मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

ग्याँस स्टेशनमा हत्या गरिएका वलीको सहयोगार्थ गोफण्ड (भिडियो सहित)

ग्याँस स्टेशनमा हत्या गरिएका वलीको सहयोगार्थ गोफण्ड (भिडियो सहित)


ग्याँस स्टेशनमा हत्या गरिएका वलीको सहयोगार्थ गोफण्ड

टेक्सस (अमेरिका) । टेक्ससको वेको सिटी नजिकैको ‘गेटोर स्टप’ ग्याँस स्टेशनमा कार्यरत रहँदा आइतबार बिहान हत्या गरिएको दीपक वलीको परिवारको सहयोगार्थ रकम संकलनार्थ शुभचिन्तकहरुले गोफण्ड खोलेका छन् ।

झण्डै ८० लाख रुपैयाँ दलाललाई बुझाएर गत वर्ष वर्षको जुलाईमा उनी मेक्सिको हुँदै अमेरिका आएका थिए । तर ऋण चुक्ता समेत गरि नसक्दै लुटेराहरुको गोलीले उनको आइतबार बिहान उनी कार्यरत ग्याँस स्टेशनमै निधन भएको थियो ।

परिवारमा वृद्ध पिता, पत्नी र ५ बर्षिया छोरी छन् । अमेरिकामा शवको व्यबस्थापन र नेपालमा विचल्लीमा परेका परिवारलाई थोरै भएपनि भरथेग गर्न सहयोग संकलन सुरु भएको मृतकका आफन्त एवं एनआरएन अमेरिकाका बोर्ड अफ डाइरेक्टर तथा टेक्सस च्याप्टरका पूर्ब उपाध्यक्ष मोहन कुसारीले उल्लेख गरे । कुसारीकै सकृयतामा गोफण्ड खोलिएको हो ।

‘अमेरिकामा रहेका रुकुमेलीहरु साथीहरुले पनि अलग्गै ग्रुप बनाएर सहयोग संकलन गरिरहनुभएको छ । गोफण्डबाट पनि सहयोग संकलन गर्न सुरु गरिएको छ’ कुसारीले जानकारी दिए । अमेरिकाका रुकुमेलीहरुले अहिलेसम्म ३० हजार डलरको हाराहारीमा रकम संकलन गरिसकेका छन् भने गोफण्डबाट यो समाचार तयार पार्दा सम्म झण्डै ५ हजार डलर संकलन भएको छ । गोफण्डमा ६५ हजार डलरको लक्ष्य राखेर रकम संकलन सुरु गरिएको छ ।

मृतक वली घर रुकुमको बाफीकोट–१० मा बासिन्दा हुन् । उनका पिता गाउँमै बाख्रापालन गरेर बस्दै आएका छन् । २६ बर्षिया पत्नी विमला बुढाथोकी भने ५ बर्षकी छोरी पढाउनका लागि भनेर दाङ्गको तुलसीपुर बस्दै आएकी सेतोपाटी अनलाइनले जनाएको छ । अमेरिका आउँदा लिएको ८० लाख ऋण मध्य अहिलेसम्म उनले आधा पनि तिरिनसकेको समेत सेतोपाटीमा उल्लेख छ ।

टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ रसरोडमा रहेको ग्याँस स्टेशनमा कार्यरत ३० बर्षिय वलीलाई लुटेराले कोखामा गोली हानेर हत्या गरेका हुन् । अन्दाजी बिहान ५ बजेको समयमा वली कार्यरत ग्याँस स्टेशनमा आएर दुई लुटेराले गोली प्रहार गरेको बताइएको छ । एक जना श्वेत र अर्का अश्वेत लुटेराहरुले स्टोरमा पसेर एक्कासी गोली प्रहार गरेको र उनको घटनास्थलमै निधन भएको थियो ।

तीन जनाको समुहमा आएका लुटेरा मध्य एकजना भने बाहिर गाडीमै बसेको र दुईजना स्टोरमा पसेर हत्या गरेको बुझिएको छ । मृतक वलीले ग्रीनकार्डको प्रकृया अन्तरगत सुरुमा अहिले असाइलमको आवेदन दिएका थिए ।

लुटेराहरुले उनलाई गोली प्रहार गर्नु अघि बिहान ३ बजेतिर अर्कै ग्याँस स्टेशनमा पुगेर लुटेका थिए । त्यहाँ पनि नेपाली क्लर्कनै कार्यरत थिए । त्यसमा भने लुटेर क्लर्कलाई कुटपिट गरेका थिए ।

‘अहिलेसम्म प्रहरीले शव दिइसकेको छैन । शव हस्तान्तरण भएपछि यहीँ व्यबस्थापन गर्ने तयारी भएको छ’ कुसारीले भने । उनले पीडित परिवारको राहतको लागि अमेरिकामा रहेका सबै नेपालीबाट सहयोगको अपेक्षा राखिएको बताए ।