मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   
मुख्य समाचार   

बोस्टनमा एनआरएनएको सदस्यता विस्तार अभियान एवं अभिमुखीकरण

बोस्टनमा एनआरएनएको सदस्यता विस्तार अभियान एवं अभिमुखीकरण


बोस्टन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले अमेरिकाको मासाच्युसेट्स राज्यमा संस्थाको सदस्यता विस्तार अभियानअन्तर्गत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

एनआरएनए मासाच्युसेट्स च्याप्टरको संयोजनमा आयोजित कार्यक्रम, गत अप्रिल २३ तारिख आइतवारका दिन बोस्टनमा सम्पन्न भएको हो । संस्थाको आगामी दुईवर्षे कार्यकाल (सन् २०२३—२०२५ ) का लागि कार्यसमिति चयन गर्ने निर्वाचन नजिकिँदै गरेकाले सदस्यता विस्तारको अभियानलाई तीव्रता दिइएको हो ।

हाल बुद्धिसागर सुवेदी नेतृत्वमा रहेको एनआरएनए राष्ट्रिय समन्वय परिषद्, अमेरिकाले संस्थाका वर्तमान उपाध्यक्ष दिलुराम पराजुलीको नेतृत्वमा अमेरिकाभर सदस्यता विस्तार गर्ने अभियानलाई तीव्रता दिइरहेको छ ।

संस्थाको आन्तरिक विवादका कारण संस्थाप्रति उत्पन्न वितृष्णालाई चिर्दै पुरानालाई सदस्यता नवीकरण गर्न र नयाँलाई सदस्य बन्न उत्प्रेरित गर्ने तथा संस्थाले यसवर्षदेखि प्रयोगमा ल्याएको स्मार्ट सदस्यताका बारेमा जानकारी दिने मुख्य उद्देश्यले सदस्यता अभिमुखीकरण अभियान सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

मासाचुसेट्स च्याप्टरका अध्यक्ष प्रेम तामाङको अध्यक्षता रहेको कार्यक्रम, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्, अमेरिकाज क्षेत्रकी महिला संयोजक तृष्णा काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुखअतिथि काफ्लेले एनआरएनको मर्म दुःखको साथी भएकोले, संस्थाले सोही अनुरुप भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

वर्तमान अवस्थामा गुट–उपगुटका कारण निकै समस्याहरु सृजना भएको र त्यसलाई समाधान गर्न एकजुट भएर गुट–उपगुटको अन्त्य गर्नुपर्नेमा उनको जोड थियो । उनले संस्थासँग अहिलेको पुस्ताको मात्र नभएर बच्चाहरुको भविष्य पनि जोडिएको बताउँदै सबैलाई मिलेर अघि बढ्न आग्रह गरिन् ।

सम्बोधनका क्रममा प्रमुखअतिथि काफ्लेले राजनीतिक गुट–उपगुटका कारण हाल संस्थामा तीन जना नेतृत्व रहेकोप्रति असन्तुष्टि प्रकट गरिन् । उनले भनिन्, ‘हामी मुखले राजनीति गर्नु हुन्न भन्छौँ । तर, मनमा चाहिँ हुन्छ । मनबाट पनि राजनीतिलाई फाल्नु पर्दछ ।’ उनले अब बन्ने सदस्यहरु परिमाणात्मक मात्र नभएर गुणात्मक पनि हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए राष्ट्रिय समन्वय परिषद्, अमेरिकाका वरिष्ठ उपाध्यक्ष कृष्ण जिबी पन्थले संस्थाले सम्पन्न गरेका क्रियाकलापहरु र प्राप्त उपलब्धिहरुका बारेमा संक्षिप्तरुपमा प्रकाश पारेका थिए । संस्थाले कोरोना महामारीमा नेपाललाई सक्दो सहयोग गरेको, संस्थागत सम्पत्ति जोडेर सोही स्थानबाट संस्थागत सेवा सुरु गरिरहेको, युवाहरुलाई जोड्न युवाकेन्द्रित खेलकुद, साहित्यजस्ता क्रियाकलापहरु गरिरहेको उनले बताए ।

वरिष्ठ उपाध्यक्ष पन्थले विगतमा संस्थामा राजनीतिक हस्तक्षेपका कारण भएको समस्याहरुलाई आगामी दिनमा सच्याउनुपर्ने र भए–गरेका सकारात्मक कामहरुलाई लिएर अघि बढ्नुपर्ने बताए ।

