मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोस्टन   
विचार / ब्लग    

‘बम्जन प्रकरण’ सत्य तथ्यको आधार किनारा लगाइयोस्

‘बम्जन प्रकरण’ सत्य तथ्यको आधार किनारा लगाइयोस्


यतिबेला तपस्यी रामबहादुर बम्जन पक्राउ प्रकरण निकै चर्चामा रहेको छ। यो प्रकरण सबैको धेर थोर चासो र चिन्ताको विषय पनि बन्न पुगेको छ। उनी बारा जिल्लाको तत्कालीन रतनपुरी गाविस, बुन्जर भन्ने ठाँउमा सामान्य परिवारमा जन्मिएका थिए। उनले स्थानीय सरकारी स्कूलबाट २ कक्षासम्म अध्ययन गरेका थिए। त्यसपछि उनी लामा पढ्नका लागि भारतको देहरादुन पुगे। त्यहाँको दुइ वर्षको अध्ययन पछि नेपाल फर्किएका उनी देहरादुन नफर्की नेपालमै रहेर ज्ञान प्राप्तिका लागि भन्दै तपस्याको अभियानतिर होमिएका थिए।

उनले बि.सं.२०६२ साल जेष्ठ २ गतेबाट ब्रमाण्डको कल्याणका लागि भन्दै बारा जिल्ला, हलखोरियाको चारकोसे जंगलमा तपस्या सुरु गरेका थिए। उनको त्यो दुनियाँलाई अचम्मित पार्ने र विज्ञानलाई चुनौती दिने रहस्यमय तपस्याले, विश्वको ध्यान खिच्न सफल भयो। जसले गर्दा त्यहाँ मानिसहरुको महामेला नै लागेको थियो। त्यति बेला म जिडब्लुपि/ प्लानइन्टरनेश्नलद्वारा बारा, पर्सा र रौतहट जिल्लामा सञ्चालित शिक्षा तथा स्वास्थ्य सम्बन्धि कार्यक्रमको कार्यक्रम अधिकृतको हैसियतमा कार्यरत थिएँ। आफ्नो कार्यक्षेत्र भित्र परेकाले मौका मिलाएर अवलोकन गर्न र समाचार संकलन गर्न मै पनि पटक पटक त्यस तपस्या स्थलमा पुगेको थिएँ। हजारौं मानिसहरुको उपस्थित, व्यवस्थापन, साजसज्जा, लामा पाठ, लामा भाषा, भेषभूषाआदिका कारण तपस्या स्थलले साचिकै भगवान प्रकट भए झैं भान पार्थ्यो। तपस्यामा बसेको लामो समयपछि हजारौंका बिच सार्वजनिक भएर अघोर तपस्या पश्चात् आफूले दैविक शक्ति र अमूल्य ज्ञान प्राप्त गरेको जिकिर गर्दै देशना(प्रवचन) दिने क्रममा उनले अष्टशीलको उपदेशसमेत दिएका थिए।

उनले दिएको अष्टशीलको मूख्य उपदेशहरुमा मानवलाई धर्म, जाति, वर्ण, लिंगको आधारमा भेदभाव गर्न नहुने, धर्मलाई ठूलो सानो भनेर छुट्याइ अवहेलना गर्न नहुने, भेदभावपूर्ण दर्शन, सिद्धान्त र नीति अपनाउन नहुने, राष्ट्रले कुनै पनि राष्ट्रलाई शत्रु र मित्र राष्ट्रका रुपमा छुट्याएर भेदभावपूर्ण ब्यवहार गर्न नहुने, सत्यलाई असत्य र असत्यलाई सत्य बनाउन नहुने, कुनै पनि कुरालाई बढाइ चढाइ गर्न नहुने, दश अकुशल कर्म गर्न नहुने, शिल, समाधि र प्रज्ञालाई व्यवहारमा उतारेर राष्ट्र सेवामा समर्पित हुनु पर्ने, सम्यक सम्बुद्धत्व प्राप्त गर्नु पर्ने, मानवले आफू र अरुको निम्ति मोक्ष प्राप्त गर्नु पर्नेलगायत समावेश थिए।

