मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
अमेरिका समाचार   
न्युयोर्क   

अमेरिकामा घर बिक्री घट्यो

अमेरिकामा घर बिक्री घट्यो

उच्च व्याजदर र महँगो मूल्य मुख्य कारण


तस्बिर: सामाजिक संजाल

अमेरिका । अमेरिकामा गत वर्ष सन् २०२३ मा घर बिक्री घटेको छ । महँगो व्याजदर, आम्दानीको तुलनामा घरको मूल्य किन्न सक्ने क्षमता भन्दा बढी हुनुजस्ता कारणले घर बिक्री घटेको हो । बिक्री घटे पनि घरको मूल्य आमअमेरिकी उपभोक्ताको किन्न सक्ने क्षमताभन्दा अझै बढी रहेको छ ।

अहिले अमेरिकामा एउटा परिवारका लागि उपयुक्त घरको औषत मूल्य ३ लाख ८९ हजार अमेरिकी डलर छ । यो सन् २०२२ को तुलनामा एक प्रतिशत बढी हो ।

अमेरिकामा घरजग्गा बिक्रीको तथ्यांक राख्ने नेशनल एसोसिएसन अफ रियाल्टर्स (एनएनआर) का अनुसार गत वर्ष ४० लाख ९ हजार घर बिक्री भएका थिए । यो सन् २०२२ को तुलनामा १९ प्रतिशतले कम हो । सन् २०२२ मा पनि अघिल्लो वर्षको तुलनामा घरको बिक्री १८ प्रतिशतले घटेको थियो ।

अमेरिकामा अहिले बिक्रीका लागि बजारका आएका घरको संख्या पनि कम छ । त्यसैले किन्न चाहनेलाई थोरै मात्र विकल्प छन् ।

घरको बिक्री घट्नुमा मुख्य कारण महँगो मूल्य र उच्च व्याजदरलाई मानिएको छ । केही सातायता व्याजदर घटे पनि यो अझै उच्च नै छ । सन् १९९५ मा पनि व्याजदर उच्च हुँदा घरको बिक्री घटेको थियो । यो साता ३० वर्षको ऋणको व्याजदर ६ दशमलव ६० मा आएको छ । यो केही महिनाअघि झण्डै ८ पतिशतसम्म पुगेको थियो । चार लाखको घर किन्दा व्याजदरमा १ प्रतिशतले तल माथि हुँदा मासिक किस्तामा झण्डै २५० डलरले फरक पर्छ ।

एनएआरका प्रमुख अर्थशास्त्री लोरेन्स यान घरको अहिलेको उच्च मूल्य अस्थायी भएको बताउँछन् । उनका अनुसार मूल्य विगतको तीन वर्षयता जसरी बढिरहन सम्भव छैन ।

घरको मूल्य उच्च वृद्धिले करिब ८ करोड ५० लाख घरधनीलाई भने फाइदा भएको छ । अहिले अपार्टमेन्टमा बसिरहेकाहरु नयाँ घरको खोजीमा छन् । लोरेन्स भन्छन्, “यसरी अपार्टमेन्टमा बस्नेहरुले घर किन्न कि उनीहरुको आम्दानी वृद्धि हुनुपर्छ कि घरको मूल्य घट्नुपर्छ । यी दुई अवस्थामा मात्र घरको बिक्री बढ्न सक्छ ।”

अमेरिकामा घरलाई सम्पत्तिका रुपमा लिइन्छ । केही समययता अमेरिकामा घर किन्ने नेपालीको संख्या पनि ह्वात्तै बढेको छ । अहिले अमेरिकाका अधिकांश सहरमा नेपाली रियल्टर्सहरुले काम गर्न थालिसकेका छन् ।