आगामी हुने महाधिवेशन एकताको महाधिवेशन हुने विश्वास दिलाउँदै उनले भने, ‘अब हुने महाधिवेशन एकताको महाधिवेशन हुनेछ । त्यसैले एकताको सन्देश दिन चाहन्छु । विभाजित नहाऔँ । सबैले आ–आफ्नो कमिकमजोरीहरु सच्याएर एकताको महाधिवेशनमा जोडिन अनुरोध गर्दछु ।’

मन्तव्य व्यक्त गर्ने क्रममा एनआरएनए(NRNA) राष्ट्रिय समन्वय परिषद, अमेरकाका उपाध्यक्ष तथा सदस्यता बिस्तार अभियानका प्रमुख दिलु राम पराजुलीले संस्थाको सदस्यता बन्नु पर्ने आवश्यकताका बारेमा प्रस्ट्याएका थिए। संस्थाको उद्देश्य प्राप्तिका लागि बृति विकास गर्नु पर्ने र त्यसका लागि सदस्यहरुको भूमिका अहम हुने भएकाले सदस्यता बिस्तार अभियानमा सबैले साथ दिन उनले अनुरोध गरे।

संस्थाको राष्ट्रिय तथा अन्तराष्ट्रिय महाधिवेशनको मिति नजिकिदै गएको स्मरण गराउदै उनले ढिलो नगरी सदस्य बन्न र बनाउन अनुरोध गरे। संस्थाले स्मार्ट एनआरएनए (NRNA)बनाउने लामो समयदेखिको अभियानले सार्थकता पाएकोमा खुशी व्यक्त गर्दै उनले भने, ‘ खुशीको कुरा स्मार्ट एनआरएनए(NRNA) बनाउने अभियानले सार्थकता पाएको छ। यो अत्यन्त सुरक्षित छ। विश्वस्त रहेर आफू सदस्य बनी आफ्नो परिवार, साथी भाइ, छरछिमेकीहरुलाई पनि सदस्य बनाउन अनुरोध गर्दछु।’ पराजुलीले संस्थामा पद अनुसार जिम्मेवारीमा भिन्नता रहेको भएतापनि, स्वामित्व भने सबैको समान रहेको जिकीर गरे। भावी पुस्तालाई उनीहरुको पहिचान दिलाउन र उनीहरुलाई नेपाल र नेपालीसंग जोडिराख्न एनआरएनएको अभियानलाई प्राथमिकता दिनु पर्नेमा उनले जोड दिएका थिए।

यसैगरी, मनत्व्य व्यक्त गर्ने क्रममा एनआरएनए(NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद अन्तर्गत गठित नागरिकता समितिका सदस्य रुद्र अर्यालले वर्तमान अवस्थामा अमेरिकाबाट नेपाल फर्कनेलाई नेपालमा राष्ट्रघातीको संज्ञा दिने गरेकोप्रति चिन्ता व्यक्त गरे। नेपालीको मुख्य पहिचान संस्कृति र भाषा भएकाले संवेदनशील भएर संस्कृति र भाषाको संरक्षण गर्न जरुरी रहेकोमा उनको जोड थियो।