उनको चर्चा सुन्दा, पढ्दा र तपस्या स्थलको अवलोकन गर्दा, उनीप्रति मनमा सकारात्मक धारण बनेको भएतापनि, मनैदेखि भगवान(उनको दावी अनुसार मैत्रीदेव)को रुपमा स्विकार गरेर अनुयायी नै बनिहाल्न भने सकिन। उनीप्रति सकारात्मक हुनुमा भने मेरो मनमा गौतम बुद्ध र बौद्धधर्मप्रतिको श्रद्धाले प्रमुख भूमिका खेलेको थियो। तर, उनी एक असामान्य र साधक व्यक्ति चाही पक्कै हुन्। र, उनमा असामान्य, अद्भुत र विलक्षण शक्ति पक्कै छ भन्नेमा भने म सहमत हुदै गएको थिएँ।

यसैक्रममा, तपस्या गरेको २८०औं दिनमा उनको शरीरबाट आगो निस्किएको र मैत्रीदेव उनको शरीरमा समाहित भएको व्यापक चर्चा चल्यो। जुन रहस्यमय घटना खिचेर सार्वजनिक गरिएको भिडियो निकै भाइरल पनि बन्यो। यसले मलाई उनीप्रति थप जिज्ञासु बनायो। र, उनलाई बुद्धसंग तुलना गरेर सत्य तथ्य बुझ्न कोसिस गर्दै थिएँ। यसैक्रममा, जब उनी तपस्या स्थलबाट एकाएक हराए, तब उनीप्रति नकारात्मक टिका टिप्पणीहरुले प्राथमिकता पाउन थाले। र, उनी, उनको पथ, दर्शन र उनका समर्थकहरुको खिलाफमा आरोपहरु लाग्न थाले। यतिकैमा त्यस घटनाले अर्कै मोड लिइदियो।

तपस्यी बम्जनले आफू मैत्रीदेवको आदेश अनुसार नै तपस्यामा बसेको, तपस्याका क्रममा मैत्रीदेव चौथो पटक पृथ्वीमा आएर आफूमा लिन भएको र आफूलाई अष्ठशीलको ज्ञान प्राप्त भएको दावी गरिरहेका छन्। ६ वर्ष लामो निराहार निर्जल कठोर तपस्या गरेर मैत्री ज्ञान प्राप्त गरी ब्रमाण्डको कल्याणका लागि सबैको साझा र सर्वोच्च धर्म ‘मैत्रीधर्म’को स्थापना गरिएको भन्ने उनको र उनका अनुयायीहरुको जिकिर छ। उनको भनाइहरु सुन्दा र गतिविधिहरु तथा व्यवहारहरु झट्ट हेर्दा, बौद्धधर्मसंग मिल्दो जुल्दो छ। तर, यथार्थमा भने यो बौद्ध धर्मभन्दा पृथक धर्म र दर्शन भएको बम्जन र उनका अनुयायीहरुको दावी गर्छन्।बम्जनले आफू सर्वज्ञानी भएको, सबै देवताहरुको पनि देवता भएको, ब्रमाण्ड आफ्नो नियन्त्रणमा रहेको, ब्रमाण्डको कल्याणका लागि ब्रमाण्डको संचालनको जिम्मा आफूले पाएको बताउदै आएका छन्।

हलखोरिया जंगलमा दुनिया साक्षी राखेर प्रारम्भ गरेको तपस्यादेखि सिन्धुपाल्चोक, ललितपुर हुदै देशका विभिन्न स्थानमा पुगेर आफ्नो मैत्रीधर्मको प्रचारप्रसार गर्ने अभियानका क्रममा अनेक खाले उतारचडावहरु व्यहोर्दै अहिले उनी प्रहरी हिरासतसम्म पुगेका छन्। ब्रमाण्ड कल्याणका लागि शान्ति नै एक मात्र निर्विकल्प सर्त भएको बताउने बम्जनले, आफू पक्राउ पर्दादेखि सिआइबिको कार्यालयमा पुगेर सार्वजनिक हुँदासम्म शान्त स्वभाव देखाए। त्यतिबेला उनको अनुहार र हाउभाउबाट सामान्य भाव झल्किरहेको प्रस्ट देखिन्थ्यो। जसले उनमा एक साधक तथा तपस्यीको विशेषता रहेको मान्न थप बल पुर्याएको थियो। यद्यपि, झण्डै १८ वर्ष लामो मैत्रीधर्म प्रचारप्रसार महाअभियानको यात्राका क्रममा उनको पक्ष र विपक्षमा उठेका गम्भीर प्रश्नहरु, जिज्ञासाहरु, गतिविधिहरु, बनेका अनुयायीहरु, लागेका संगिन आरोपहरु र घटित दु:खद घटनाहरु हरेक कोणबाट अत्यन्त चिन्तन, मनन र अनुसन्धान गर्न योग्य रहेका छन्। त्यति मात्र नभएर, सरकार, प्रहरी, न्यायलय, विभिन्न राजनितिक दल, धर्म, सम्प्रदायलगायत देशी विदेशी शक्तिहरुका भूमिका र गतिविधिहरु सङ्काको घेराबाट अछुतो रहन सकेका छैनन्। संसारमा धर्मको नाममा अनेक खाले दु:खद घटनाहरु भइरहेका छन्। धर्मलाई दुरुपयोग गरेर एकले अर्कोलाई सिध्याउने षयन्त्र मौलाइरहेको छ। पापीहरुको रगरगी र चकचकी बढ्दै छ। जसले गर्दा असली धर्म र सक्कली धर्मात्माहरु पनि बदनामको सिकार भइरहेका छन्। यसै सिलसिलाको एक प्रतिनिधि घटना हो-‘बम्जन प्रकरण’।

