पूर्ब सञ्चारकर्मी रमा सिंहले बोलेको एउटा भिडियो क्लिप केही दिन यता केही मानिसका टाइमलाइनमा तारन्तार आइरहेका छन् । एक दशक भन्दा बढी समय अमेरिकामा बिताएर केही महिना अघि नेपाल फर्किएकी हुन सिंह । शायद कुनै टिभी वा युटुबरलाई उनले अन्तरवार्ता दिएकी थिइन् । त्यही अन्तरवार्ताको महत्वपूर्ण ठानिदै त्यो क्लिपलाई धेरैले शेयर गरेका छन् ।
भिडियो क्लिपमा सिंहले भनेकी छिन् -‘अमेरिकामा सुख छ, तर कोही खुशी छैनन् । मानिस खुशी भएर बाँच्नका लागि अमेरिका बस्न सक्दैनन् ।’
उनको यो भनाईलाई कतिले सत्य भनेका छन् । तर धेरैले हाँसोमा उँडाएका छन् । कतिले चाही डेढ दशकसम्म बसेर सबै सुखभोग देखि लिएर सन्तानको खुशीलाई आफ्नो खुशी ठान्दै बस्ने । अनि नेपाल फर्किएर अरुलाई समेत खुशी छैनन् भनेर मुछ्ने भन्दै आलोचना पनि गरिरहेका छन् ।
डेढ वर्ष अघि रजनिशका चेला मानिएका स्वामी आनन्द अरुणले पनि अमेरिकाका सम्बन्धमा यस्तै बोलेका थिए । अरुणले त कतिसम्म भनेका थिए भने-‘अमेरिकामा बस्ने नेपालीहरु हाँस्नका लागि नेपालनै आउनुपर्छ । उनले अझै थपेका थिए अमेरिकामा गाडी, घर, सुविधा भएपनि मानिसहरु हाँस्न सक्दैनन् ।’
रमा सिंह र आनन्द अरुण एक हिसाबले सेलिब्रेटी हुन् । दुबैजनालाई आदर्श मान्नेहरु पनि थुप्रै छन् । दुबैका भनाईलाई अकाट्य र सत्य ठान्नेहरुको संख्या पनि ठूलो छ । तर अमेरिकाको सुख, सुविधा भोग्नुसम्म भोगेर नेपाल फर्किनुको कारण चाही खुशी हुन सकिन भन्नुलाई नेपालमै बस्नेले विश्वास पनि गरे होलान् । तर अमेरिकामा बस्ने नेपालीले भने सिंहलाई हाँसोको पात्र बनाएका छन् । अनि आनन्द अरुणको भनाई प्रति व्यंग्य गर्दै कुन चाँही हाँसो हराएको नेपाली समुदायमा पुगेछन् भनेर टिप्पणी गरेका थिए त्यतिखेर ।
हिजोमात्र एउटा भोजमा भेट भएका नेपालीले सिंहको भनाई प्रति आपत्ति जनाउँदै भने आफु चाँही डकार आउने गरि खाने तर अरुलाई चाँही खानेकुरा मिठो छैन भन्ने स्वभाव रमा सिंहको देखियो ।
अमेरिका सुखैसुख पनि छैन । दुःखै दुःख पनि छैन । भौतिक रुपमा संसारमा जे जति उपलव्धि र आविष्कार हुन्छन् त्यसको पहिलो प्रयोगकर्ता अमेरिका हुन चाहन्छ । अर्थात अर्थशास्त्रीय शव्दावलीमा पहिलो ‘व्यबसायीक कन्जुमर’ अमेरिका बन्न चाहन्छ । त्यसले गर्दा चाहे इलेक्ट्रोनिक्स सामान हुन् या सवारी साधन, प्रविधि होस् या पूर्वाधार । यी सबैको पहिलो प्रयोगकर्ता आफ्ना नागरिकलाई बनाउन चाहन्छ अमेरिका । यसका लागि आविष्कारकर्तालाई आफ्नो देशको नागरिक बनाउनेदेखि लिएर उत्पादनको प्याटेन्ट अधिकार लिन हरतरहले कोशिष गरिरहेको हुन्छ अमेरिका । त्यसले गर्दा अमेरिकामा संसारका अरु देशमा उपलव्ध हुने जति सबै सुख र सुविधाका सेवा प्राप्त छन् ।
