मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुनम सरको खाट

पुनम सरको खाट

रामचन्द्र भट्ट

आज पनि यो भवन अघिल्तिर आइपुग्दा मेरो हाँसो थामिएन । मुख छोपेर हाँसे । सुमी अघिअघि थिइन् । उनले मेरो हाँसो त सुनिनन् । मलाइ निकै पछि देखेपछि उनी रोकिइन् पर्खिनका लागि ।
‘कति ढिला गरेको ?’ मलाई कुर्दै उनले भनिन् ।

मेरो हाँसो अझै थामिएको थिएन । हाँसो रोक्न खोज्छु सक्दै सकिन।

‘किन हाँसेको यसरी मरिमरी ?’ उनको प्रश्नले म फेरि हाँस्छु ।

हरेक पटक शहरबाट गाउँ आउँदा यही भवनसँगैको बाटो हुँदै म घर तिर लाग्ने गर्छु । बसबाट झरेपछि घर पुग्न २० मिनेट हिड्नुपर्छ । बस विसौनी र मेरो घरको बीचमा यो पुरानो साझा सहकारीको भवन छ । हरेक पटक शहरबाट गाउँ आउँदा मलाई मेरो त्यो अतीतलाई यो भवनले झल्झली सम्झाउँछ । त्यही सुवोध अतीतलाई सम्झँदै गर्दा मुर्छा परेर हाँसो उठ्छ । हरेक पटक यो भवनहुँदै हिँड्दा त्यही कुरा मनमा आइहाल्छ । कस्तो निर्दोष बालापन त्यो ? वयष्क मनको भावना बुझिदिन नसक्ने, छटपटी देख्न नसक्ने त्यतिखेरको कस्तो हाम्रो कस्तो बालापन रहेछ भनेर मनमनै ग्लानी पनि हुन्छ कतिखेर त ।

‘होइन किन हाँसेको भन्या ?’ हामी पनि हाँसौ नत सुमीको बोलीले म झसङ्ग हुन्छु । ‘प्रायः यो ठाउँमा आइपुगेपछि तपाई मुस्कुराउनुहुन्छ । मैले धेरैपटक याद गरेकी छु । कारण के हो ? आज नभनि सुख पाउनुहुन्न’ उनले अब भने ढिपी नै कसिन् ।

त्यो पुरानो कुरा कसरी भनौ ? भन्नै लाजमर्दो विषय । तीन दशक पुरानो कुरा । शायद त्यो घटनाका एक पात्र त संसारमा छन् भन्ने विषयमा अझै शंका छ । अर्का पात्र कहाँ छन् पत्तो छैन । त्यो पुरानो कुरा कोट्याएर फाइदा त कसैलाई केही हुने पनि होइन । तर हानी पनि त कसैलाई पुग्दैन नि ।

हुनतः संसारका कसैसँग पनि शेयर गर्न नमिल्ने कुरा पत्नीसँग मिल्छ । पत्नीसँग ढाँट्नुपर्ने, छल्नुपर्ने कुरा केही हुन्छन् भन्ने मलाई लाग्दैन । विवाह इत्तर सम्बन्ध कसैसँग छ भने छल्नु र ढाँट्नु अर्कै कुरा भयो । तर अधिकांश भावना साटासाट गर्न मिल्ने एकमात्र साथी पत्नी मात्र हुन् । उनीसँग कुनै कुरा गोप्य राख्नुपर्ने विषय हुन्छन् जस्तो मलाई लाग्दैन ।

तर यो कुरा उनीसँग भन्न किन किन मलाई अप्ठेरो लागिरहेको छ । मेरो गल्ती केही पनि थिएन यो घटनामा । नत मेरा साथी र सहपाठीहरुकै कुनै कमजोरी थियो । परिस्थिती बुझ्ने ल्याकत नहुनु हाम्रो कमजोरी थियो ।
‘ह्या छाड क्या । त्यही अघि बसमा खलासी भाई र ती बुढाबा को गफ सम्झिएर हाँसो लागेको नि’ मैले पन्छाउने हिसाबले सुमीलाई जवाफ दिएँ । काठमाडौंबाट आउँदा बसमा चढेका एकजना बृद्ध बाले भरखरै आफ्नो सातौ बिहे गरेको कुरा खलासीसँग गर्देथिए । उनीसँगै बसेकी २८/२९ वर्ष जतिकी एउटी युवतीलाई आफ्नी कान्छी पत्नी भन्दै पुरानो जमानाको पानी दह्रो हुने कुरा गरिरहेका थिए । उनका कुरा सुनेर सुमी आगो भएकी थिइन् । के गर्नु उनीहरुको पारिवारिक कुरा भएकोले धेरै बोल्न मिल्ने कुरा पनि थिएन ।

