मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
न्युयोर्क   
मुख्य समाचार   

जनसम्पर्कको कार्यक्रम विवादको भुमरीमा

जनसम्पर्कको कार्यक्रम विवादको भुमरीमा

अध्यक्ष घिमिरे भन्छन्, ‘मैले पनि कार्यक्रम हुने फेसबुकमै देखेँ’


सिकागो (अमेरिका) । आउँदो सप्ताहन्त हुन लागेको गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको साधारण सभाको अघिल्लो दिन गर्न लागिएको जनसम्पर्क समिति अमेरिकाको कार्यक्रम विवादको भुमरीमा परेको छ ।

एनआरएनको कार्यक्रमका लागि आमन्त्रित प्रमुख अतिथि कानुनमन्त्री धनराज गुरुङ्गलाई सहभागी गराएर जनसम्पर्कले गर्न लागेको कार्यक्रमका विषयमा समितिभित्रै विवाद भएको छ । यो विवाद अहिले सामाजिक सञ्जालमा छताछुल्ल हुन पुगेको छ ।

जनसम्पर्क समिति इलिनोय च्याप्टरका नाममा कार्यक्रमको फ्लाएर सार्वजनिक भएको छ । तर, यो विषयमा आफूलाई कुनै जानकारी नभएको च्याप्टर अध्यक्ष भोजराज घिमिरेले बताए । ‘कार्यक्रम हुन लागेको कुरा मैले पनि फेसबुकबाटै थाहा पाएँ । म जनसम्पर्कको च्याप्टर अध्यक्ष हुँ, तर यो कार्यक्रम गर्न न च्याप्टरसँग छलफल गरियो, नत मलाई जानकारी नै छ’, घिमिरेले हिमालय खबरसँग भने ।

एनआरएन अमेरिकाको साधारण सभा आउँदो जुलाई ३० तारिक इलिनोय राज्यको सिकागो सहरमा हुँदैछ । त्यस कार्यक्रमका लागि कानुनमन्त्री गुरुङलाई प्रमुख अतिथि बनाएर निमन्त्रणा, हवाई टिकट सबै पठाइसकिएको छ । तर, मुख्य कार्यक्रमलाई छायाँमा पार्ने नियतले अघिल्लो साँझ नै जनसम्पर्क समितिको नाममा कार्यक्रम राखिएकोमा जनसम्पर्क समिति अमेरिकासँग सम्बद्ध व्यक्तिहरुले आपत्ति जनाइरहेका छन् ।

सिकागोमा लामो समयदेखि बस्दै आएका जनसम्पर्क समिति अमेरिकाका नेता सुमन वस्तीले कार्यक्रमको औचित्यमाथि प्रश्न उठाउँदै सामाजिक सञ्जालमा लामो स्टाटससमेत लेखेका छन् । उनले हिमालय खबरसँग भने,–‘मुख्य कार्यक्रमलाई फितलो बनाउने नियतले यो कार्यक्रम आयोजना गरिएको बुझिन्छ । किनकि जनसम्पर्क समितिभित्र छलफलसमेत नभएको अवस्थामा यो कार्यक्रम राखेका छन् । उनीहरुलाई एनआरएन अमेरिकाको अध्यक्षमा डा. अर्जुन बञ्जाडेले जितेकोमा चित्त बुझेको छैन । त्यही भएर यो कार्यक्रम अघिल्लो साँझ राखिएको हो ।’

जनसम्पर्क समितिको कार्यक्रमको विषयमा अमेरिकाका अध्यक्ष आनन्द विष्टलाई जानकारीसमेत दिइएको छैन । स्रोतका अनुसार विष्टलाई यो विषयमा न सल्लाह लिइयो, नत कार्यक्रम तय भएपछि जानकारी दिइएको छ ।