चाहे जे/जो सुकै कारण/कारक भएतापनि, जे नहुनु पर्ने थियो, त्यो भै गयो। अब भने यसलाई मैले एक विडम्बनापूर्ण दुर्भाग्य बस प्राप्त ‘सौभाग्य’ हो भन्ने ठानेको छु। जसमा दुबै पक्षलाई आफूलाई सत्य सावित गर्ने समान अवसर र अधिकार छ। अब सरोकारवालाहरुले आ-आफ्नो धर्मलाई शिरोधार्य गरेर सत्य तथ्यको आधारमा यस प्रकरणलाई किनारा लगाउन चुक्नु हुदैन। यो घटना केवल बम्जनको व्यक्तिगत घटना र समस्या होइन। यसमा विभिन्न धर्म, धर्मावलम्बी, जात जाति, सम्प्रदाय, समुदाय, समाज, परिवार, सरकार, सरकारी निकायहरुलगायत अन्य पक्षहरु पनि प्रत्यक्ष वा परोक्ष रुपमा जोडिएका छन्। र, सोही अनुसार प्रभावित पनि भइरहेका छन्। तसर्थ, यो समग्र नेपालीको समस्या हो। अझ भनौं संसारकै समस्या हो भन्ने ठानेर सोही अनुसार समाधानका लागि आवश्यक कदम चाल्नु पर्दछ। ‘बुढी थि मरी’ भनेर सामान्य रुपमा लिनु र बेवास्ता गर्नु भन्दापनि ‘काल पो पल्किएको हो कि त ? भन्ने कोणबाट पनि चिन्तन मनन गर्न जरुरी छ।

यो विषम परिस्थितिमा आरोपित बम्जन र उनका अनुयायी तथा समर्थहरु निकै संयमित हुनु पर्दछ। पिडित भनिएकाहरुले पनि सत्कर्म गरेर मोक्ष प्राप्ति गर्नका लागि सत्य र तथ्यका आधारमा मात्र कदम अघि बढाउनु पर्दछ। अर्कोतर्फ, यस घटनालाई किनारा लगाउने मूख्य जिम्मेवारी न्यायीक निकायको काँधमा पुगेको छ। यस अवस्थामा कानूनी राज्यका पक्षधरहरुले न्यायीक निकायप्रति अविश्वास गरेर अन्यथा सोच्नु, व्याख्या तथा विश्लेषण गर्नु, वकालती गर्नु र निश्कर्ष निकाल्नु जायज र बुद्धिमानी पक्कै हुदैन। न्यायीक निकायको भूमिका, निश्कर्ष र फैसलालाई कुर्नै पर्ने हुन्छ। न्यायीक निकायले पनि अब यस चुनौतीपूर्ण सौभाग्यलाई सदुपयोग गर्दै आफ्नो न्यायीक धर्म इमान्दारीपूर्वक निर्वाह गर्नु अपरिहार्य छ। आशा र भरोसा छ कि, न्यायीक निकायले विश्वव्यापी न्यायीक धर्म निभाउदै आफूप्रति जनमानसमा स्थापित विश्वासलाई थप मजबुत बनाउने र आफूप्रति फैलिएको भ्रम, सङ्का र वितृष्णालाई चिर्ने कार्म गरेर संस्थाको गरिमा बढाउन सफल हुनेछ। र, अन्तत्वगत्वा: सत्यको जित भइ ‘बम्जन प्रकरण’ किनारा लाग्ने छ।