यो गैर शब्द आफैमा दुखी छ । म कसरी पूर्ण खुशी हुन सक्छु ? यति भन्न सक्छु – आधा खुशी , आधा दुखी छु ।
केही वर्ष अघिसम्म म यो देशको नागरिक थिएँ , आज गैर आवसीय नागरिक भएकी छु ।
लामो समयको पर्खाइपछि अन्तत नेपाल सरकारले विदेशी नागरिकता प्राप्त नेपालीलाई गैर आवसीय नागरिकता प्रदान गरेको छ । सरकारको यो निर्णयप्रति सबै विदेशी नेपालीको तर्फबाट मेरो पनि नमन छ ।
गैर आवसीय नगरिकता कहाँ , कसरी पाइन्छ र केके कागजपत्र चाहिन्छ भन्ने धेरैको जिज्ञासा छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंको वेब साइटमा पनि आवश्यक जानकारी उल्लेख गरिएको छ ।
यो नागरिकता लिंदा पेश गर्नुपर्ने कागजपत्रहरु यी हुन् ।
- नेपाली नगरिकता सक्क्ल र कपी
- नेपाली पासपोर्टको सक्कल
- विदेशबाट प्राप्त नागरिकता प्रमाणपत्रको कपी
- बिदेशी पासपोर्टको कपी
- गैर आवसीय नेपाली परिचयपत्र कपी ( छ भने )
- नेपाल आगमन भिसा छापको कपी
- पासपोर्ट र अटो साइजको फोटोहरु
यति कागजात भएपछि आफुले जुन जिल्लाबाट पुरानो नागरिकता लिएको छ त्यही जिल्लाको जिल्ला प्रशासन कार्यलयमा पुरानो नागरिकता त्यागको निवेदन दिनु पर्छ ।
पुरानो आफ्नो नागरिकता त्याग्ने भन्दा मन गरुङगो हुन सक्छ मलाई जस्तै धेरैलाई । तर प्रक्रियागत रूपमा जाँदा सबै विस्तारै सामान्य लाग्दै पनि जान्छ ।
चाहिने निवेदन फर्म जिल्ला प्रशासनमै उपलब्ध छ । प्रत्येक निवेदनको रु पाँच दस्तुर लाग्छ । सबै निवेदनको गर्दा जम्मा रु २५ तिर्नुपर्ने हुन्छ ।
प्रक्रियाको क्रममा नेपाली नागरिकता त्यागको निवेदन सहित नेपाली पासपोर्ट र साविकको नागरिकताको सक्कल र नक्कल सहित पेश गर्नुपर्छ । रित पुगेको निवेदनमा जिल्ला प्रशासनले निवेदक बसोबास गरेको स्थानीय प्रहरी इलाका वा वृतलाइ निजको चालचल सोधपुछ गर्दै गोप्य पत्र काट्छ । त्यो पुर्जि आफै लिएर जानु पर्छ निवेदकले । जति चाँडो स्थानीय प्रहरी कार्यालयको गोप्य पत्र ल्याएर जिप्रकामा बुझायो उति चाँडो कार्य अघाडि बढ्छ ।
यो प्रक्रियाको सबै रित पुगेपछि जिप्रकाले बोधार्थ पत्र दिन्छ । पत्र साथ सबै फर्म भरेर सम्बन्धित वडा कार्यालय जानु पर्छ । वडा अध्यक्षले निवेदक साविकको यही वडाबासी हो , होइन भनि भेरिफाइ , सहिछाप गरेपछि दर्ता चलानीबाट तोकिएको दस्तुर बुझाएर सिफारिस पत्र लिइ फेरि जिप्रकामा आउनु पर्छ ।
जिप्रकामा वडाको सिफारिस पत्र सहित बाँकी सबै निवेदन फारम बुझाउनु पर्छ । अनि मात्र गैर आवसीय नागरिकताको खास प्रक्रिया अगाडि बढ्छ । साथमा नेपालमा बसोबास गरिरहेको नेपाली नागरिकता ग्रहण गरेको नजिकको आफ्नो परिवार (बाबुआमा , बाजेबज्यै , दाजुभाइ , मध्ये एक ) सनाखतको लागि उसको नागरिकताको सक्कल र नक्कल सहित उपस्थित गराउनु पर्छ ।
मैले सिफारिस पत्रको रु दशहजार दस्तुर काठमाण्डौं महानगर पालिका वडा नं ४ मा तिरेकी थिएँ । जिल्ला अनुसार दस्तुर फरक रहेछ कतै हजार , कतै पाँचसय मात्र त रहेछ । अन्य जिल्ला र कामनपाको दस्तुर भेदभाव पनि बुझ्नै नसकिने उदेक लाग्दो !