कानुनमन्त्रीलाई जनसम्पर्कको कार्यक्रममा बोलाएर अहिले गैरआवासीय नागरिकता ऐनका प्रावधान, नियमावलीको विषयमा बोल्न लगाउने र भोलिपल्टको मुख्य कार्यक्रमलाई फितलो बनाउने उद्देश्यभन्दा केही नभएको आरोप वस्तीले लगाएका छन् । जुन कार्यक्रमका लागि प्रमुख अतिथि भनेर बोलाइएको हो, त्यो कार्यक्रममा सहभागी नभई पहिले नै अरु कार्यक्रममा सहभागी हुनु मन्त्रीका लागिसमेत ठीक नहुने सुझाव अहिले गुरुङ्गका निकट र शुभचिन्तकहरुले पठाइसकेका छन् ।

सबैभन्दा आश्चर्यको विषय त यो छ कि आफूले बोलाएको मुख्य कार्यक्रमभन्दा पहिले नै आयोजना गरिएको जनसम्पर्कको कार्यक्रममा अतिथि बनेर एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीसमेत सहभागी हुँदैछन् । उनको नाम र फोटो राखेर फ्लाएर सार्वजनिक गरिएको छ । सुवेदीको यो दोहोरो चरित्र र व्यवहारप्रति एनआरएनका सदस्यहरुले आपत्ति प्रकट गरिरहेका छन् ।

‘जनसम्पर्क समितिले आफ्नो माउपार्टीका नेता आउँदा कार्यक्रम राख्न नपाउने भन्ने कुरा त भएन । तर, जुन कार्यक्रमका लागि बोलाइएको हो, त्यो सकिएपछि राखेको भए नत विवाद हुन्थ्यो, नत विरोध नै’ जनसम्पर्कका एक केन्द्रीय नेताले भने–‘यो रवैयाले गर्दा अमेरिका बोलाएर मन्त्रीलाई कालोझण्डा देखाएर पठाउने वातावरण विकास हुँदै गएको छ ।’

हालै सम्पन्न एनआरएनको निर्वाचनमा पराजित हुन पुगेको एउटा समूहले आउँदा दिनहरुमा जनसम्पर्कका सुनाममा एनआरएनको समानान्तर संस्था चलाउन खोजेको संकेतसमेत यो घटनाले देखाएको छ । ‘नत्र ९ वर्षदेखि अधिवेशन नभएर सुसुप्त अवस्थामा रहेको जनसम्पर्कको च्याप्टरको नाममा कार्यक्रम किन राखियो ? जनसम्पर्कको उदघाटनसमेत भैसकेको अधिवेशन रोकिएकोसमेत दुई वर्ष हुन लागिसक्यो ।’ ती सदस्यले हिमालय खबरसँग गुनासो राखेका छन् ।

‘‘म हिजोसम्म सिकागोमै थिएँ । जब म नर्थ क्यारोलिना आइपुगेँ, फेसबुकमा कार्यक्रमको फ्लाएर देखेँ’ च्याप्टर अध्यक्ष घिमिरेले भने । उता जनसम्पर्कका अमेरिकाका नेता गौतम दाहालले कार्यक्रम प्रति आपत्ति जनाउँदै आयोजकप्रति इंगीत गर्दै लेखेका छन्–‘यिनीहरुको काम नै भाँडभैलो गर्ने हो । भाँडभैलोवालाहरुलाई चिनौँ है ।’

कार्यक्रममा अतिथिका रुपमा डा. यादव पण्डित, विष्णु सुवेदी, धनञ्जय नरसिंह केसी, मुनिन्द्र नेम्वाङ, बुद्धि सुवेदीलाई राखिएको छ । अतिथिका रुपमा राखिएका सबैजना एनआरएन अमेरिकाका पराजित उम्मेदवार डिलु पराजुली पक्षका हुन् ।

स्रोतका अनुसार कार्यक्रम आयोजना नगर्नका लागि दबाब बढ्दै गएको छ । प्रमुख अतिथिका रुपमा बोलाइएका कानुनमन्त्री धनराज गुरुङ्ग अघिल्लो दिन साँझ जनसम्पर्कको नाममा आयोजना गरिएको कार्यक्रममा सहभागी भएमा एनआरएनको मुख्य कार्यक्रम वहिष्कार गर्नुका साथै कालो झण्डा देखाउने तयारीसमेत भैरहेको छ ।