मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बोस्टन   
मनोरञ्जन   

नेपाली मौलिक बाजा ‘सारङ्गी’ रेट्दै विश्वलाई नेपाल चिनाउने अभियानमा श्याम नेपाली

नेपाली मौलिक बाजा ‘सारङ्गी’ रेट्दै विश्वलाई नेपाल चिनाउने अभियानमा श्याम नेपाली


नेपाली सांगीतिक क्षेत्रमा वाद्यवादन सामग्री ‘सारङ्गी’को निकै ठूलो महत्व छ। जसलाई नेपाल र नेपालीको पहिचान बोकेको नेपालको मौलिक बाजा पनि मानिन्छ। यस बाजा बजाउने गन्धर्वहरुको नेपाली सांगीतिक क्षेत्रमा अहम भूमिका छ। सारङ्गी, गन्दर्भ र नेपाली संगीतको प्रसङ्ग उठ्ने वित्तिकै कान्छा मगर नेपाली र रामशरण नेपालीलाई नसंझिरहन सकिन्न। यि दुइलाई भुलेर सारङ्गी, गन्दर्भ र नेपाली लोक संगीतको कुरा गरेमा अपुरो र अन्याय हुन्छ भन्दा पनि अतिसंयुक्ति नहोला। उनीहरुले नेपाली मौलिक बाजा सारङ्गी र नेपाली लोक संगीतको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्नमा पुर्याएको योगदान अतुलनीय छ भन्ने कुरा जगजाहेर नै छ। आफ्ना हजुरबुबा कान्छा मगर नेपाली र पिता रामशरण नेपालीको अभियानलाई समय अनुसार अझ निखारता दिदै विश्वका विभिन्न कुनामा नेपाली पहिचान बोकेको बाजा सारङ्गीसहित नेपाली लोक संगीत विश्वभर पुर्याउने अभियानमा जुटेका श्याम नेपालीको योगदान अझ मनन योग्य र कदरयोग्य छ। ‘श्याम नेपाली’ नेपाली लोक सांगीतिक क्षेत्रमा स्थापित चिरपरिचित नाम हो। उनलाई नेपाली लोक सांगीतिक क्षेत्रमा विलक्षण प्रतिभा भएको व्यक्तित्वका धनी मानिन्छन्। उनी लामो समयदेखि आफ्ना पिता पुर्खाले अपनाएको र स्थापित गरेको नेपाली लोक संगीतलाई अपनाउदै ‘सारङ्गीको कीर्तिपुर घराना’ अभियानमा जुटिरहेका छन्। उनको यो अभियानको मुख्य उद्देश्य हो-आफ्ना पूर्खाहरुले गरेको मौलिक पहिचानको कामलाई निरन्तरता दिदै स्थापित गर्ने र त्यसलाई समयानुकल परिस्कृत रुपमा निखारता दिदै नेपाली मौलिक बाजा सारङ्गीसहितको नेपाली लोक संगीतलाई विश्वभर फैलाउने।

यस अभियानलाई लिएर उनी विश्वका विभिन्न कुनामा पुगिसकेका छन्। लामो समयदेखि अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टनमा रहेर उनले आफ्नो ‘सारङ्गीको किर्तिपुर घराना’ अभियानलाई निरन्तरता दिइरहेका छन्। यसै क्रममा अमेरिका आइपुगेका उनले बोस्टनमा सांगीतिक क्षेत्रमा लागेका व्यक्तित्वहरुसंग मिलेर हिमालयन हेरिटेज कल्चरल एकेडेमीको स्थापना गरी आफ्नो अभियानलाई निरन्तरता दिएका थिए। सोही एकेडेमीको माध्यमबाट नेपाल, अमेरिकालगायत अन्य मुलुकहरुमा पनि आफ्नो सांगीतिक प्रस्तुति पस्किसकेका छन्।