सुख भन्ने चिज शरिरको बाहिरी अंगले अनुभव गर्न सक्ने चिज हो । तर खुशी भन्ने चिजको मापन शरिरको भित्री अंगले मात्र गर्न सक्छ । खुशीको मापन गर्ने डिग्री या यन्त्र अहिलेसम्म संसारका आविष्कार भएको छैन । यो व्यक्तिको आवश्यकता, सोचाई, महत्वाकांक्षा, पारिवारिक अवस्थामा भर पर्ने विषय हो ।
खुशीका बारेमा अमेरिकाका चर्चित पूर्ब राष्ट्रपति अब्राहम लिंकनको एउटा भनाई त्यत्तिकै सान्दर्भिक छ । लिंकनले भनेका छन् -‘मानिसहरु आफ्नो मनलाई जति मजवुत बनाउँछन्, त्यत्तिकै खुशी हुन्छन् ।’
मानिसमा जब अस्वभाविक महत्वाकांक्षाको भोक जाग्छ । अरुसँग आशा, अपेक्षा, लोभको मात्रा बढ्छ । त्यतिनै मानिसहरु दुःखी हुन्छन् । खुशी हुनका लागि जे जति उपलव्धता छ, त्यसैमा सन्तुष्ट हुने र अरुसँग आफूलाई दाँज्न छाडिदिने हो भने मानिसका मनका आधा दुःख त्यत्तिकै नामेट भएर जानेछन् ।
अमेरिकामा दुःखी नेपाली हुँदै नभएका पनि होइनन् । नेपालको सरकारी कार्यालयमा उपरखुट्टी लगाएर बस्ने, टेबुलको घण्टी बजाएर कार्यालय सहायकलाई चियाको आदेश दिने, नेपालको राजनीतिक दलको कार्यकर्ता बताउने र मेहनत पटक्कै नगर्ने, नेपालको पद सम्पत्ति र प्रतिष्ठाको धक्कु लगाउँदै यहाँ आइसकेपछि पनि त्यसैलाई सम्झिरहनेहरुलाई अमेरिकामा पटक्कै खुशी मिल्दैन । किनभने अधिकांश नेपालीहरु जोसँग प्रोफेसलन शीप र शिक्षा छैन । उनीहरुले गर्ने काम भनेको घण्टाको गणना गरेर साप्ताहिक वा पाक्षिक रुपमा पाउने पारिश्रमिक हो ।
नेपालमा यस्तो सेलिब्रेटी थिएँ म भनेका भरमा अमेरिकामा काममा कुनै छुट पाइदैन । अमेरिकामा बरु आफूभन्दा माथिका हाकिमलाई अभिवादन नगरे हुन्छ, नमस्कार नगर्दा पनि हुन्छ, चाकडी नगरे पनि हुन्छ । तर तोकिएको समयमा पुग्नैपर्छ । तोकिएको अवधिमा दिइएको जिम्मेवारी पुरा गर्नैपर्छ । कुनै सेलिब्रेटी, नेपालका राष्ट्रपतिको मान्छे, प्रधानमन्त्रीको कार्यकर्ता, सचिवको भतिज भनेका भरमा छुट मिल्दैन । धेरै जसो मानिसहरु खुशी हुन नसक्नुमा नेपालको पुरानै ह्यांगओभर र हैसियत यता पनि खोज्ने कारणले हो ।
नभए ठूलो महत्वाकांक्षा नबोक्ने हो भने अमेरिकामा उसै सुख छ । थपमा खुशीसाथ जीवन बिताउन कुनै गाह्रो छैन ।
