मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व : प्रधानमन्त्री

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व : प्रधानमन्त्री

हिमालय खबर

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु (गुरुङ) समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन्। तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै उनले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको औँल्याए। उनले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको बताए।

उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति हो। यो ल्होसार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो। मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो। यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्त्व राख्दछ।’

प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरुदण्डका रूपमा आत्मसात् गरेको उल्लेख गर्दै नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको औँल्याए।

‘संविधानको यही मर्म र भावनालाई गहिरोसँग आत्मसात् गर्दै राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो,’ उनले भनेका छन्, ‘नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो। यहाँ बसोबास गर्ने सबै जाति/जनजातिको आ-आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन्। यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति हो।’

प्रधानमन्त्री प्रचण्डले देशमा विद्यमान चुनौतीहरूको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकांक्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहँदै आएको पनि बताएका छन्। उनले देशको विशेषता र मौलिकताको आत्मसातीकरणसहित संघीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको बताए। नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको उनले बताए।