मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जानी राखे राम्रो    
breaking   
अमेरिका समाचार   
टेक्सस   

फोहोरका डङ्गुर अघिल्तिर मिलियन डलरका घर

फोहोरका डङ्गुर अघिल्तिर मिलियन डलरका घर

जान्ने हो भने फोहोर समस्या होइन अवसर हो


आर्लिङ्गटन (टेक्सस) । फोहोरको उचित व्यबस्थापन संसारभरका सिटीहरुका लागि सबैभन्दा ठूलो टाउको दुःखाइ बनिराखेका छन् । तर थोरैमात्र योजना, अलिकति विवेक, अलिकति व्यबस्थापन मिलाउने हो भने फोहोर समस्या होइन अवसरको क्षेत्र बन्न सक्छ भन्ने उदाहरण अमेरिकाको टेक्ससमा देखिएको छ ।

टेक्ससका अधिकांश सिटीहरुले एक आपसमा मिलेर फोहोर विसर्जन प्रणाली चलाएका छन् । व्यबस्थित प्रणाली अवलम्बन गरिएका कारण वरिपरी समेत नत दुर्गन्ध आउँछ । नत झिङ्गा भन्किदै घरमा छिर्छन् ।

विगत ६० वर्षदेखि आर्लिङ्गटनमा रिपब्लिक सर्भिसले फोहोर व्यबस्थापन तथा प्रशोधन स्थल चलाइरहेको छ । यो साइटले अझै आउँदो ५० वर्षलाई थेग्ने डिभिजन मेनेजर डेभ हिल्ड्रेथले उल्लेख गरे । आर्लिङ्गटन ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्स क्षेत्रको बीच भागमा पर्ने सिटी हो । ल्याण्डफिल साइट भने आर्लिङ्गटन, युलेस, हर्स्ट र बेडफोर्ड सिटीलाई पायक पर्ने स्थानमा छ ।
ड्यालस फोर्टवर्थ मेट्रोप्लेक्सका युलेस, आर्लिङ्गटन, हर्स्ट, बेडफोर्ड, ग्रेपभाइन, नर्थ रिचल्याण्ड हिल्स, ग्राण्डपेरी लगायतका सिटीहरुबाट दैनिक चारहजार ५ सय टन फोहोर यो प्रशोधन केन्द्रमा आइपुग्छन् ।

केन्द्रले कुहिने र नकुहिनेलाई अलग्याउँछ । नकुहिने मध्य पनि धातु, प्लास्टिक, सिसा, कागजलाई अलग्गै बनाएर बिक्री गर्छ । कुहिने फोहोरलाई भने यो ल्याण्डफिल्ड साइटमा ल्याएर विसर्जन गर्दै आएको छ ।

सातसय ९० एकड जग्गामा फैलिएको छ यो ल्याण्डफिल साइट । यो भनेको भनेको झण्डै ६ हजार तीनसय २० रोपनी अर्थात तीनसय १६ हेक्टर हो । सन् १९६० देखि यहाँ फोहोरको व्यबस्थापन गर्न सुरु भएको हो । फोहोरको डङ्गुर थुपार्दा थुपार्दा जमिनको सतह दुइसय ८० फिट अग्लो भैसकेको छ ।

चारैतिरबाट हेर्दा फोहोर थुपारिएको ठाउँ समथर भाग बीच उठेको पहाडको थुम्को जस्तो देखिन्छ । फोहोर थुप्रिएर बनेको पहाडको टुप्पामा पुगेर पूर्ब दिशामा हेर्दा ड्यालस फोर्टवर्थ अन्तर्राष्ट्रिय विमानस्थल, पश्चिम तर्फ फोर्टवर्थ डाउनटाउनका अग्ला भवनहरु, उत्तरमा युलेस सिटी र दक्षिण तर्फ ड्यालस डाउनटाउन, एटीएण्डटी रंगलाशाका भव्य दृश्य देखिन्छन् ।
टाकुरोको टुप्पाबाट सँगै जोडिएको भेरिडिएन ताल, ट्रिनिटी नदी, लिगेसी पार्कको भव्य दृश्य पनि देखिन्छ । फोहोरको डङ्गुरबाट बनेको पहाडको ठ्याक्कै अघिल्तिर विशाल भेरिडिएन वस्ती छ । जहाँ कम्तिमा साँढे ५ लाखदेखि लिएर डेढ मिलियन (१५ लाख) डलर मूल्यका घरहरु छन् ।

फोहोरको अघिल्तिर यति ठूलो वस्ती भएपनि फोहोरको डम्पिङ्ग साइट हो भन्ने कुरा जोकोहीले भेउ समेत पाउन सक्दैनन् । किनकी पहिलो गन्ध आउँदैन । कुनै समय गन्ध निस्किहाल्यो भने पनि त्यसलाई न्यूनीकरण गर्नेगरि एक माइलको भेपोर सिस्टम राखिएको डिभिजन मेनेजर हिल्ड्रेथले उल्लेख गरे ।

६० बर्षदेखि फोहोर थुपारिएका कारण अहिले यहाँबाट मिथेन ग्याँस उत्पादन समेत भैरहेको छ उनले जानकारी दिए । मिथेन प्रज्वलनशील प्राकृतिक ग्याँस हो । यहाँबाट प्रति मिनेट झण्डै चारहजार क्युबिक फिट मिथेन ग्याँस उत्पादन हुन्छ । यो परिमाण भनेको ४८ हजार एकसय ९ किलोग्राम हो ।

उत्पादित मिथेन ग्याँसलाई एटमस इनर्जीले खरिद गरेर ग्राहकको घरघरमा वितरण गर्छ । एटमस इनर्जी ड्यालस फोर्टवर्थमा पाइपबाट घरघरमा ग्याँस आपूर्ति गर्ने उर्जा कम्पनी हो ।

