मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकामा व्याप्त ठगीको जालो

अमेरिकामा व्याप्त ठगीको जालो


– रामचन्द्र भट्ट

हिजोआज अमेरिकामा नयाँ स्वास्थबीमा गर्ने समय हो । यो समय पहिलेदेखिनै स्वास्थबीमा भइरहेकाहरुले नवीकरण गर्ने बेला पनि हो ।

बीमाको समय भएकोले दैनिक दर्जनौ फोनकलहरु आउँछन् । ‘हामीसँग यस्तो प्लान छ, अस्पतालको बील, डाक्टरको शुल्क सबै कभर हुन्छ’ भन्दै दिनको पचासौ कल आउँछन् । अझै केहीले त ‘महिनाको एकसय ७५ डलर ग्रोसरी खर्च पनि दिन्छौ’ भन्दै कल गर्छन् ।
अज्ञात र शंकास्पदबाट आउने कललाई फोनसेटले नै स्क्याम लाइकली (ठगी जस्तै) भनेर देखाउँछ । कल गर्ने स्क्यामरहरु एक हिसाबले बल्छी थापेर बसेका हुन्छन् ।
अधिकांश समय त्यस्ता कलहरुलाई बेवास्ता गर्छु । अर्थात कल उठाउँदिन । तर फुर्सदको समयमा भने त्यस्ता स्क्यामरलाई उल्टै जिस्क्याउन मन लाग्छ ।
गत साता त्यस्तै एउटा कल आयो । फोनको स्क्रिनमा स्क्याम भनेर स्पष्ट देखिको थियो । म अलि मुडमा थिएँ । त्यसको दिमाग चाट्न मन लाग्यो ।
‘तँ सँग मेडिकेट पार्ट ‘ए’ वा ‘बी’ छ ? उताबाट रेकर्डेड तर महिला स्वरमा सोधियो ।
कम्प्युटर बोलेको मलाई स्पष्ट थाहा पनि थियो । कम्प्युटरले सोधेको कुराको जवाफ दिएमा मात्र अर्को रियल मानिससम्म कल पुग्छ भन्ने थाहा भएर मैले जवाफ दिन सुरु गरेँ ।
‘मलाई थाहा छैन’ मैले जवाफ दिएँ-‘मसँग मेरो कामबाटै बीमा छ ।’
‘म मेरो सिनियर सुपरभाइजरलाई कल ट्रान्सफर गर्छु । तँ होल्डमा बस्दै गर’ उताबाट फेरि कम्प्युटरले बोल्यो ।
कल ट्रान्सफर भयो । एकजना पुरुषले बोल्न थाल्यो ।
उस्ले आफ्नो नाम भिक्टर बतायो । तर उसको स्वरको लवज र अंग्रेजीको उच्चारण सुन्दा उ भारतीय हो भन्नेमा म ढुक्क भैसकेको थिएँ ।
‘तँसँग मेडिकेट छ ?’
‘मलाई थाहा छैन’ मैले जवाफ दिएँ ।
‘तँ कति वर्षको भइस् ?’ उसले फेरि सोध्यो ।
यहीँनेर मलाई जिस्क्याउन मन लाग्यो ।
‘एकसय चार वर्षको भएँ ।’
मेरो उमेर सुनेर उ चकित पर्यो शायद । ‘तेरो स्वर सुन्दा त एकसय चार वर्षको जस्तो लाग्दैन । युवा जस्तो लाग्छ’ उसले भन्यो ।
‘तर म एकसय चार वर्षको हो । मैले अस्ति भरखर बिहे पनि गरेँ’ मैले जवाफ दिएँ ।
यस्लाई बल्छीमा पार्न सकिदैन भन्ने ठान्यो कि कुन्नि । उस्ले फोन राख्यो ।

अर्कोे सन्दर्भ ।
त्यसैगरि स्क्याम कल आयो । यसरी आउने स्क्याम कलहरु प्राय ९५ प्रतिशत चाँही अमेरिकाकै नम्बरबाट हुन्छ ।
‘राम बोलेको हो ?’
‘हो’ मैेले जवाफ दिएँ ।
‘त सँग होण्डा सिआरभी ….. गाडी छ होइन ?’
ठगलाई किन साँचो बोल्नु ? मैले यसलाई जिस्काउने सोच बनाएँ ।
‘मसँग त्यो गाडी छैन’ आफूसँग होण्डा कार भएपनि नभएको उसलाई बताएँ ।
‘तँसँग कुन सवारी साधन छ त ?’ उस्ले फँसाउन प्रयास अझै छाडेन ।
‘मसँग बाइसाइकल छ । तँ गाडी किन्न मलाई सहयोग गर्छस् ?’ मेरो प्रश्नले उ चित खाएछ । फोन काट्यो ।