‘ती पातकी बुढाका कुराले हुँदै होइन तपाई हाँस्नुभएको । आजमात्र हो र यहाँ आइपुगेपछि तपाई हाँस्नुहुने ? हरेक पटक यहाँ आउँदा यात हाँस्नुहुन्छ, यात मुस्कुराउनु हुन्छ । के छ यो बाटोमा ? कि त्यो पुरानो भूत बंगलामा हँसाउने भूत बसेको छ ?’ उनको कुराले मलाई अझै हाँसो लाग्छ ।

उनको ढिपीको अगाडी मेरो दाल गलेन । सधैँभरि रहस्यको गर्भमा पोकोमा बाँधिरहनुभन्दा आज फुकाएर देखाउनु उचित समय आएको हो कि भन्ने पनि लाग्यो ।
म ३१ वर्ष पुरानो ती दिनहरुमा फर्किएँ ।

———0———

आज अन्तिम पिरियड संस्कृत पढाउने सर आउनुभएको छैन । ७ कक्षाका सबै सहपाठीहरु खेल्न चौरमा निस्किसकेका छन् । कोही शौचालयतिर पुगेका छन्, कोही बाहिर बरालिइरहेका छन् । कोही चाहि पुर्व व्यबसायीक शिक्षा अन्तरगत करेसाबारीको रोपिएको काउली, साग, केराउ, मुला लगायत तरकारीको व्यबस्थापन गर्न तल्लिन छन् ।

कक्षाकोठाको ढोका अघिल्तिर हुँदै पुनम सर हेडसरको कोठातिर जाँदै हुनुहुन्थ्यो । म मुसुक्क हाँसे सरलाई देखेर । उहाँ केही महिना अघिमात्र नियुक्ति लिएर हाम्रो स्कुलमा आउनुभएको थियो । निम्न माध्यामिक तहमा विज्ञान विषय पढाउनुहुन्थ्यो पुनम सरले । हामी उहाँलाइ नामले भन्दा पनि ‘विज्ञान सर’ ले चिन्दथ्याैँ । स्कुलको सबैभन्दा नयाँ सर भएको हुँदा कसैकसैले त ‘नयाँ सर’ पनि भन्थे । अर्को नयाँ सर नअाएसम्म सबैभन्दा पछिल्लालाइ नयाँ सर भन्ने चलन हाम्रो थियो ।

‘ए तिमीहरु तीनजनामात्र रहेछौ त कक्षामा ?’ उहाँले छोटकरी प्रश्न सोध्नुभयो ।

‘अरु साथीहरु खेल्न निस्किए । हामीमात्र छौ सर’ मेरो सहपाठी पुर्णले पनि छोटै जवाफ दियो ।

सर कक्षामा पस्नुभयो । शायद उहाँको अर्को क्लास थिएन ।

‘कस्तो हुँदैछ मैले पढाएको ?’ उहाँले सोध्नुभयो । उहाँको अाशय अाफ्नो बारेमा सर्वेक्षण लिनु पनि जस्तो लाग्यो । विद्यार्थीले सरले पढाएको बुझेनाै भनेर कम्प्लेन गरेभने पाएको जागीर जाला भन्ने डर स्वभाविकै हो । त्यसभन्दा अघि शिक्षक हुने भनेर अाएका धेरैका जागीर गैसकेको थियो विद्यार्थीका कम्प्लेनले ।

उहाँको पढाउने क्षमतामा कुनै शंका थिएन । बुझाउनेगरि, सरल शव्द राखेर पढाउनुहुन्थ्यो । तराईमुलको भएकोले भाषागत केही त्रुटी भएपनि विषयवस्तुमा उहाँको गहिरो दख्खल थियो ।

