मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
टेक्सस   

वित्तीय अपराधको अभियोगमा टेक्ससमा धमाधम नेपाली पक्राउ

वित्तीय अपराधको अभियोगमा टेक्ससमा धमाधम नेपाली पक्राउ


तस्बिर: सामाजिक संजाल

हिमालयखबर संवाददाता-

ड्यालस (अमेरिका) । गत सोमबार ड्यालसका एक जना ठूला मध्यमा पर्ने नेपाली मुलका व्यवसायीलाई वित्तीय अपराधको आरोपमा प्रहरीले पक्राउ गर्यो । प्रहरीले ‘मगसट’ सहित सार्वजनिक गरेको विवरणमा उनलाई संस्थागत रुपमा अपराध कार्यमा संलग्न भएको, जुवालाई बढावा दिएको, जुवाघर चलाएको, जुवा खेलाउने उपकरण राखेको आरोप लगाईएको छ ।

उनी अहिले धरौटीमा रिहा भएका छन् । ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स वरपर उनका दुई दर्जनभन्दा बढी स्टोरहरू छन् । केही साता यता ड्यालस टेक्ससमा आधा दर्जन नेपाली व्यवसायीलाई यसरी वित्तीय अपराधमा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरिसकेको छ ।

टेक्सस नेपालीहरुको सवैभन्दा धेरै व्यवसाय रहेको राज्य हो । स्टोर, स्मोकसप, रेष्टुरेन्ट लगायतका व्यवसायमा नेपालीहरु संलग्न छन् ।

यहाँका कतिपय स्टोरमा गेम मेसिन राखेर ग्राहकलाई खेल्ने दिने गरिन्छ । गेम मेसिन एक हिसाबले मिनिक्यासिनो हो । नगद राखेर खेल्ने ती मेसिनमा जित्नेलाइ नगद पनि भुक्तानी गरिन्छ । कतिपय ठाउँमा यसरी नगद दिनु कानुन विपरित हुन्छ । यही भएर नेपाली व्यवसायी पक्राउ परेका हुन् ।

टेक्ससमा वैधानिक रूपमा ठूला क्यासिनो छैनन् । राज्यको कानुनमा क्यासिनो खोल्न बर्जित छ । त्यसोहुँदा टेक्ससबासीलाइ टार्गेट गरेर टेक्ससको अोक्लोहामाको सीमाना, लुजियाना र टेक्ससको सीमाना श्रीपोर्टमा ठूला क्यासिनो छन्।

वित्तीय अपराधमा संलग्न व्यवसायीलाई प्रहरीले गोप्य रुपमा अनुसन्धान गर्छ । कानुन विपरित काम गरेको प्रमाण भेटिएपछि पक्राउ गर्छ । केही नेपाली व्यवसायी पक्राउ पर्ने डरले अमेरिका बाहिर गएको पनि बताईएको छ । अन्य थप नेपाली पनि अनुसन्धानको घेरामा परेको हुन सक्ने बताईएको छ ।

स्टोरमा गेम मेसिन राख्ने वाहेक अनलाइन जुवामा पनि केही नेपाली संलग्न छन् । छिटो र सजिलै पैसा आउने भएकाले अनलाइन जुवा खेलाउने बढेका हुन् । यो पनि गैरकानुनी हो । अनलाइन जुवा खाउने र विभिन्न एपहरु मार्फत पैसा कारोवार गर्नेलाई पनि प्रहरीले मिहिन रूपमा खोजी गरिरहेको बताईन्छ ।

केही दिन अघि एक स्टोर मालिक केही ग्राहक प्रति संकेत गर्दै भन्दैथिए-‘किनमेल गर्दा बिटोका बिटा नगद निकाल्छन् । भरखर २५/२६ वर्षका देखिन्छन् । गेम खेलाएर अाएको नगदमा कारोबार गर्छन् ।’ ती व्यबसायीका अनुसार अनलाइन जुवा खेलाउने र पैसा कमाउने लतमा परेका केही विद्यार्थीहरूले कलेज छाडेर ‘अाउट अफ स्टाटस’ भैसकेका छन् ।

अनलाइन जुवा, गेम मेसिन प्रतिस्पर्धाले समाजमा ठूलो विकृती फैलिएको छ । समाजमा यो विषय भुसको अागो जसरी फैलिँदै गएको अग्रजहरू बताउँछन् । ‘छँदाखाँदाको राम्रो जागिर छाडेर मानिसहरू के गररहेका होलान् भनेको त यस्तो धन्दामा युवाहरू सकृय पो रहेछन्’ समाजका अर्का एक अग्रजले अाश्चर्य चकित हुँदै भने ।

पछिल्लो समयमा ट्यारेन्ट काउन्टी, ड्यालस काउन्टीका प्रहरीले निकै कडाइ गर्न थालेको छ । उता अनलाइन जुवामा नेपालमा समेत प्रहरीले कयौंलाई पक्राउ गरेको छ । उनीहरुको नेटवर्क टेक्सससँग जोडिएको हुन सक्ने अनुमान छ । टेक्ससका  व्यवसायी मध्ये अर्का एक जनालाई हालै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो ।

छिटो पैसा कमाउने बाटो रोज्दा यसरी नेपाली व्यबसायीहरू पक्राउ पर्न थालेको स्थानीयहरु बताउँछन् ।