एक महिला बाँसको लाैरो घुमाउँदै आफ्नो बारीमा योद्धाले जस्तो एउटा कुनाबाट अर्को कुनामा कराउँदै दगुरिरहेकी हुन्छिन् । आँखामा आक्रोश छ । कपाल छरपष्ट र शरिर पसिनाले निथ्रुक्क भिजेको छ । कुनै कुनै कुनामा चोलो पनि च्यातिएको छ । एक्लै २०/३० वटा बाँदरलाई त्यो बासको लाैराेले भुक्लुक भुक्लुक्क लडाई रहेकी थिईन ।
कोही बाँदरले उनको शरिरमा चिथोर्न पनि भ्याएका छन् । महिनौं दुःख फलाएको आफ्नो अन्न बाँदरले सखाप पार्न लागि परेको देखेर कसलाई रिस उठ्दैन र ? सक्ने भए सबै बाँदरलाई भुक्लुक्क भुक्लुक्क एकै प्रहारमा मारिदिऊ जस्तो किन नलागोस ?
३०/३५ मिनेटको युद्ध पछि सबै बाँदरहरू घाइते हुदै भाग्छन् । उनी ठुलो सास फेर्दै आफ्नो बारी हेर्छिन । आधा अन्न बाली नष्ट भएको देखेर निरास हुँदै आँगनमा टुसुक्क बसेर आफुले गरेको मेहेनतको दुख्ख सम्झी झोक्राई रहेकी थिईन । त्यत्तिकैमा स्कुल गएका दुई छोरीहरू घर फर्कन्छन् । आँगनमा बसिरहेकी आमालाई अँगालो हान्छन् । थाकेर लखतरान, बाँदरले चिथोरेको घाउको जलन अनि यो बर्ष अन्नपात कसरी पुर्याउने भनि चिन्तीत आमाले होस गुमाउँदै दुवै छोरीलाई धकलेर लडाई दिन्छिन् । अनि चिच्याउँदै भन्छिन हैजाले लान नसकेका मोरीहरु बाउले त छोडेर गए तिमिहरु पनि गएको भए हुने थियो । कालले लान नसकेका आदि आदि भन्दै गाली गर्छिन । दुवै छोरी रुँदै घरभित्र छिरे । केही बटुवाहरु र छिमेकीले त्यो घटना देखे ।
अनि समाजलाई के चाहिन्थ्यो र ? एक कान दुई कान मैदान हुदै पुरा गाउँभरि श्रीमान खाएकी महिना अब छोरीहरु पनि खाने भई भन्ने हल्ला चलिहाल्यो । असल भनेको त बोक्सी पो रहिछे भन्दै कुरा काट्न थालियो ।
एकएक गर्दै समाजले साथ दिन छाड्यो । यतिसम्म भयो कि दुई सन्तान कि आमाले मर्दा र पर्दा पनि सहयोग पाउन छाडिन । समाजलाई के थाहा उनले छोरीहरुलाई गरेको रुखो व्यवहार आवेगमा थियो । उनीहरु लागि अन्नबाली जोगाउँदा गर्नु परेको संघर्षको पसिना नसुक्दै आएको थियो । छोरीहरुलाई खुवाउनकै लागि चाहिने अन्नवाली जोगाउन उनी एक्लै युद्धमा होमिएकी थिईन ।
समाजलाई के थाहा छोरीहरु रुँदै घरभित्र छिरेपछि आमाले भान्सामा गएर बनाएको परिकार आफ्नै हातले छोरीहरुलाई खुवाएकी थिईन । गाली गरेकोमा उनीहरुसंग माफी मागेकी थिईन । यो माफि मागेको आवाज समाजले सुनेको पनि थिएन । सुन्न पनि चाहेन ।
दिन बित्दै जान थाले । ती अवला नारी रातदिन मेहनत गरिरहिन । महिना बित्यो समाजले गर्ने व्यवहार र वचनले कमजोर बनाउँदै लग्यो । छोरीहरु स्कुल जान सकेनन । छोरीहरुलाई समाजकै उनी सरहका साथीहरुले बोक्सीका छोरी भन्दै जिस्काउन थाले । एक बर्ष नपुग्दै यो परिवारनै वेपत्ता भयो ।
हेर्नुहोस त घटनाक्रमको आंशीक बुझाईले एउटा समाजले भविष्यका कर्णधारलाई गुमायो । यो अपराधमा संलग्न भएका समाजका सदस्यको अपराध त पुष्टि नहोला तर आफ्नो अन्तरआत्मले कति श्राप गरिरहेको होला ।
यो घटनाका दुई वटा मुख्य पाटा थिए । एक बाँदरहरुसँग युद्ध र त्यसको अन्तर निहित संघर्षको कथा । जसमा एक महिलाको संघर्षको कथा जोडिएको थियो । यदी यो राम्रो कुरा फैलिएको भए अरु कती धेरै महिलाहरुले प्रेरणा पाउँथे होलान । अर्को पाटो बाँदरले भरिएको समाज जसले छोरीहरुलाई गरेको दुर्व्यवहार मात्र देख्यो । जसको परिणाम संघर्षशील महिला र अवोध दुई बालिका जो वेपत्ता हुनु पर्यो ।
बाँदरले त मानिसले लगाएको बाली मात्र नष्ट गर्छ । तर, बाँदररुपी चरित्र बोकेका सामाजिक प्राणी मान्छेको ज्यानै लिन्छन् । अहिले ती बाँदरको हुल टिकटक भित्र छिरेका रहेछन् । समयमै चिन्नु होला ।
(क्यालिफोर्नियाका व्यवसायी बासु घिमिरेका यी निजी विचार हुन ।)
प्रतिक्रिया