उहाँले त्यसदिन हामीलाई कक्षामा पढाएका कुराहरु दोहोर्याइ दिनुभयो । हामी चारजनामात्र भएकोले पढ्ने तरिका पनि सिकाइदिनुभयो । त्यसदिन देखि हामी उहाँको फ्यान भयौँ ।

कक्षामा पढाउँदा उहाँले हामी चारजनाको नामै लिएर बोलाउनुहुन्थ्यो । हामी चार बाहेक उहाँले नोटिस गर्ने विद्यार्थी भनेका फस्ट, सेकेण्ड ब्वाईमात्र थिए । अरु एकाधलाई पनि चिन्नुहुन्थ्यो ।

पुनम सरको डेरा स्कुल नजिकैको साझा सहकारीको भवनमा थियो । सहकारीको चारकोठाहरु मध्य दुईवटामा अफिस थियो भने दुईवटामा सरहरुको डेरा । स्कुल र साझाको भवनको दुरी मुस्किलले तीनसय मिटर हुँदो हो । तल गहिरोमा स्कुल थियो भने माथि हाइटमा सहकारीको भवन ।

सरसँग ट्युसन पढ्न पाए हाम्रो विज्ञान सुध्रिन्छ कि भन्ने आशा थियो । त्यसो हुँदा हामी सरसँग नजिक हुने बहाना खोज्न थाल्यौँ ।

असार साउनको वर्षे छुट्टी सकिएर भरखरै स्कुल खुलेको थियो । भदौको महिना थियो । स्कुलबाट घर जाँदै गर्दा बाटोमा बाटोमा पुनम सर पनि आज सँगै पर्नुभएको छ । ‘सर हामीलाई ट्युसन पढाइदिनुस् न ?’ मैले आग्रह गरे ।
‘ए भैहाल्छ नि कुमार । तिमीहरुले कतिखेर आउँछौ त ? तिमीहरुलाई सहयोग गर्छु’ उहाँले पढाउन स्विकार गर्नुभयो । ट्युसन शुल्क पनि नचाहिने, तर मेहनत गरेर पढ्नुपर्ने शर्त राख्नुभयो उहाँले । स्कुल छुटेर घर पुग्ने अनि खाना खाएर सरसँग ट्युसन पढ्न आउने । राति सरकै कोठाको एक छेउमा ओछ्यान हालेर सुत्ने निधो गरियो । सरसँग यसरी राति ट्युसन पढ्ने चारजना भयौ हामी ।

ट्युसन पढ्दा तीन थरि फाइदा भयो । पहिलो नबुझेको कुरा सरलाई तुरुन्तै सोध्न मिल्यो, दोस्रो साथीहरुसँग छलफल गर्दै पढ्न पनि पाइयो । तेस्रो चाहि सरले आफ्नो तराईका जिल्लाका बारेमा दिने जानकारी, काठमाडौंका क्याम्पसको पढाईका विषयमा पनि धेरै सिक्न पाइन्थ्यो ।

एसएलसी पछि त गणित विषय नपढ्न पनि मिल्छ एकदिन उहाँको कोठामा आउनुभएका नरेन्द्र सरले सुनाउनुभयो । म गणितमा कमजोर भएकोले गणितबाट कहिले छुट्कारा पाइएला भन्ने हरदम मनमा थियो । तर त्यसका लागि एसएलसीको फलामे ढोका फोर्नेपर्ने जरुरी थियो ।

नाम ट्युसन पढ्ने भएपनि दशैं आउनै लाग्दा चाहि सहपाठीहरु कहिले कुखुरा किन्न गाउँ पस्थे । सरलाई खाना पकाउन सहयोग गर्ने एकजना स्थानीय दाई चाहि लोकल खोयाबिर्के ल्याउँथे । म त्यतिखेर माछामासुको वरिपरीनै नपर्ने स्वभावको थिए । खोयाबिर्के पिउन सिकिसकेको पनि थिइन । तर उनीहरुले खाएको र खोयाबिर्केको तालमा आकाश र पाताल जोड्ने गफ सुन्दा चाँही रमाइलो लाग्थ्यो ।