तेस्रो सन्दर्भ ।
‘राम भट्ट हो तँ ?’ फोनमा उताबाट बोल्नेले सोध्छ । मेरो पुरा नाम रामचन्द्र भट्ट भएपनि अमेरिकामा बीचको नाम लुप्त हुने कारण धेरै ठाउँमा राममात्र प्रयोग हुने गरेको छ ।
‘अँ हो बोल्दैछु ।’
‘तेरो कम्प्युटरमा समस्या देखिएको छ । यसलाई छिटो फिक्स गरिनस् भने तेरो डाटाहरु हराउन वा ह्याकरले कव्जा गर्नसक्छ ।’
मेरो कम्प्युटरमा मैले कुनै समस्या भोग्नु र देख्नु अघिनै उसको यो भनाईले ठग हो भन्ने अनुमान लगाउन मलाई गाह्रो परेन । उसको आवाज सुन्दा उ पनि भारतीय हो भन्नेमा ढुक्क भएँ ।
मसँग समय थियो । यसलाई पनि उल्टै घुमाउने इच्छा जाग्यो ।
अलिकति डराएको जस्तो भावमा मैले उसलाई भने ‘त्यस्तो त हुनु नपर्ने हो । कसरी यसलाई बनाउने होला ?’
मैले अलिकति नाटक गरेर अंग्रेजी बोल्न नसकेको जस्तो गर्दै हिन्दी शव्द पनि घुसाउँदै उसलाई सोधेँ ।
उसले डराउनु पदैन । हामी सजिलै फिक्स गर्छौ र त्यसका लागि माइक्रोसफ्ट सपोर्ट सेन्टर स्थापना भएको समेत बताउन भ्यायो ।
‘भैया, कोनसा कम्प्युटरमा तुम प्रोब्लम देख रहे हो ?’ मैले उसलाई च्याप्न सुरु गरेँ ।
उ अकमकायो । तेरो सबैभन्दा नयाँ कम्प्युटरमा समस्या देखिएको हो उसले अलिकति चलाखी गर्न खोज्यो ।
मैले ६ महिना अघि एप्पल, डेल र एचपीका तीनवटा कम्प्युटर एकैपटक किनेको छु । कुन चाँहीका समस्या हो मैले पनि कस्न थालेँ उसलाई ।
उस्ले बिजनेस सिक्रेसीका कारण भन्न नमिल्ने भन्दै पन्छियो । मलाई कम्प्युटर खत्तम हुने, डाटा चोरी हुने सारा डर देखायो । तीनसय डलरमा दिए तुरुन्त फिक्स गर्ने बतायो ।
मलाई उस्को ठगीधन्दादेखि कन्पारा तातिसकेको थियो । मुख छाडेर हिन्दीमै गाली गरेँ । उसले पनि मनलाग्दी बोल्यो । मैले फोन काटेर उसको नम्बरलाई ब्लकलिष्टमा राखेँ ।

अमेरिकामा दिनहुँ यस्ता ठगीका कलहरु लाखौंका संख्यामा हुन्छन् । ठगहरुले जालोमा पार्न स्वास्थबीमा हुने समयमा बीमा गर्ने एजेण्ट बनेर, गाडीका कुनै पार्टमा वृहद रुपमा समस्या आउँदा गाडी कम्पनीको कर्मचारी बनेर, ट्याक्स फाइल गर्ने समयमा आइआरएसको कर्मचारी जस्तो बनेर, बेरोजगारी सुविधा लिएकाहरुलाई त्यही अफिसको कर्मचारी हौ भन्दै कल गर्छन् । दैनिक सयौ कल गर्दा एकजनालाई मात्र फँसाउन सकियो भने पनि दुहुनो गाई जस्तो तुल्याएर बिस्तारै अनन्त जालोमा फसाउँदै हजारौ डलर झार्न सकिने हुँदा यो धन्दा फैलदो क्रममा छ ।
अमेरिकामा यस्ता स्क्याम कलहरुबाट बर्षेनी ४७ अर्ब डलर बराबरको ठगी हुने गरेको छ ।
भारतीयहरुले विशेषगरि अमेरिकी नागरिकहरुलाई कसरी स्क्याम कल मार्फत ठगी गर्छन भन्ने बारेमा दुई महिना अघि एनडीटिभीले एउटा डकुमेन्ट्री तयार गरेको थियो । डकुमेन्ट्रीका अनुसार बर्षेनी ४५ हजार अमेरिकी नागरिकहरु स्क्याम कल मार्फत ठगीको शिकार भैरहेका छन् ।
स्क्याम कल मार्फत भारतबाट ठगी हुन थालेपछि अमेरिकी सरकारी निकाय फेडरल व्यूरो अफ इन्भेष्टिगेसन (एपबीआइ) ले अहिले नयाँदिल्ली स्थित दूतावासमा आफ्नो छुट्टै कर्मचारी राखेको छ । एफबीआइले सुहेल दाउदको नेतृत्वको राखेको व्यूरोमा दैनिक औसतमा एकसय ४० वटा उजुरीहरु अमेरिकीहरुको मात्र पर्ने गरेका छन् ।
भारतको विशेषगरि गूरगाउँ, बैंगलोर लगायतका क्षेत्रहरुमा रहेका कल सेन्टरहरुले अमेरिकाकै फोन नम्बर प्रयोग गरेर अमेरिका, बेलायत, न्यूजील्याण्ड, अष्ट्रेलियामा ठगी गर्दै आएका छन् । त्यस्तै भारतभित्रै पनि ठगीको जालो निकै व्यापक छ । झारखण्डको एउटा गाउँ जामतारा यस्तै मोबाइल फोन मार्फत हुने स्क्याममा निकै बदनाम भएको छ । जामतारा सिंगो गाउँबाट हुने ठगीको विषयमा नेटफ्लिक्समा ‘जामतारा’ नाममै सिरिज समेत तयार भएको छ ।