अमेरिकामा नेपालीहरु खुशी जस्तो नदेखिनुमा एउटा कारण चाँही छ । कस्तो ठाउँमा उनीहरु बसेका छन् ? कसरी बसेका छन् ? कस्ता साथीसङ्गतमा बसेका छन् ? यी तथ्यले पनि मानिसलाई खुशी र दुःखी बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । ठूला शहरमा बस्दा ठूलै खर्च हुन्छ । शहरको रमझम त हेर्न पाइएला । तर त्यो रमझमको चर्को मूल्य अपार्टमेन्टमा, खानेकुरामा, यातायातमा तिर्नुपर्दा वचत निकै कम हुन्छ । त्यसको सट्टा अमेरिकाका सस्ता ठाउँहरु, जहाँ सहज रोजगारी पाइन्छ त्यस्ता ठाउँ रोज्दा खुशी रहन सहयोग पुग्छ ।
अरुको देखासिकी गरेर कुनै नबुझि व्यबसायमा लगानी गर्ने अनि डुब्ने, जुवा खेलेर मिलिनियर हुने लोभमा क्यासिनो छिर्ने, पति पत्नीबीच असमझदारीका कारण पारिवारिक तथा यौन जीवन भताभुंग हुने कारणले पनि केही मानिसहरु खुशी छैनन् । तर अमेरिकामा बस्ने सबै नेपालीका जीवनमा यस्ता घटना छैनन् । अधिकांश सुखीमात्र होइनन्, खुशी पनि छन् । खुशी नहुँदो हो त मानिस किन बसिरहन सक्थे र ?
अझै महिलाहरु त धेरै खुशी देखिन्छन् । कतिले व्यक्त गर्छन् कतिले गर्दैनन् । नेपालमा जसरी लोग्नेको कमाईमा मात्र भर परेर परिवार, बच्चाबच्ची मात्र सम्हाल्नु पर्ने अवस्थाबाट मुक्त हुनु, आर्थिक स्वतन्त्रता अर्थात कमाउन सक्नु जस्ता कारणले महिलाहरु विशेष रुपमा खुशी छन् । अझै भन्ने हो भने नेपालमा रहँदा एउटा बुहारीले निभाउनुपर्ने दायित्व र कर्तव्यबाट सदा थिचिएका महिलाहरु अमेरिका आइसकेपछि त्यसबाट केही हदसम्म भएपनि स्वतन्त्र हुन्छन् । जस्ले गर्दा खुशी र स्वतन्त्र देखिन्छन् ।
डेढ वर्ष अघि यो टिप्पणीकारले केही नेपाली महिलाहरुबीच एउटा र्याण्डम मौखिक सर्भे गरेको थियो । त्यस क्रममा भविष्यमा अमेरिकानै बस्ने कि नेपाल फर्किने योजना, यहाँ कत्तिको खुशी र सुखी हुनुहुन्छ ? भनेर सर्भे गर्दा ९९ प्रतिशतले भविष्यका बारेमा समय समयमा परिवार, आफन्तजन भेट्न गएपनि बस्नेगरि नजाने बताएका थिए । उनीहरुले अमेरिकामा सुख र खुशी दुबै मिलिरहेको बताएका थिए ।
मैले माथिनै भनिसके कि जो मानिसमा नेपालमा पहिलाको पदको भुत चढिरहेको छ, जसमा महत्वाकांक्षाको भुत सवार चढेको छ, जो सँग मेहनत र इमान्दारिता भन्ने चिजनै छैन उनीहरु खुशी छैनन् । यस्ता मानिसहरु अमेरिका मात्र होइन युरोप, अष्ट्रेलिया अनि मंगल ग्रहमा पुगेछन् भने पनि खुशी हुन सक्दैनन् । किनकी खुशी अन्तरमनले अनुभूति गर्ने विषय हो ।
प्रतिक्रिया