‘मलाई यो केटीले साह्रै मन पराउँथी । तर उसको मेरो जात नमिल्ने भएकोले म भाग्न पर्ने अवस्था आयो’ फोटाका एलबममा रहेकी एउटी केटीको फोटो देखाउँदै एक दिन सरले सुनाउनुभयो । हरियो कुर्था सुरुवाल लगाएकी, कालीकाली तर हिस्सी परेकी केटी थिइ । सर तराइमुलको ब्राह्मण, तर ती केटी चाहि काठमाडाैँकी रैथाने नेवार समुदायकी । बाउअामाबाट अन्तरजातीय बिहे गर्न अनुमति नपाएको कुरा उहाँले एक पटक सुनाउनुभएको थियो ।

अघिल्लो हारमा केटीहरु बेञ्चमा बसेका थिए भने पछिल्लोमा केटाहरु लहरै उभिएको तस्बिर थियो । त्रिभुवनपार्क थानकोटमा पिकनिक जाँदाको फोटो भनेर सरले व्याख्या पनि गर्नुभयो । तराईबाट काठमाडौं आएर पाटन संयुक्त क्याम्पसबाट आइएस्सी गर्नुभएको थियो सरले । तराईबासी भएकोले सरकारी जागिर भएपछि बिहेमा प्रशस्त दाइजो आउने कारणले उहाँ शिक्षक हुनका निम्ति पहाड उक्लनुभएको थियो ।

‘काठमाडौंबाट नाइट बस चढ्नुपर्छ मेरो घर पुग्न । नाइटबसमा पुरा १२ घण्टा लाग्छ’ उहाँले त्यतिखेर भन्नुभएको थियो । मैले मुस्किलले दुई पटक काठमाडौ टेकेको थिएँ । नाइटबस, तराई, मुंगलिन, नारायणघाट, हेटौंडा, बिराटनगर त ठूला र सपनाका विषय थिए ।

हरेक बेलुकी ४ बजे स्कुल छुटेपछि घर आउने । आमाले पकाउनुभएको भात खाएर पुनम सरकोमा ट्युसन पढ्न पुग्ने नियमित रुटिन बन्यो हाम्रो । भोलीपल्ट बिहान उठेर एक घण्टा फेरि सरसँग पढ्ने र घर जाने । घरमा आमाले पकाउनुभएको खाना खाएर स्कुल जाने नियमित रुटीन भयो । कुनै घरायशी जिम्मेवारी र दायित्व नभएको, पढ्ने भन्दा अरु ध्याउन्न नहुँदा एक हिसाबले निकै रमाइलोसँग चलिरहेको थियो त्यो जीवन ।

पुनम सरको कोठा सानै थियो । कोठामा सिङ्गल बेड थियो । जसमा एकजनामात्र सुत्न मिल्थ्यो । काठको फलेक भएकोले जमिनको चिसो आउने कुरै भएन । हामी गुन्द्री माथि राडी ओछ्याएर एउटा पातलो ओढ्ने ओढेर सुत्थ्यौँ । चारजना विद्यार्थी लहरै सुत्थ्यौ । तल्लो तलामा खाना पकाउने छुट्टै कोठामा भएकोले सजिलो थियो । मट्टितेलले बल्ने स्टोभमा एकजना दाई दम दिदै बिहान बेलुकी सरलाई खाना पकाउन व्यस्त हुन्थे ।

ती दाई नभएको बेलामा हामी विद्यार्थीहरु मिलेर सरलाई खाना पकाइदिन्थ्यौँ । सर आफै पनि बेलाबेलामा बनाउनुहुन्थ्यो । भवनसँगै पानीको धारा भएकोले भाँडाकुँडा सफा गर्न सजिलै थियो । हामीले घरमा भएको दहीदुध, बारीमा फलेका ताजा तरकारी, चामल लगेर सरको कोठामा छाडिदिन्थ्याैँ ।

एक साँझ म सदाझै ट्युसनका लागि सरको कोठामा पुगेँ । साथीहरु आफ्नो अनुकुलतामा बेलुकीसम्म ट्युसनका लागि आइपुग्ने चलन थियो । त्यसदिन सुरुमा म एक्लै सरको कोठामा पुगेँ ।

अघिपछि खाना बनाउन कित एकजना सहयोगी दाई, कि सर एक्लै तल्लो कोठामा हुन्थे । तर त्यसदिन तल्लो कोठाको ढोका बन्द थियो । स्टोभको आवाज ह्वाररर….. आइरहेको थियो । म सरासर माथिल्लो कोठामा गएँ । ढोकामा ताल्चा लागेको थियो ।

