अघिल्लो बुधबार (मे २४ तारिक) बिहान निद्रा खुल्नासाथ फ्लाइट एवेर एप्स खोलेँ । उडान नम्बर टीके-७२७ र टीके-१९१ को अवस्था चेक गरेँ । टीके ७२७ काठमाडौंबाट टर्कीको स्तानबुलसम्मको फ्लाइट थियो भने टीके १९१ चाँही स्तानबुलदेखि अमेरिकाको ड्यालस फोर्टवर्थ (डिएफडब्लु) इन्टरनेसनल एअरपोर्टसम्मको उडानको नम्बर ।
चेक गर्दा टीके ७२७ स्तानबुलमा त्यहाँको स्थानीय समय अनुसार १ः३५ मा अवतरण भएको देखियो । टीके १९१ ले चाँही २ः०५ मा स्तानबुल एअरपोर्ट छाडेको रहेछ । अवतरण तोकिएको समयभन्दा ५० मिनेट ढिला भएको प्रष्ट भयो । कारण काठमाडौंबाट छुट्दा नै निर्धारित समयभन्दा एक घण्टा २५ मिनेट ढिला छुटाइएको थियो । तर स्तानबुलबाट अमेरिकाको ड्यालस फोर्टवर्थ तर्फ आउने विमानले भने निर्धारित समयमै उडान भर्यो ।
यी दुई उडान तालिकालाई मैले यसरी पछयाउनुको कारण एउटै थियो–७० वर्ष उमेर कटेका मेरा माता–पिता यही फ्लाइटबाट अमेरिका आउँदै हुनुहुन्थ्यो । नेपालको समय अनुसार बुधबार बिहान ६ बजेदेखिनै मैले टर्कीस एअरको फ्लाइट ७२६ लाई इन्टरनेटमा पछ्याउन सुरु गरेको थिएँ । टीके ७२६ स्तानबुलदेखि काठमाडौंको फ्लाइट नम्बर हो । टीके-७२६ काठमाडाैमा अवतरण गरेपछि त्यही विमानमा स्तानबुल उँड्ने यात्रु चढेपछि टीके-७२७ मा परिणत हुन्छ ।
गोरखपुरको आकासमै टीके ७२६ ले अस्वभाविक रुपमा समय लिएको थियो । नेपाल आउने विमान महेन्द्रनगरबाट सिधै नेपाली आकाशमा पस्न पाउँदैनन् । झण्डै आधा घण्टा भारतीय आकाशमै उँड्न वाध्य हुन्छन् । हालै नेपालका प्रधानमन्त्रीको भारत भ्रमणमा यो पनि वार्ताको एउटा विषय हुने अनुमान गरिएको थियो । तर यो विषयले प्रवेशनै पाएन । जसले गर्दा पश्चिमबाट नेपाल आउने जहाजहरु सिमरा हुँदै काठमाडौं प्रवेश गर्न वाध्य हुन्छन् । यसले गर्दा टिके ७२६ ले निर्धारित अवतरण हुनुपर्ने समय भन्दा २५ मिनेट ढिला गरेको थियो ।
टीके ७२७ ले काठमाडाैंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार बिहान ७ः३० मा छाड्नुपर्थ्यो। तर छाड्यो ८ः५५ मा । काठमाडौंबाटै निर्धारित समयभन्दा झण्डै डेढ घण्टा ढिला भएकोले स्तानबुलदेखि डिएफडब्लुको कनेक्टिङ फ्लाइट छुट्ने भय म भित्र पलाईसकेको थियो । तर कहिलेकाँही मौसम, हावाको वहाव र पाइलटका कारण समय भन्दा चाँडै अवतरण गरेको रेकर्ड देखिएकोले म भित्र झिनो आशा भने थियो ।
तर बिहान ब्युँझिएर चेक गर्दा कनेक्टिङ फ्लाइट छुटेको पक्का भयो। किनकी ट्रान्जिट समय डेढ घण्टा हुँदा त निकै दौडधुप गर्नुपर्ने ठाउँमा आधा घण्टामात्र बाँकी रहेको समयमा यताको फ्लाइट छुट्यो भन्नेमा मलाई कुनै द्विविधा बाँकी भएन । चिन्ता भयो अब कसरी माता पितासँग सम्पर्क गर्ने ?