मिथेन ग्याँसलाई निकाल्न ल्याण्डफिल साइटमा तीनसय वटा इनारहरु छन् । त्यसबाट पाइपमा संकलन गरेर एकैठाउँमा जम्मा गरेर एटमसलाई बिक्री गर्दै आएको छ ।

चारैतिरबाट अग्लो बनेको र माथि टुप्पामा फुटबल ग्राउण्डभन्दा पनि फराकिलो ठाउँ छ । यसलाई अब बिकास गरेर मानिसहरु हिड्ने ट्रेल (ढलान बाटो) बनाउने, साइकल चलाएर एक्सरसाइज समेत गर्न मिल्ने र पार्क समेत बनाउने तयारी भैरहेको रिपब्लिकका अधिकारीहरुले जानकारी दिए । यहाँ पार्क, ट्रेल बनेपछि मानिसहरुका लागि निकै रमाइलो स्थल बन्ने संभावना देखिन्छ ।

यसरी हुन्छ फोहोरको व्यबस्थापनः

रिपब्लिक सर्भिसले घर, व्यबसायबाट संकलन गरेको फोहोरलाई ट्रिपरबाट सबैभन्दा पहिले पुनः प्रशोधनयोग्य र अयोग्य गरि दुई भागमा छुट्याउँछ । पुनः प्रयोगमा आउन सक्ने प्लास्टिक, कागज, मेटललाई अलग बनाएर सड्ने फोहोरलाई चाँही आर्लिंगटन ल्याण्डफिल साइटमा बिसर्जनका लागि जम्मा गर्छ ।

सड्ने फोहोरलाई ठूला लोडरको सहायतामा जमिनमा भरिन्छ । यहाँ कुनै ठूलो अरु केही गरिदैन । २० फिट फोहोर राखिसकेपछि ६ इन्च माटोले थिचिन्छ । हरेक २० फिटमा फेरि ६ इन्च माटो भरिन्छ प्राविधिकहरुले जानकारी दिए ।

२० फिट फोहोर अनि ६ इन्च माटो गर्दै अग्लो बनाउँदै जाँदा अहिले दुईसय ८० फिट अग्लो पहाड भैसकेको छ । अब अर्को साइटबाट त्यसैगरि फोहोर र माटो भर्न सुरु गरिएको छ । बीचमा सानो खोल्सा र जंगल छ । यो सानो खोल्साको मार्गनै फेर्ने योजना छ ।

अहिले फोहोर राख्न थालिएको ठाउँमा भरिदै जाँदा खोल्साको मार्ग समेत फेरिएपछि पहिलेको जम्मा भएको र नयाँ ठाउँ जोडिन्छ । त्यसपछि पहाडको टुप्पो अझै फराकिलो एवं भयंकर देखिनेछ ।

फोहोरको ठूलो पहाड बनिसकेको भएपनि त्यहाँबाट निस्कने लिच्चडलाई समेत बाहिर निस्कन दिइएको छैन । फोहोरको पहाड हो भन्ने तथ्य पहिलो पटक जाने जो कोहीले विश्वास समेत गर्दैनन् । किनकी नत दुर्गन्धले नाक थुन्नुपर्ने अवस्था छ, नत गिद्ध चील स्याल जस्ता जन्तुहरुनै देखिन्छन् ।

फोहोर बोकेर गएका गाडीको चक्कामा लागेको माटो समेत सडकमा नपुगोस् भनेर स्वचालित रुपमा गाडी धोएर मात्र निस्कने व्यबस्था गरिएको छ ।

फोहोरको व्यवस्थापन गर्न जान्यो भने यो आर्थिक रुपमा नोक्सानीको क्षेत्र नभै एउटा उद्योग सरह नाफामुलक क्षेत्र समेत रहेको संकेत आर्लिङ्गटन ल्याण्डफिल साइटले पुष्टी गरेको छ ।

पुनः प्रयोगयोग्य मेटल, कागज, प्लास्टिक, सिसालाई बिक्री गरेर हुने आम्दानी त छँदैछ । ल्उाण्डफिल साइटबाट कम्पोष्ट मल, काठका टुक्रा (मल्चिङ्ग) बिक्री गरेर पनि त्यत्तिकै आय रिपब्लिकले गर्दै आएको छ ।

‘बार्षिक ५० हजार टनको हाराहारीमा मल्च समेत बिक्री गर्छौ’ हामी डिभिजन मेनेजर हिल्ड्रेथल खुलासा गरे । यति ठूलो क्षेत्रफलको ल्याण्डफिल साइट भएको हुँदा सयौ कर्मचारी, कामदारले काम गर्छन होला भन्ने ठान्नुभयो ? होइन, मात्र ३४ जना पूर्णकालिन कर्मचारीहरु छन् ।

‘यो ठाउँको फोहोर प्रशोधन र व्यबस्थापन हेर्दा हाम्रो मातृभूमि नेपालका नगरपालिकाहरुले अलिकति बुद्धि पुर्याउने हो भने निकै राम्रोसँग आम्दानी समेत हुनेगरि सञ्चालन गर्न सक्ने देखिन्छ’ युलेस सिटीका काउन्सिलम्यान टीका पौडेलले भने-‘
नेपालबाट यसको अध्ययनका लागि कुनै पनि नगरपालिकाका पदाधिकारीहरु आउन चाहन्छन्, प्रविधिका बारेमा जानकारी लिन चाहन्छन् भने म सहयोगका लागि तयार छु ।’

शेयर गर्नुहोस:

5.1k
Shares