ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा जारी तीन दिवसीय बिपी साहित्य महोत्सवको दोस्रो दिन आज बिपी कोइरालामाथि आधारित रहेर पाँचवटा शीर्षकमा प्रवचन तथा छलफल सम्पन्न भएको छ ।
बिहान ११ बजेदेखि सुरु भएको पहिलो सत्रमा जहवारलाल नेहरू विश्वविद्यालयका प्राध्यापक डा आनन्द कुमारले ‘मार्क्स, गान्धी र बिपी, आजको लोकतान्त्रिक समाजावादको खोज’ विषयमा प्रवचन दिएका थिए ।
प्रवचनका क्रममा प्राध्यापक डा आनन्द कुमारले समाजवादी नेता बिपी कोइरालाले जीवनभर सामान्तवादका विरुद्ध लडिरहेको र पूँजीवादविरुद्ध डण्डा चलाएको धारणा राखे । “पूँजीवाद असफल भएपछि सामान्तवाद बच्न सकेको हो । अहिले कम्युनिष्टहरूले पूँजीवादमा पार्टी सञ्चालन गरिरहेका छन्, बिपीले जीवनभर सामान्तवादका विरुद्ध लड्नुभयो र पूँजीवादविरुद्ध डण्डा चलाउनुभयो”, उनले भने, “पूँजीवादले असमानता ल्याउँछ, लोकतान्त्रिक समाजवादमा मात्र समानता मिल्न सक्छ, जुन कुरामा भारतभन्दा नेपाल एक कदम अघि रहेको छ ।”
जातिविहीन समाज समाजवादमा मात्र सम्भव हुने भन्दै उहाँले यसको उदाहरण प्रदीप गिरिको आश्रममा देखेको बताए । गिरिको घरमा भान्से दलित समुदायको व्यक्ति रहेका थिए । उनले राजनीतिमा द्रुत एक्सन र धैर्य दुवै बिपीमा रहेको अटाए । यो सत्रको सहजीकरण शङ्कर तिवारीले गरेका थिए ।
महामन्त्री गगन थापाले सहजीकरण गरेको दोस्रो सत्रमा ‘बिपीले नपाएका १५ वर्ष’ शीर्षकमा हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झाले आ–आफ्नो धारणा राखेका थिए ।
“बिपीले गुमाएको १५ वर्ष नेपालीले नै गुमाएको १५ वर्ष हो । बिपीले यी १५ वर्ष काम गर्न पाएको भए के हुन्थ्यो ? नेपाली राजनीति र समाजको अवस्था कस्तो हुन्थ्यो ?”, यी प्रश्नसहित महामन्त्री थापाले कार्यक्रम सुरु गरे ।
जवाफका क्रममा हरि शर्माले भने, “बिपी तुरुन्तै आफ्ना कार्यक्रम लागू गर्न सक्ने र हुटहुटी भएको व्यक्ति थिए । बिपीले १५ वर्ष पाएको भए भन्नेचाहिँ कल्पनाका कुरा हुन्, बिपीको जस्तो हुटहुटी अहिलेका नेतामा देखिएको छैन ।”
अर्का वक्ता अच्युत वाग्लेलाई प्रश्न गर्दै महामन्त्री थापाले सोधे, “आर्थिक कार्यक्रमको आलोकबाट हेर्दा बिपीका कार्यक्रमलाई कसरी हेर्ने ?”
जवाफमा वाग्लेले भने, “म २०१७ असार १३ गतेको पत्रकार सम्मेलनलाई सम्झिन्छु । त्यसमा दोस्रो पञ्चवर्षीय योजनाको परिकल्पनाबारे जानकारी दिइएको थियो । साथै योजनाबद्ध विकास आवश्यक रहेको औँल्याइएको थियो ।”
अर्का वक्ता विपिन अधिकारीलाई महामन्त्री थापाले सोधे, “२०१७ सालमा ‘कुु’ नभएको भए देशमा विधिको शासनको अवस्था कहाँ पुगेको हुन्थ्यो र ?”
जवाफका क्रममा अधिकारीले भने, “बिपीको नेतृत्व शैली राम्रो थियो । बिपीको जीवन पद्धति र समाजका लागि गरेको योगदानका दृष्टिले उहाँ पुनर्जागरणको प्रतीकका रूपमा हुनुहुन्थ्यो । तर मुलुकको ठूलो ऊर्जा लामो समयसम्म जेलमा बस्नुप¥यो ।” बिपीले १५ वर्ष काम गर्न पाएको भए सामाजिक न्याय, भूमि सुधार, आधारभूत शिक्षालगायतमा उपलब्धिमूलक कार्य हुने र त्यसले जनतालाई भविष्य दिने अधिकारीले बताए ।
अर्का वक्ता मञ्चला झाले बिपी सिद्धान्त र व्यवहारमा एक भएको नेताका रूपमा सम्झिए । “उहाँले १८ महिना मात्रै सरकारको नेतृत्व लिँदा पनि धेरै काम गर्नुभएको थियो । त्यो बेलाको समयमा एक वर्षमा एक हजार छ सय वटा विद्यालय स्थापना गर्नु चानचुने कुरा थिएन,” उनले भने ।
यसपछि तेस्रो सत्रमा ‘बिपीका आख्यानमा मधेस’, शीर्षकमा छलफल भयो । श्याम शाहको सहजीकरणमा भएको यस सत्रमा सनत रेग्मी, नयनराज पाण्डे र सञ्जीता वर्माले धारणा राखेका थिए ।
अग्रज पत्रकार सुधीर शर्माले सहजीकरण गर्नुभएको चौथो सत्रमा ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’, शीर्षकमा आधारित रहेर डा बाबुराम भट्टराई, डा नारायण खड्का, प्रदीप गिरी र इन्द्र अधिकारीले धारणा राखेका थिए ।
त्यस्तै पत्रकार वसन्त बस्नेतले सहजीकरण गर्नुभएको पाँचौँ सत्रमा ‘युवा स्रष्टामा बिपी पठन’ शीर्षकमा आधारित रहेर बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा र सुविन भट्टराईले धारणा राखेका थिए ।
नेपाली कांग्रेसले संस्थापक नेता, प्रथम जननिर्वाचित प्रधानमन्त्री, जननायक बिपी कोइरालाको जन्मजयन्तीका अवसरमा हरेक वर्ष एक दिन मात्रै विभिन्न कार्यक्रम गरेर मनाउने गरेकामा एक सय १०औँ जन्मजयन्तीका अवसरमा यस वर्ष पार्टी केन्द्रीय कार्यालयमा तीनदिने साहित्य महोत्सव गरेर बिपीका बहुआयामिक व्यक्तित्वमाथि छलफल र बहस चलाएको हो ।
प्रतिक्रिया