अर्का वक्ता एनआरएनए (NRNA)राष्ट्रिय समन्वय परिषद, अमेरिकाका उपाध्यक्ष गोपेन्द्र राज भट्टराईले संस्थाभित्र समस्याहरु रहेको र ति समस्याहरुलाई समाधान गर्न स्मार्ट एनआरएन आवश्यक भएको बताए। संस्थाको हैसियत बढाउनका लागि पनि सदस्यहरुको संख्यामा बृद्धि गर्नु पर्ने तर्क गर्दै उनले सदस्यता बिस्तार गर्ने अभियानमा साथ र सहोग गर्न सबैलाई आग्रह गरे। संस्थागत उपलब्धि हासिल गर्नका लागि आगामी दिनहरुमा राष्ट्रिय समन्वय परिषद(एनसिसि)ले अमेरिकामा रहेका नेपालीहरुलाई प्राथमिकता दिएर काम गर्नु पर्ने र अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसिसि)ले नेपाल र नेपालमा रहेका नेपालीहरुलाई प्राथमिकता दिएर काम गर्नु पर्नेमा उपाध्यक्ष भट्टराईले जोड दिए।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा संस्थाका पूर्व वरिष्ठ उपाध्यक्ष अर्जुन बन्जाडेले पृथक मत राखेका थिए। उनले संस्थामा हाल धेरै समस्याहरु रहेको र त्यसलाई आगामी सम्मेलनबाट हटाउनु पर्ने बताए। संस्थालाई सच्याउन संस्थाको नामैबाट अभियान सुरु गर्नु पर्ने बताउदै उनले भने, ‘संस्थाले जोड्ने काम गर्नु पर्छ तर अहिले बिग्रह भैरहेको छ।’ बान्जाडेले संस्थालाई सही बाटोमा डोर्याउन सुद्धिकरणको अभियाननै चलाउनु पर्ने र त्यो अभियान अमेरिका र आफैबाटै सुरु गर्नु पर्नेमा जोड दिए। संस्थाका नेतृत्व कर्ताहरुले आफ्ना सदस्यहरुको भलोका लागि साँचो अर्थमा राजनिति गर्न नसक्दा नेपालमा राजनितिक पहुँच हुन नसकेको उनको गुनासो थियो।

यसैगरी, कार्यक्रमा प्रवासी नेपाली मञ्च(प्रनेम), अमेरिकाका केन्द्रीय उपाध्यक्ष भिम प्रकाश ओलीले एनआरएनएNRNA)को संस्थागत संरचनामा नै समस्या रहेको औल्याउदै त्यसलाई सच्याउनु पर्नेमा जोड दिए।अहिले सबै प्रवासी नेपालीहरुको सामाजिक, आर्थिक, साँस्कृतिक र नागरिक अधिकारका मुद्दाहरु नै प्रमुख सामूहिक मुद्दा भएकाले, तिनको सुनिश्चतताका लागि सबै एक भएर लड्नु पर्नेमा ओलीले जोड दिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,’ अहिले सबै प्रवासीहरुको मूलभूत मुद्दाहरु सामाजिक, आर्थिक, साँस्कृतिक र नागरिक अधिकार नै हो। जसको सुनिश्चितताका लागि सबै प्रवासी नेपालीहरु एक भएर अघि बढ्न जरुरी छ। सबै संघ संस्थाहरु र नेपालका राजनितिक दलहरुसंग निकट संस्थाहरुले एकताबद्ध भएर यि मुद्दाहरुको पक्षमा वकालत गर्नु पर्दछ।’कार्यक्रममा एनआरएनए(NRNA)राष्ट्रिय समन्वय परिषद, अमेरिकाकी महिला संयोजक सुन्दरी गुरुङले संस्थालाई सबल र सफल बनाउन सदस्यहरुको अहम भूमिका रहने जिकीर गर्दै सदस्य बन्न र अरुलाई पनि सदस्य बनाउन सबैलाई आग्रह गरिन्।

कार्यक्रमको अन्तमा, मासाच्युसेट्स च्याप्टरका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष प्रेम तामाङले कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरु र सहभागीहरुलाई धन्यवाद दिदै आगामी दिनमा सबै एकबद्ध भएर अघि बढ्न अनुरोध गरे। यो वा उ भनेर व्यक्तिको पछि नलागी सामूहिक हितका लागि संस्थागत रुपमा एकताबद्ध हुनु पर्नेमा उनले जोड दिएका थियो।

संस्थाका सचिव प्रचण्ड श्रेष्ठले सञ्चान गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष राजु(खुम)गुरुङले स्वागत मनतव्य व्यक्त गरेका थिए। कार्यक्रममा सम्बोधन गर्ने वक्ताहरुले नेपाली नयाँ वर्ष २०८० को शुभकामनासमेत व्यक्त गरेका थिए भने, अन्य सहभागिहरुले पनि एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए।

गैरआवासीय नेपाली संघ (एनआरएनए-NRNA) नेपाल सरकारको अभिभावकत्व रहेको नेपाल बाहिर रहेका नेपालीहरु आबद्ध रहेको मूनाफा रहित संस्था हो। हाल अमेरिका भरी २२ हजार बढी गैर आवासीय नेपालीहरु यस संस्थामा आबद्ध रहेका छन्। जस मध्य मासाच्युसेट्स च्याप्टरमा एक हजार ६७ जना संस्थामा आबद्ध य रहेका छन्।