मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गैँडाको खाग तस्करी प्रकरणका मुख्य योजनाकारसहित आठ जना पक्राउ

गैँडाको खाग तस्करी प्रकरणका मुख्य योजनाकारसहित आठ जना पक्राउ

केशव भट्टराई

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवन राष्ट्रिय निकुञ्जको भित्री भागमा दुईवटा गैँडाको खागसहित आठ जना पक्राउ परेका छन् । पक्राउ परेका उनीहरूलाई बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली सुरक्षा चौकीबाट दुई किलोमिटर दक्षिण–पूर्वतर्फ कात्तिक ३० गते खाल्डोमा पारेर दुईवटा गैँडा मारिएका थिए । अन्दाजी १८ र छ वर्षका पोथी गैँडा मारिएपछि निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले तस्कर पक्राउ गर्न खटिएको थियो ।

खाग तस्करीको मुख्य योजनाकारका रुपमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ लेबर्टका ३३ वर्षीय रमेश खाती, हेटौंडा–४ बस्ने ४४ वर्षीय समसेर थिङ र मनहरी गाउँपालिका–६ नयाँ बस्ती बस्ने ५६ वर्षीय थिङ बाजे भनिने सीताराम थिङलाई पक्राउ गरिएको छ । उनीलाई मंसिर ९ गते चितवन राप्ती नगरपालिका–६ बाट पक्राउ गरिएको हो ।

खाग तस्करीमा संलग्न भएको आरोपमा राप्ती–११ ठाकलटार बस्ने ४२ वर्षीय पाशाङ भनिने आइते सिंह मोक्तान, रोल्पा सुनछहारी गाउँपालिका–६ फगाम घरभई हेटौंँडा–५ बस्ने २८ वर्षीय अर्जुन रोका, चितवन कोराक घरभई राप्ती–११ थाकलटार बस्ने ४० वर्षीय उनबहादुर स्याङतान, मकवानपुरको मनहरी–७ ज्यामिरे घरभई माडी नगरपालिका–९ बाँदरझुला बस्ने ५६ वर्षीय स्याङ्बो भनिने ईन्द्रबहादुर तामाङ र गोरखा बारपाक घर भई भरतपुर महानगरपालिका–११ लामाटोल बस्ने घले भनिने ७७ वर्षीय धनबहादुर गुरूङ पक्राउ परेका छन् ।

गैँडा मारेर खाग बिक्री गर्न तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पक्राउपछि उनीहरूबाट खागसमेत बरामद गरिएको छ । निकुञ्जको गस्ती भइरहने क्षेत्रमा गैँडा मारिएपछि वन तथा वातावरण मन्त्रालयले अध्ययनका लागि टोली गठन गरेको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक बेदकुमार ढकालको संयोजकत्वमा गठित टोलीले स्थलगतरूपमा अध्ययन गरेर यही मङ्सिर १२ गते विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानालाई प्रतिवेदन बुझाएको छ ।

निकुञ्जको महत्त्वपूर्ण भू–भागमा पुरातन शैलीमा गैँडा मारिएपछि सर्वत्र चासो र चिन्ता व्यक्त गरिएको थियो । घटनालगत्तै निकुञ्ज प्रशासन, नेपाली सेना र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो खटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।

उनका अनुसार बिहीबार राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा पत्रकार सम्मेलनमार्फत पक्राउ परेका उनीहरुलाई सार्वजनिक गरिएको हो । निकुञ्जका सूचना अधिकारी तिवारीका अनुसार पत्रकार सम्मेलनमा निकुञ्ज विभागका महानिर्देशक ढुङ्गाना, ब्यूरोका प्रवक्ता नवराज अधिकारी, नेपाली सेनाको राष्ट्रय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका अधिकारीसमेतको उपस्थिति रहेको थियो ।

सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३८ वटासम्म गैँडा तस्करले मारेका थिए । पछिल्ला वर्षहरूमा वन्यजन्तु चोरी सिकारी घटेर गएको थियो । कतिपय वर्षमा निकुञ्जले शून्य चोरी सिकार वर्ष मनाएको थियो । गत वर्ष दुईवटा गैँडा सिकारीले मारेका निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो गणनाअनुसार छ सय ९४ गैँडा रहेका छन् । नेपालमा सात सय ५२ गैँडा छन् ।