नेपालबाट उँड्नुभन्दा तीन दिन अघि पितासँग कुराकानीमा सम्झाएको थिएँ–‘यदी फ्लाइट छुट्यो भने एअरपोर्टमा निशुल्क वाइफाइ हुन्छ जोडेर जतिसक्दो चाँडो सम्पर्क गर्नुहोला ।’
टर्किस एअरको बारेमा टिकट लिनुभन्दा पहिल्यै गुनासो नसुनेको थिइन । समयमा उँड्दैन, यात्रुलाई राम्रो व्यबहार गर्दैनन्, ट्रान्जिटको समय असाध्यै थोरै हुने भएकोले स्तानबुलदेखि डिएफडब्लुको फ्लाइट प्रायः छुट्छ लगायतका चर्चा सुनिएको थियो । यति हुँदाहुँदै पनि मैले दुई कारणले टर्किसको टिकट लिएको थिए ।
पहिलो, युरोपको नयाँ ठाउँ हुँदै आउनुहुने कारणले उहाँहरुलाई पनि नयाँ अनुभव हुने । युरोप पनि टेकिएको महसुस हुने । दोस्रो, अघिपछि लिने गरेको कतार एअरको भन्दा प्रति टिकट तीनसय डलर सस्तो ।
ढुक्क हुनका लागि टर्किसबाट नियमित जस्तै यात्रा गर्ने साथी केशवराज केसीसँग सुझाव पनि लिएको थिएँ । ‘होइन दाजु, ढुक्क हुनुस् । स्तानबुलमा प्लेन रोकिनासाथ भित्रै पसेर यताका यात्रुलाई पहिलेनै निकालेर दौडाउँछन् ।’ अझै ढुक्क हुनका लागि मातापिता दुबैका लागि ह्विलचेयरको व्यबस्थाका लागि अनुरोध गरेको थिएँ ।
फ्लाइट छुटेको कन्फर्म हुनका लागि टर्किस एअरको अमेरिकास्थित कस्टमर केयरको नम्बर १८००–८७४–८८७५ मा कल गरेँ । त्यहाँ बोल्ने एकजनाले यात्रुको नाम चेक गर्दै फ्लाइट छुटेको र भोली त्यही समयमा उडान हुने जानकारी दिए । तिनले यो पनि भने कि, फ्लाइट छुटेका यात्रुलाई होटलको व्यबस्था एअरलाइन्सलेनै गर्छ । चिन्ता लिनुपर्दैन ।
यी कुनै पनि कुरा काममा आएनन् । घुँडामा समस्या भएर फटाफट हिँड्न नसक्ने मेरा पितालाई ह्विलचेयर सुविधा दिन काठमाडौंमै टर्किस एअरले सहयोगी व्यबहार देखाएन । बल्लतल्ल ह्विलचेयर सुविधा त दिए । तर स्तानबुलमा जसरी अलपत्र पारियो त्यसको खेद जति नै शव्दमा पनि व्यक्त गर्न सकिदैन ।
स्तानबुलमा डिएफडब्लुको उडान छुट्नेमा मेरा मातापितामात्र थिएनन् । नेपालबाट आएका झण्डै १०जना थिए । टर्किस एअरले भोली बिहीबार यही समयमा अर्को उडानबाट ड्यालस उडाइदिन्छौ भनेर ठूलो दया देखाएजस्तो व्यबहार गर्यो । तर पर्खिनुपर्ने भयो २४ घण्टा । यति लामो समय ट्रान्जिटमा राख्नुपर्ने भएपछि टर्किसका कर्मचारीले यात्रुहरुलाई स्वभाविक रुपमा होटलमा राख्ने, ख्वाउने पियाउने व्यबस्था गर्नुपर्ने थियो । धेरै विमान कम्पनीहरु, जो प्रोफेसनल हुन्छन् । उनीहरुले २० घण्टाभन्दा बढी समय ट्रान्जिटमा बस्नुपर्दा यात्रुलाई होटलको निशुल्क व्यबस्था गरेका हुन्छन् । त्यसमाथि यात्रुको कमजोरीले नभै विमानकै लापरवाहीका कारण कनेक्टिङ फ्लाइट छुटेको थियो । यस्तो अवस्थामा त यात्रुलाइ झनै राम्रो सेवा दिएर खुशी पार्ने अन्तर्राष्ट्रिय प्रचलन छ । तर टर्किसले घरि भिसा चाहिन्छ त घरि होटलको व्यबस्था हुँदैन भनेर उहाँहरुलाई दिनुसम्म दुःख दियो ।
