् । दोस्रो, पहिलो अश्वेत महिला राष्ट्रपति हुनेछिन् । तेस्रो, आप्रवासी माता र पिताकी छोरी राष्ट्रपति भएको इतिहास पनि उनले रच्नेछिन् । उनका पिता जमैकन अश्वेत हुन् भने माता भारतीय । संसारका अधिकांश मुलुकहरुमा बच्चाहरु जन्मिदा आमाको नभै बाउ तर्फको पहिचान दिइन्छ । त्यसो हुँदा भारतीयमुलकी आमा भन्दा पनि उनको पहिचान अश्वेत जमैकन पिताको आउँछ । यो तथ्यलाई डोनाल्ड ट्रम्पले नजरअन्दाज गरेर वा हेपेर आफूलाई कमला अश्वेत हो भन्ने जानकारी नभएको भन्दै ‘इन्सल्ट’ गरेका छन् ।
बिट मार्नु अघि फेरि पनि मेरो सहकर्मीकै कुरा जोड्ने अनुमति चाहन्छु । कमला ह्यारिस राष्ट्पतिको उम्मेदवार हुने विषयले उनको जीवनमा कुनै तात्विक अन्तर पर्दैन । तर उनी उत्साहित छन् । किन उत्साहित भने अढाईसय वर्षको इतिहासमा अमेरिकाले महिलाको नेतृत्व पाउनेछ । दोस्रो अश्वेत महिलाको नेतृत्व अमेरिकाले पाउनेछ । तेस्रो आप्रवासी बाउ–आमाकी छोरी आफ्नै बलबुताले संसारकै नेतृत्व गर्ने स्थानमा पुग्नेछिन् ।
रेसिज्मलाई काँधमा बोकेर हिँड्नेहरु बाहेक अमेरिकीहरुको चाहना यसपटक महिला नेतृत्वप्रति सकारात्मक देखिन्छ । अमेरिकाभित्रै मात्र नभएर रुस, उत्तर कोरिया बाहेक बाहिरी देशहरुमा पनि ट्रम्प जस्ता भौज्याहाले विश्वको लिडरशीप गर्ने ल्याकत राख्दैनन् भन्ने चाहना छ । अमेरिकी जनता र बाहिरी विश्वको यो चाहना आउँदो नोभेम्बर ५ मा पुरा होला त ?
प्रतिक्रिया