औषधी सेवन गरिरहेका बिरामीहरुलाई प्रेस्क्रिप्सन चोरी भएको नाममा, युवाहरुलाई कम्प्युटरमा समस्या भएको नाममा, आप्रवासीलाई कर छलेको नाममा कल गर्दै ठगीको जालोमा पार्ने गर्छन् । अन्य देशका नागरिकले भन्दा तुलनात्मक रुपमा अंग्रेजी राम्रोसँग बोल्न सक्ने, इन्टरनेटमा कुनै अवरोध नभएको हुँदा स्क्यामरहरुका लागि भारत स्वर्ग भएको छ ।
स्क्यामरहरुले सामान्य व्यक्तिलाई भन्दा पनि शिक्षित व्यक्तिलाई सजिलै फँसाउने गरेका छन् । जागिर छुटेकाहरुलाई जागिर दिने नाममा समेत फँसाएर लाखौं डलर स्क्यामरहरुले लिएका छन् । यो सन्दर्भमा एउटा सम्झन लायक तथ्य के छ भने केही वर्ष अघि टेक्ससको एक युनिभर्सिटीमा पिएचडी गरिरहेका एक नेपाली स्क्यामरको जालोमा परेर हजारौं डलर तिरेका थिए ।
एकपटक स्क्यामरको पञ्जामा परेपछि त्यसबाट मुक्त हुँदासम्म कतिले हजारौं डलर त कतिले लाखौं डलर तिरिसकेका हुन्छन् । पछिल्लो समयमा सेक्स एक्टोर्सनको माध्यमबाट एउटाको टाउकोमा अर्कोको नांगो शरिरको भिडियो राखेर समेत रकम असुल्ने धन्दा चलेको छ ।

स्क्यामरहरुले सरकारी कार्यालय, क्लिनिक, बिमा कम्पनीका डाटाहरु कव्जा गरेर व्यक्तिका विवरणहरु लिन्छन् । त्यसपछि त्यसमा भएको फोन नम्बर, इमेल मार्फत व्यक्तिहरुसम्म पहुँच पुर्याएर ठग्न सुरु गर्छन् । तपाई हाम्रा कतिपय डाटाहरु क्रेडिट कार्ड, बिभिन्न स्थानमा सुविधाका लागि अनलाइन साइनअप गर्दा भरिएको हुन्छ । त्यसमा समेत ह्याकरहरुले पहँुच पुर्याएपछि अनि स्क्याम कलहरु हुरुरुरु.. आउन सुरु हुन्छन् ।
तपाई पनि अमेरिकामा हुनुहुन्छ भने पक्कै यस्ता ठगहरुको कल फोनमा आएको हुनसक्छ । यस्ता ठगीबाट बच्न शंकास्पद फोन रिसिभ नै नगर्नु सबैभन्दा उचित हो । थपमा इमेलमा आउने अनावश्यक मेल, भाइबर ह्वाट्सएप मार्फत आउने मेसेजलाई तुरुन्त डिलिट गर्दा एक तहबाट सुरक्षित हुन सकिन्छ ।

– रामचन्द्र भट्ट