सनाखत र प्रमाणका कागजपत्र सबै पूर्ण भएपछि अधिकृतबाट प्रमाणीकरण भइ गैर आवसीय नागरिकताको लागि अर्को कोठामा पेश हुन्छ । यो अन्तिम प्रक्रिया हो ।लाग्छ अब त छिटै सकिन्छ होला । तर मलाई भने सबैभन्दा पट्यार लाग्दो यहिं लाग्यो ।
नयाँ कानून नियम भएको हुँदा कतिपय कर्मचारीहरु पनि त्यति अभ्यस्त नभइसकेको परिस्थिति थियो । आफूलाई झन धेरै थाहा नभएको अन्यौल जस्तो लाग्ने । यस्तो प्रक्रियाको लागि आउने ४ नं वडा र भक्तपुरको जगाती प्रहरी वृतमा म नै पहिलो व्यक्ति थिएँ । उहाँहरुलाई यसबारे स्पष्ट थाहा नभएकोले त्यहाँ छिटै हुन सक्ने काम तीन ,चार घण्टासम्म कुर्नु पर्यो ।
यस्तै यस्तै अन्योलमा कसैले हप्ता , कसैले पाँच , चार , तीन र दुइ दिनमा नागरिकता प्राप्त गरेको पाएँ । म भने तीन दिन लगातार धाएँ ।
एक दुई बाहेक प्राय कर्मचारी धेरै सहयोगी थिए । छिटो छरितो काम निप्ट्याउन मद्दत गर्ने सेवाभावी कर्मचारीले गर्दा कार्यालयको प्रक्रियामा धेरै फरक पारेको छ ।
बिहान पौने एघार बजे जिल्ला प्रशासन कार्यालय काठमाण्डौंमा परिचयपत्रको लागि लाइनमा बस्दा दोस्रो नम्बरमा थिएँ तर मपछि अरु छ जनाको कम्पुटरमा इन्ट्री गर्दा आधा दिन बित्यो । प्राप्त गर्दासम्म पुरै दिन । इन्ट्री , रुजु , प्रीन्ट , ढढ्डामा चढाउने र अन्त्यमा सिडिओको सहि गरी तल ल्याएर नाम बोलाएर झ्यालबाट गैर आवसीय नागरिकता वितरण गरिंदो रहेछ । त्यो हात पर्दा भने ठूलै विजय प्राप्त गरे जस्तो लाग्ने ।
” हरिकृष्ण बुढाथोकी ” प्रशासकीय अधिकृत जसले आफ्नो कार्यालयको समय भन्दा आधा घण्टा बढी बसेर प्रहरी वृतलाई पत्र पठाउन गरेको कामको ह्रदयदेखि प्रशंसा गर्दछु । केही कर्मचारीहरुले अलि चिढचिढे व्यबहार गरेपनि चाडवाडको बेला विदेशी नेपालीको बाक्लो उपस्थिति र कामको चापले पनि त्यसो भएको हुन सक्छ । हामी विदेशी नागरिकको अधैर्यपन र प्रवृत्तिले पनि केही हदसम्म काम गरेको हुन सक्छ ।
केही प्रमाणहरु सक्कल पेश गर्न नसक्दा नक्कललेनै भएपनि प्रक्रिया अगाडि बढाइ दिएको पाएँ । हुनेसम्म मिल्नेसम्ममा अधिकृत कर्मचारीहरुबाट सहयोग भए , गरिएको थियो ।
जे होस् काममा ढिलासुस्ती र घुस खाने , माग्ने परिस्थिति कतै महसुस भएन । नेपालको प्रशासकीय सुधारको सबल पक्षको रुपमा यसलाई लिएकी छु ।
मेरो मात्र दुईवटा सुझाव छ्न् जिल्ला प्रशासन कार्यालयलाई ।
१. जिल्ला प्रशासन कार्यालयमा यो प्रक्रियाको लागि बुझ्न आउनेलाई राम्ररी बुझाइ दिने सोधपुछ डेस्क , यसपछि यो र यति यति कोठा नं जाने भन्ने एउटा चार्ट वा तालिका राख्ने । र पेश गर्नुपर्ने आवश्यक कागजपत्रहरु कार्यालयमा लिखित रूपमा स्पष्ट उल्लेख गरिदिने ।
२. गैर आवसीय नागरिकताको लागि अन्तिम प्रक्रिया कम्पुटरमा परिचय इन्ट्री ,एडिट , प्रीन्टिङ , भेरिफाइ र जिल्ला प्रशासन प्रमुखको सहिछाप उहि समयमै क्रमश प्रत्येक निवेदकको छुट्टाछुट्टै गराउनु पर्छ । इन्ट्री गर्ने कर्मचारी कम्तीमा दुइजना हुनै पर्ने देखिन्छ ।
यसबारे अन्य कर्मचारीलाई गुनासो पोख्दा सिडिओले एकैचोटि सहि गराउनु ल्याउनु भन्ने आदेश छ भन्ने जवाफ सुनें । कस्तो कस्तो नमिल्दो लाग्यो ।
गैर आवसीय नागरिकता प्राप्त गर्न सक्ने यो प्रावधानले विदेशी नेपालीलाई धेरै राहत प्रदान गरेको छ । कानून नहुँदाको अन्यौलको अवस्थालाई समाप्त गरेको छ । विदेशकै नागरिकता भएपनि निर्धक्कसँग आफ्नै देशमा बस्छु भन्न पाइयो । व्यापार व्यवसाय र आवत जावतमा पहिले भन्दा ढुक्क हुने प्रावधान भयो ।
मसँगै गैर आवसीय नागरिकता प्राप्त गर्नुहुने विभिन्न देशका विदेशी नेपाली पनि खुशी र प्रफुल्ल देखिनु हुन्थ्यो । यसले मलाई सुखद अनुभूति दिलायो । राजनीतिक र प्रशासनिक अधिकार बाहेक अन्य सबै अधिकार प्राप्त हुनु केही नहुनु भन्दा ठूलो उपलब्धि हुनु हो अहिलेलाई । पोहोर साल फ्रान्स र यसपाली तीन महिना अघि एल साल्भाडोर भ्रमण गर्ने अवसर जुरेको थियो । त्यहाँ दोहोरो नागरिकताको प्रावधान देखेर मेरो मन भने कुटुकुटु भैरह्यो । मेरो देशले मलाई दोहोरो नागरिकता दिन किन कन्जुस्याइँ गरेको होला ? प्रश्न अझै मन ,मगजमा छ । समय बलवान छ , आशा गरौं , त्यो अधिकार पनि हामीले ढिलो चाँडो प्राप्त गर्नेछौं
प्रतिक्रिया