ड्यालस (टेक्सस) । गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका वर्तमान उपाध्यक्ष तथा अध्यक्षका उम्मेदवार डिलु पराजुलीले अन्तर्राष्ट्रिय समिति (आइसिसी) ले अमेरिकालाई अपहेलित गरेको आरोप लगाएका छन् ।
आफ्नो चुनावी कार्यक्रमको सिलसिलामा शनिबार ड्यालसमा आयोजित कार्यक्रममा पराजुलीले एनआरएनएको अन्तर्राष्ट्रिय समितिले अमेरिकाको राष्ट्रिय समितिलाई सबैभन्दा पछि पारेको, हेपेको आरोप लगाएका हुन् । ‘सबैभन्दा ठूलो समितिलाई आइसिसीले सम्मानजनक व्यबहार गरेको छैन । मेरो एजेण्डा यो समस्यालाई समाधान गर्ने हुनेछ’ उनले भने ।
आफ्नो एजेण्डा एनआरएनएलाई एकतामा बाँध्न र एउटै छातामुनि राख्ने रहेको उल्लेख गर्दै त्यसका लागि आफ्नो समूहको विजय आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा नेपाल विद्यार्थी संघका पूर्ब महामन्त्री डा. यादव पण्डितले कोही पनि शत प्रतिशत पूर्ण नहुने र प्रजातान्त्रिक समाजमा जस्ले बढी भोट ल्याउँछ उसैलाई मान्नुको विकल्प नभएको उल्लेख गरे । डेमोक्रेसीलाई नमान्नेहरुले चुनावी नतिजा प्रति जहिले पनि प्रश्न उठाउने गरेको सन्दर्भ पनि डा. पण्डितले चर्चा गरे ।
कार्यक्रममा एनआरएन अभियन्ता विश्व वराल, नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, नेपाली सांस्कृतिक तथा अाध्यात्मिक केन्द्रका उपाध्यक्ष भुवन अाचार्य, जनसम्पर्क समितिका पूर्ब अध्यक्ष विष्णु सुवेदी, आइसिसी सदस्य अमृत सापकोटा, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारी, ब्लड डोनर्स टेक्ससका अध्यक्ष अजय बगाले लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पराजुली समुहका उपस्थित उम्मेदवारहरुले समेत संक्षिप्त मन्तव्य दिएका थिए ।
एनआरएन अमेरिकाको अध्यक्ष अन्य दुई उम्मेदवारहरुको गृहराज्य टेक्ससलाई पराजुली समुहले निकै जोडबल दिँदै आएको छ । सदस्यहरुलाई प्रभावमा पार्नका लागि पराजुलीले टेक्ससमा निकै मेहनत गर्दै आएका छन् । प्रभावमा पार्नकै लागि पराजुलीले डा. यादव पण्डित, विश्व बराल लगायतलाई कार्यक्रममा सहभागीमात्र गराएन वक्ताका रुपमा राखेर सदस्यहरुलाई एकखालको सन्देश दिन खोजेको छ ।
पराजुलीको टीमलाई स्पष्ट रुपमा नेपाली कांग्रेसको टिमको रुपमा चिनाउन खोजिएको टिप्पणी पनि सहभागीहरुले गरेका थिए । जनसम्पर्क समिति अमेरिकाका उपाध्यक्ष भगवान मैनालीलाई सभापतित्व गराएर र जनसम्पर्क समिति ड्यालस–फोर्टवर्थ च्याप्टर अध्यक्ष ज्ञानेन्द्र कार्कीलाई स्वागत मन्तव्य गर्न आमन्त्रण गरिएकोले ‘जनसम्पर्क समितिको समर्थन पराजुली टिमलाई छ’ भन्ने संकेत दिन खोजिएको थियो ।
अध्यक्षका अर्का उम्मेदवार डा. अर्जुन बञ्जाडे जनसम्पर्क समिति अमेरिकाका संस्थापक मध्यका हुन् । त्यस्तै सुमन थापा एनआरएनए अमेरिकाको वर्तमान उपाध्यक्ष र टेक्ससका सफल व्यबसायीको छवी बनाएका युवा हुन् ।
प्रतिक्रिया