दुनियाको कुनै पनि मुलुक हुँदै यात्रा गर्दा कनेक्टिङ फ्लाइट छुट्छ भन्ने अनुमानका आधारमा ट्रान्जिट मुलुकको भिसा पहिल्यै कसैले लिदैनन् । तर टर्की एकमात्र यस्तो मुलुक हो, जसको फ्लाइट छुट्यो भने भिसा लिएर मात्र होटलमा बस्न पाइने पूर्वशर्त रहेछ । अर्थात फ्लाइट छुटेका यात्रुका लागि होटलमा बस्नका लागि पहिलेनै शर्त पुरा गर्नुपर्छ । त्यो शर्त भनेको ३१ डलर तिरेर भिसा लिनु हो । भिसा लिन अावश्वक परेको अवस्थामा पनि यसरी फ्लाइट छुट्दा भिसा शुल्क समेत एअरलाइन्सले व्यहोर्ने चलन छ ।
अंग्रेजी राम्रोसँग बुझ्न नसक्ने मेरा मातापितालाई होटल त छाडौं पिउने पानी समेत एअरलाइन्सले दिएन । अंग्रेजी बोल्ने र थर्काउन सक्ने केही नेपालीलाई भने खानाको कुपन दिने एअरलाइन्सले सिनियर सिटिजनका रुपमा दुनियाका विकसित देशहरुले अलग्गै सम्मान दिने उमेरका नागरिकलाई हदै सम्मको लापरवाही र वेवास्ता गरेछ । स्तानबुलको चिसो मौसम र विमानस्थलको चिसो बस्ने ठाउँका कारण मेरी आमा अमेरिका टेकेको १० दिन बितिसक्दा पनि राम्रोसँग तङ्ग्रिन सक्नुभएको छैन । चिसोका कारण ज्वरो, घाँटी दुखेको अझै राम्रोसँग निको भएको छैन।
अंग्रेजी राम्रोसँग बोल्न नसक्ने, घुँडाको समस्याले छिटो हिँड्न समस्याले गर्दा ह्विलचेयरको माग राखेको थिएँ मैले । तर स्तानबुलमा रहेको टर्किस एअरका कर्मचारीले मानवताको सिमाना समेत नाघेर भोकभोकै २४ घण्टासम्म राख्दा कुन नाकले आफूलाई स्टार एलाएन्समा आवद्ध एअरलाईन्स हो भनेर गर्व गर्दै नाक फुलाउँछन् ? होटल दिने नाममा जनही ३१ डलर भिसा शुल्क उठाउने नीति भुइचालोले थलिएको टर्कीको राजश्व बढाउने दाउ भन्दा अरु केही होइन ।
एअरलाईन्सकै कमजोरीले गर्दा कनेक्टिङ फ्लाइट छुटेपछि यात्रुको व्यबस्थापन, होटल, भिसा जे जति पर्छ त्यो सबै एअरलाईन्सले तिर्नुपर्छ । यो लिखित कानुन नभएपनि अन्तर्राष्ट्रिय अभ्यास हो । भिसा शुल्क तिर्नुनपरोस् भन्नका लागि ठूला अन्तर्राष्ट्रिय विमानस्थलभित्रै फाइभ स्टार होटलहरु खुलेका हुन्छन् ।
न पानी, न खाना, न बस्ने र सुत्ने ठाउँ । विमानस्थलको चिसो छिडी, अनि चिसा कुर्सीहरुमा यात्रुहरुलाई अलपत्र राखेर टर्किस एअरले देखाएको व्यबहार निन्दनीय छ ।
मैले आफ्नो मातापिता माथि टर्किस एअरले गरेको व्यबहारका विषयमा साथीभाई, आफन्तसँग राखेपछि कसैले पनि यो भरपर्दो विमानसेवा हो भन्न सकेनन् । सबैका आफ्नै पीडा र भोगाईहरु रहेछन् ।
एनआरएन टेक्सस च्याप्टरका पूर्ब अध्यक्ष राजेश अर्यालका मातापिता गत वर्ष अमेरिका आउँदा टर्किसको सास्तीले झण्डै जहाज छुट्ने अवस्था भएको रहेछ । भाग्यले स्तानबुल एअरपोर्टमा भेटिनुभएका एनआरएनका पूर्ब अध्यक्ष जीवा लामिछानेको सहयोगले उहाँहरु यात्रा गर्न सफल हुनुभएको थियो ।
मेरा मातापिताको ट्रान्जिट छुटेकै अघिल्लो दिन आफनी आमालाई लिन एअरपोर्ट पुगेका ड्यालसका एक नेपाली रित्तो हात फर्किए । कारण स्तानबुलबाट डिएफडब्लुका लागि जहाजनै समयमा छुटेन । त्यो जहाज निर्धारित समयभन्दा १३ घण्टा ढिला छुटेका कारण अघिल्लो साँझ ७ बजे आइपुग्नुपर्ने यात्रु भोलीपल्छ बिहान साढे ८ बजे आइपुगे ।
