खेतको
भ्यागुतो पनि
अनावश्यक ट्र्वार–ट्र्वार कराउँदैन
विषालु सर्पले पनि
उसलाई नबिच्क्याई
कसैलाई त्यसले डस्तैन
यदि
आफैमा एउटा
स्यानो झिल्को सल्केको छैन भने
तालुमै सूर्य खसे पनि
मान्छे डढ्दैन
मान्छे आफैं आगोको
सबैभन्दा तातो भुङ्ग्रो हो
मात्तिन्छ भने उसले
सूर्यलाई पनि
कत्ति ठाउँ कत्ति पटक
अंगार
डढाएको छ
मान्छेले
धेरै समय धेरै चोटि
स्वयम्
भेललाई पनि बगाएको छ
संसारका
सारा उचाइलाई
मान्छेको
पाइतालाले कुल्चिसकेको छ
संसारका
सारा गहिराइलाई
मान्छेले डुबुल्की मारिसकेको छ
र मान्छेले
साँच्चै आँट्यो भने
सम्पूर्ण सागरलाई
स्वाप्पसँग
आफ्नो अँजुलिमा
अटाउन सक्छ
मान्छेले चाह्यो भने
उड्दै गरेको
बतासलाई पनि
मुठ्ठीमा समातेर पछार्न सक्छ !
(कवि परिचय : २०३५–३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन देखि नेपाली प्रजातान्त्रिक आन्दोलनमा सक्रियरही त्यसै बखत देखि कविता लेखन प्रारम्भ गर्नु भएका कवि ढुंगानाको चार दशक भन्दा लामो पत्रकारिताको अनुभव छ । सिन्धुली जिल्लाको तोश्रामखोलामा जन्म भई हाल झापाको भद्रपुरमा बस्नु हुने उहाँको एक कविता संग्रह “ सुकिला मान्छेको सामूहिक मृत्यु” (२०७०) प्रकाशित छ ।)
प्रतिक्रिया