मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   

बोस्टनमा हुने १७औं साधारण सभालाई सफल बनाउन नेजाको तयारीले लियो तिब्र गति

बोस्टनमा हुने १७औं साधारण सभालाई सफल बनाउन नेजाको तयारीले लियो तिब्र गति

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

यतिबेला नेपाल अमेरिका पत्रकार संघ(नेजा) आफ्नो १७औं साधारणसभाको तयारीमा जुटिरहेको छ। साधारण सभाको मिति नजिकिदै गर्दा नेजा परिवारलाई आवश्यक तयारी गर्न भ्याइनभ्याई भैरहेको छ। यही आउदो मे २५ र २६, २०२४ (शनिबार र आइतबार)मा अमेरिकाको ऐतिहासिक सहर बोस्टनमा हुनगइरहेको उक्त साधारण सभालाई सफल बनाउन नेजाको तयारीले तिब्र गति लिइरहेको छ। साधारण सभा मूल आयोजक समिति, कार्यसमिति, विभिन्न समितिहरु र सदस्यहरु बोस्टनमा हुने १७औं साधारण सभालाई ऐतिहासिक, उपलब्धिमूलक र मार्ग निर्देशक बनाउन अहोरात्र खटिरहेका छन्।

तयारीका सम्बन्धमा, नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक एवम् १७औं साधारणसभा मूल आयोजक समितिका संयोजक सुपेन्द्र बस्नेतले जानकारी दिए अनुसार उक्त साधाणसभा 594 Washington Street, Braintree, MA- 02184 स्थित प्रवासी नेपालीहरुको संस्था ‘पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङल्याण्ड(प्याब्फोन-PABFONE)को सामुदायिक भवनमा गर्ने निधो गरिएको छ। यसैगरी, साधाण सभामा सहभागी हुने नेजा सदस्यहरुलाई कार्यक्रम स्थलबाट झण्डै पाँच माइल दुरी रहेको 1374 N Main Street, Randolph, MA-02368मा अवस्थित होटल कम्फोर्ट इन ड्यानरफ (Comfort Inn Randolph)मा बास बस्ने व्यवस्था गरिएको छ भने, विहानको नास्ता बासस्थानमा र दिउसो र साँझको खाना कार्यक्रम स्थलमै व्यवस्था गरिने भएको छ। कार्यक्रम स्थल र बासस्थानमा आवतजावतको व्यवस्था भने स्थानीय संघ संस्थाका प्रतिनिधि एवम् सहयोगीहरुको सहयोगमा गरिने तयारी रहेको छ। कार्यक्रमको तयारीका सम्बन्धमा जानकारी दिदै १७औं साधारणसभा मूल आयोजक समितिका संयोजक बस्नेतले भने, ‘साधारणसभाको मिति नजिकिदै गर्दा तयारीले पनि तिब्रता पाइरहेको छ। बासस्थान र कार्यक्रम स्थल तय भैसकेको छ। प्रमुख अतिथि, अतिथिहरू, संस्थाका सदस्य ज्यूहरुलगायत सरोकारवाहरुलाई आधिकारिक निमन्त्रणा गर्ने कार्य भैरहेको छ। व्यानरहरु र फ्लायरहरु बनाउने र सदस्य ज्यूहरुलाई चरण बद्ध आवश्यक अद्यावधिक सूचनाहरु प्रवाह गर्ने कार्य भैरहेको छ। ‘

साधारण सभा हुने स्थान : अमेरिकाको म्यासाच्युसेट्स राज्यको बोस्टन सहर

संस्थाले नेपाली समुदाय र उनीहरुको संघ संस्थाहरुलाई प्राथमिकता दिने र हातेमालो गर्दै अघि बढ्ने निति अनुरुप नै साधारण सभा हुने थलो नेपाली समुदायकै भवन रोजिएको बताउदै उनले भने, ‘केही कठिनाइ बेहोर्नु परेतापनि हामीले नेपाली समुदायलाई नै प्राथमिकता दिएर नेपाली समुदायकै भवनमा साधारण सभा गर्ने निर्णय गरेका हौं। यसले ठूलो अर्थ राख्छ। र, महत्वपूर्ण सन्देश दिन्छ भन्नेमा नेजा विश्वस्त छ।’ तयारीका बारेमा थप जानकारी दिदै साधारण सभा मूल आयोजक समितिका संयोजक बस्नेतले भने, ‘अन्य आवश्यक तयारी अन्तर्गत संस्थाको प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, विभिन्न उपसमितिहरुको कार्यसम्पादन प्रतिवेदन, विधान संशोधनका लागि प्रस्तावलगायत कामहरुले पनि निकै गति लिइरहेको छ।’ संयोजक बस्नेतले नेजा सदस्यहरुलाई बोस्टनमा स्वागत गर्न आफू, स्थानीय समूदाय र नेजा परिवार आतुर रहेको जनाउदै सदस्यहरुलाई सपरिवार बोस्टन आउन चुले निम्तोसमेत दिएका छन्।

यसै बिच, नेजाले वार्षिक साधारण सभाका बखत संस्थाको स्मारिका ‘प्रयास’ प्रकाशन गर्ने गरी आवश्यक तयारीलाई तिब्रता दिइएको छ। संयोजक बस्नेतका अनुसार यस पटको ‘प्रयास’ मा विगतकै ढाँचालाई निरन्तरता दिदै ‘विद्यमान नेपाली पत्रकारिता एवम् भाषाको महत्व’ विषयलाई प्राथमिकताका साथ समावेश गरिने भएको छ। यसको जिम्मेवारी वरिष्ठ पत्रकार एवं भाषाविज्ञ शरच्चन्द्र वस्तीलाई सुम्पिए अनुसार सामग्री तयार भैसकेको र सम्पादनको प्रक्रियामा रहेको छ। उक्त स्मारिकामा संस्थागत संक्षिप्त परिचयसहित संस्थाको गतिविधिहरु समावेश गरिनुका साथै शुभकामना दिन चाहनेहरुको शुभकामनालाई पनि समेटिने भएको छ। त्यसका लागि शुभकामना दिन चाहनेहरुबाट शुभकामना सन्देश सङ्कलन गर्ने कार्य तिब्र गतिमा भैरहेको बुझिएको छ।

साधारण सभा हुने स्थान : पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इंग्ल्याण्ड (PABFONE) को भवन। (नेपाली समुदायको सामुदायिक भवन)

नेपाल अमेरिका पत्रकार संघ(नेजा) उत्तर अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरुको साझा संस्था हो। यसको बिजारोपण सन् २००१ बाटै भएर सन् २००७ मा विधिवत् स्थापना भइ यो निरन्तर क्रियाशील हुदै आइरहेको छ। संस्थाको विधान अनुसार नेजाले हरेक वर्ष साधारण सभा र प्रत्यक दुइ वर्षमा अधिवेशन गर्दै आइरहेको छ। जस अनुसार, गत वर्ष मे २० र २१ मा टेक्सासको ह्युस्टन सहरमा सम्पन्न आठौं अधिवेशन तथा १६औं साधारण सभाले सुरज भण्डारीको नेतृत्वमा दुइ वर्षीय कार्यकाल(२०२३-२०२५)का लागि नयाँ कार्यसमिति चयन गरेको थियो। सोही कार्यसमितिको बोस्टनमा हुन गइरहेको यो प्रथम वार्षिक उत्सव हो।