पछिल्लो समयमा उनी हिमालयन ड्रिम्स ब्याण्ड (Himalayan Dreams Band)मार्फत सक्रिय हुदै आइरहेका छन्। यसै क्रममा यही आउदो अगष्ट २८ तारिख सोमवार बोस्टनको क्याम्ब्रिज सिटीको क्लव प्यासिम(Club passim, Cambridge)मा अन्य चर्चित कलाकारहरुको साथमा विशेष सांगीतिक कोसेलीहरु पस्किने तयारीमा छन्। नेपाली लोक संगीत र अमेरिकन लोक संगीतका बिच सुमधुर सम्बन्ध स्थापित गर्ने र दुबै देशका लोक संगीतहरुको संरक्षण, सम्बर्धन र प्रवर्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त सांगीतिक कार्यक्रम, उनी आवद्ध हिमालयन हाइवे (Himalayan Highway) र क्लव प्यासिम (Club Passim) मिलेर गर्न लागेको हो। उक्त कार्यक्रममा चर्चित मान्डोलिन(Mandolin) वादक जोइ लेभिट(Zoe Levitt), तबला वादक प्रमोद उपाध्याय र गितार वादक अलेक्स फर्मेन्टो(Alex Farmento)ले पनि आफ्नो खारिएको बेजोड सांगीतिक कोसेली पस्किने तयारी गरिरहेका छन्। जोइ लेभिट(Zoe Levitt) नेपाली लोक गीत संगीतमा डुबेकी अमेरिकन लोक संगीतकी नवउदयमान कलाकार हुन्। जो अहिले नेपालको मानस्लु व्लु(Manaslu Blue)मा आवद्ध भएर नेपाली सांगीतिक क्षेत्रमा काम गर्दैछिन्। एल्बम रेकर्डिङको काम भैरहेको र उक्त टिमले अमेरिकामा पनि सांगीतक यात्रा गर्ने योजना बनाइरहेको लेभिट(Levitt )ले जनाएकी छिन्। उनीसंगै श्याम नेपालीका छोरा प्रिन्स नेपाली पनि मनास्लु व्लु(Manaslu Blue)मा आवद्ध भएर काम गरिरहेका छन्।

अगष्ट २८ तारिख सोमबार साँझ बोस्टनमा हुने कार्यक्रमले संगीतका पारखीहरुलाई नेपाली मौलिक बाजा सारङ्गी, मन्डोलिन, तबला र गीतारका बिच हुने आधुनिक फ्युजनले अनुपम आनन्दित सांगीतिक स्वाद दिने कार्यक्रम आयोजकको दावी रहेको छ। कार्यक्रममा सहभागिताका लागि प्रवेश शुल्क २० डलर तोकिएको छ। कार्यक्रममा बोस्टनवासी गीत संगीत प्रेमी गैर आवासीय नेपालीहरुको उल्लेखनीय सहभागिता रहने आयोजकले अपेक्षा गरेको छ। कार्यक्रममा सहभागिता जनाइ दिन बोस्टनवासी सम्पूर्ण गैर आवासीय समुदायलाई संगीतकर्मी श्याम नेपालीले निम्तो दिदै अनुरोध समेत गरेका छन्। कार्यक्रमका बारेमा जानकारी दिदै नेपालीले भने,’ यो नेपाल र अमरिकाको पहिचान बोकेको लोक सांगीतिक कार्यक्रम हो। त्यति मात्र नभएर यो कार्यक्रमले नेपाल र अमेरिकाबिच सुमधुर सम्बन्ध स्थापित गराउन महत्वपूर्ण योगदान पुर्याउने छ भन्नेमा म विश्वस्त छु।’

नेपाली लोक संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान गरे वापत नेपालीले म्यासाच्युसेट्स सांस्कृतिक परिषदबाट परम्परागत कला शिक्षण अनुदान, लिभरपूल अन्तर्राष्ट्रिय थिएटर फेस्टिवलबाट उत्कष्ट संगीत स्कोर, नेपाल सरकारको सांस्कृतिक राजदूत, नेपाल सरकारबाटै शान्ति र विकासका लागि नागरिक आवाज पुरस्कार, रोटरी क्लब अफ पाटन वेष्ट भोकेशनल अवार्ड, राष्ट्रपति कला तथा कविता पुरस्कारलगायत दर्शजनौं पुरस्कार तथा सम्मान प्राप्त गरिसकेका छन्। उनको पिता पुर्खाहरुको बिडो थाम्न उनका छोरा प्रिन्स नेपाली पनि अहोरात्र खटिरहेका छन्। नयाँ पुस्ताको मन जित्न उनले सारङ्गीको विशेष धुनहरु सृजना गरिरहेका छन्। जसका कारण उनी सारङ्गीसहितको नेपाली संगीतका पारखीहरुका बिच लोकप्रिय बन्दै गइरहेका छन्।