एक दिन सनतकुमार वस्ती दाइले मेसेज गर्नु भयो – ” महफिल काव्य संगम पुस्तक दिनु छ बहिनी , तिमी यता कि उता ? ”
उहाँको मेसेज त्यो पनि गजलको पुस्तक म औधी खुशी हुँदै रिप्लाई गरें – ” दाइ यतै छु । ” किताब कसरी पठाइदिउँ त ? ” मैले बुझिहाले दाइले म अमेरिकामै छु भन्ठान्नु भएको रहेछ । मैले नेपालमै छु भनेर दाइलाइ बताएँ ।
उहाँ पनि खुशी हुनुभयो ।
हाम्रो भेट्ने समय र ठाउँ तय भयो Readers Hube Cafe कौशलटार।
” महफिल काव्य संगम ” हात पर्नु अघिदेखिनै कौतुहलता थियो पढ्न के होला , कस्तो होला ….?
गजल लेख्न , सुन्न , हेर्न र लेख्न रुचि राख्ने मान्छे म । अमेरिका बसाइमानै महफिल काब्य उपासनाको गतिविधि सामाजिक सन्जाल मार्फत नियाल्थे र मनमनै आफू पनि त्यहीं भएको कल्पना गर्थे ।
अमेरिकामा रहँदा पनि साहित्य पोस्ट मार्फत डा सनतकुमार वस्तीका गजल सम्वन्धि लेखहरु पढिरहन्थे । गजल लेख्न सिक्न प्रयत्न गर्दै गर्दा सनत दाइका मूल्यवान समयले मलाई साथ र आशीर्वाद दुबै दिएका छन् ।
सम्पादक सनत दाइको हस्ताक्षर भएको महफिल काव्य संगम पुस्तक हात परेपछि झन् व्यग्रता बढ्यो कति खेर पढौं भनेर ।
दिइरन्छ न्यानो उ आफै जलेर
जहाँसम्म आगो खरानी हुँदैन
– डा. सनतकुमार वस्ती
घटाके साथ बरसे लाख आँसु
यह धरती फिर भी प्यासी रह गई है
– मोहम्मद जफर
जमाने को जब भी देखा इन निगाहों ने
हर चेहेरे में तेरा चेहरा ही नजर आया था
– डा. श्वेता दीप्ति
पहिले त डर लाग्थ्यो मृत्युुसित
अचेल जिन्दगीसंँग डराउन थालेछु
– ज्ञानुवाकर पौडेल
हवा जो आग कि लपटों को ले के उडती है
किसीका घर न जला दे मेरे मकान के बाद
– इम्तियाज वफा
कसैले भन्यो रे मलाई मरेको
म किस्ताहरुमा छु बाँच्दै गरेको
– डा. घनश्याम परिश्रमी
यी केही प्रतिनिधि शेरहरु मात्र हुन् । केही परिचित र धेरै अपरिचित आदरणीयहरुका हिन्दी, उर्दु र नेपाली गजल , कविता ,मुक्तक पढेर भाव विभोर भएँ । सर्जकहरुसँग साक्षत्कार हुने र सृजना सुन्ने लालसा मभित्र झन तरंगित भइरह्यो ।
फष्टाउंदै गएको नेपाली गजल देखेर खुशी लाग्यो । गजललाई माया गर्नेहरुप्रति सम्मान जाग्यो ।
गजल , गीत र संगीतका गुन्जन सहित साहित्य साधकहरुको जमघट र त्यसको गरिमा आफैमा अलौकिक हुन्छ । त्यो संयोग जुटाउने , संयोजन गर्ने महफिल काव्य उपासनाको प्रसंशा जति गरे पनि कम हुन्छ ।
आदरणीय डा कृष्णजंग राणाप्रति अगाध श्रद्धा छ मेरो । महफिल काव्य संगम पढेपछि थाहा भयो महफिल ए काव्य उपासना मार्फत नेपाली गजल साहित्यले उहाँको शितल छाहारी पाएको रहेछ । मैले चिनेको त्यसलाई मलजल हालेर हुर्काउने तल्लिन व्यक्ति हो सनतकुमार वस्ती । र धेरै साहित्य अनुरागीका हात र साथ , प्रेम र अनुरागको परिणाम हो गजल ए काव्य उपासना ! र त्यही काव्य उपासनाले दिएको उपहार हो ” महफिल काव्य संगम । ”
नजिकबाट नियाल्न अझै बाँकी छ । अझ धेरै बुझ्नु छ , लेख्नु छ । मैले टाढाबाट हेरेको , पढेको , सुनेको महफिल ए काव्य उपासना एउटा मन्दिर हो । त्यो मन्दिरप्रतिको अपार श्रद्धा शब्दले मात्रै कति व्यक्त गर्ला र !
प्रतिक्रिया