यही एअरलाइन्स हो, जुन कम्पनीको विमान काठमाडाैंमा अवतरण हुने क्रममा रनवेमै दुर्घटनामा परेको थियो । सन् २०१५ मार्च ४ मा टर्किस एअरको एअरबस ३३० जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।
टर्किसले दिएको पीडाका बारेमा जुन ट्राभल एजेन्सीबाट टिकट लिएको थिएँ त्यसलाई गुनासो राखेँ । ‘हामी नै टर्किसबाट साह्रै पीडित छौँ । पीडा वयान गरेर साध्य छैन । बरु तपाईनै यसका बारेमा लेखिदिनुस् । बरु प्रकाशित भएपछि हामीलाई पनि जानकारी दिनुस् न है दाई’ ट्राभल एजेन्सीका एक कर्मचारीको निरिहता सुन्दा दिक्दारी लाग्यो ।
टर्किसबाट यात्रा गर्नु नदुखेको कपाल डोरी लगाएर तान्नु जस्तो हो भन्ने निष्कर्शमा म पुगेको छु । बोल्न सक्ने, थर्काउन सक्ने अनि अमेरिकी पासपोर्ट छ भने यात्रा गर्दा हुन्छ । अंग्रेजीमा बोल्न नसक्ने र थर्काउन नसक्नेका लागि यदी ट्रान्जिटमा बस्नुपर्यो भने खानु न खुट्नुसँग एअरपोर्टमै भोकै बास बस्न वाध्य हुनुपर्छ । किनकी टर्कीस एअरलाइन्सका कर्मचारीमा मानवीयता भन्ने चिज शरिरको कुनै कुनामा पनि नरहेको तथ्य मेरा मातापिता र अन्य यात्रुलाई गरेको व्यवहारबाट छर्लङ्ग भएको छ ।
कनेक्टिङ फ्लाइट छुटेपछि टिकट र बोर्डिङपास लिएर घरि यो काउण्टरमा जा भनेर देखाउने, घरि उ काउण्टरमा पठाएर दिएको तनावले अनि २४ घण्टा भोकै बस्नुपर्दा मेरी आमा जहाजमै विरामी पर्नुभएछ । स्तानबुलदेखि डिएफडब्लुसम्मको फ्लाइटका क्रममा आमा विरामी परेपछि जहाजमै यात्रारत नेपाली डाक्टरको समुहलेनै उपचार गर्नुपरेछ ।
विरामी अवस्थामा डिएफडब्लु उत्रिनुभएका उहाँहरुको पासपोर्ट नै अध्यागममा छुटेको थियो । विरामी शरिर लिएर एअरपोर्टबाट बाहिरिँदा पासपोर्ट छुटेको पनि बिर्सनुभएछ । धन्न तीन दिनपछि थाहा पाएर एअरपोर्ट पुग्दा पासपोर्ट सुरक्षित रुपमा हातमा पर्यो । पासपोर्ट हराएको भए त्यसको तनाव कल्पना समेत गर्न सकिदैन । धन्न यो अमेरिका हो । इमान्दारिता र प्रोफेसनालिज्म अमेरिकामा अझै छ । त्यही भएर डिएफडब्लु विमानस्थलले पासपोर्ट सुरक्षित राखिदिएका रहेछन् ।
मेरो सुझाव छ–टर्किस एअर हुँदै कसैले पनि यात्रा नगर्नुस् । यसमा यात्रा गर्दा पहिलो कुरा, राम्रो व्यबहार पाइदैन । दोस्रो, समयमा उँड्ने ठेगान छैन । तेस्रो, अधिकांश कनेक्टिङ फ्लाइट छुट्छन् । ड्यालस फोर्टवर्थ आउने ९० प्रतिशत कनेक्टिङ फ्लाइट छुटेर भोलीलपल्ट मात्र यात्रा गर्न पाइन्छ । २४ घण्टा स्तानबुलमा भोक र प्यासमा बस्नुपर्छ ।
टर्किसको टिकट लिनुअघि एक पटक होइन, दुइ पटक पनि होइन, तीन पटक मात्र होइन, १० पटक सोच्नुस् । मैले त लिएर मानसिक पीडा पाएँ, मातापितालाइ कष्ट दिएँ । यस्तै पीडा अनि कष्टको रहर छ भने मात्र टर्किसको टिकट लिनुस् ।
प्रतिक्रिया