तल झरेर ढोकामा कान पुर्याएँ । महिला स्वर सुनियो । अचम्म लाग्यो । को महिला रहेछ भन्ने सोच्दै ढोकामा ढकढक आवाज दिएँ । पुनम सर बाहिर निस्कनुभयो । उहाँ बाहिर निस्कने क्रममा ढोका खुल्यो । भित्र एकजना महिला देखिनुभयो । महिला चीर परिचितनै हुनुहुन्थ्यो । स्कुलमै माध्यामिक तहमा विज्ञान पढाउने म्याडम हुनुहुन्थ्यो ।

उहाँ पनि स्कुलका लागि नयाँनै हुनुहुन्थ्यो । काठमाडौंकै रैथाने म्याडमका बारेमा स्कुलमा अनेक किस्साहरु सुनिन्थे । उहाँको छोराछोरी त फलानो सरकै उमेरका छन् अरे, पढाउन भन्दा पनि समय कटाउन र पकेट खर्चका लागि उहाँ आउनुभएको अरे, सदरमुकामको डेरामा म्याडम त एकजना पुरुषसँगै बस्नुहुन्छ रे । यी कुराहरु हाम्रा लागि चासोका कुरा भएपनि उतिसारो पछ्याउने फुर्सद पनि थिएन र हाम्रो उमेर पनि थिएन ।भित्र म्याडम तातेको तेलमा मासु ओइरिदै हुनुहुन्थ्यो ।

‘आज नपढौँ होला है केटा हो । म्याडम आउनुभएको छ । आज म पढाउने मुडमा पनि अलि छैन । भोलीदेखि फेरि पढौला है त । अरु साथीहरुलाई पनि नआउन भनिदेउ है’ यति भन्दै सरले ढोकाको छेस्किन लगाउनुभयो । उहाँको स्वर हतारको थियो । त्यो भन्दा बढी हतार हामी विद्यार्थी त्यसदिन घर गैहालिदिए हुन्थ्यो भन्ने थियो ।

‘हवस’ भन्दै फर्किनुको विकल्प मसँग थिएन । मनमा नमिठो लागिरह्यो । फर्किनुपरेकोमा भन्दा पनि सरको कोठामा एउटामात्र खाट छ । त्यसमा सर मात्र अटाउनुहुन्छ । म्याडम कहाँ र कसरी सुत्नुहोला ? कोठामामा हाम्रो गुन्द्री र ओढ्ने ओछ्याउने त छ । तर म्याडम कसरी हाम्रोमा सुत्न सक्नुहोला ? यी र यस्ता चिन्ता मनमा जागिरह्यो । एक मन त लाग्यो घर गएर म्याडमलाई सिरक डसना ल्याइदिनुपर्छ कि क्या हो ?

मनमा अनेक तर्कना गर्दै अलि वर आइपुग्दा सहपाठीहरु ट्युसनका लागि आउँदै रहेछन् । मैले पुनम सरको खबर सुनाइदिए । साथै म्याडम पनि आज सरको पाहुना भएर आउनुभएको जानकारी दिएँ ।

‘आज सरले मोज गर्ने भए । यस्तो मौकामा अनि हाम्लाई कहाँ पढाउँछन् त ?’ उमेरले सबैभन्दा सिनिएर सहपाठी अर्जुनले भन्यो ।

होइन अर्जुन म्याडमलाई सुत्ने ठाउँ नहोला । हामीले सिरक डसना लगिदिनुपर्ने हो कि ? एकपटक गएर सरलाई सोधौँ न ?’ मैले भने ।

मेरो कुरा सुनेर उसले मायालु पारामा गालामा एक झापड हान्यो । ‘तेरा बाजे तँलाइ साँच्चिकै थाहा नभएको हो कि तँ गोरु होस् कुमार ? यस्तो बेलामा उनीहरुलाई किन चाहिन्छ सिरक डसना ?’ उसको भनाईको तात्पर्य अझै बुझिन मैले ।
त्यो घटनाको भोलीपल्टदेखि हाम्रो ट्युसन पनि छुट्यो । पुनम सरको बसाई साझाको त्यो भवनमा अनियमित हुन थाल्यो । सरको अनियमिततासँगै हाम्रो ट्युसन पनि उसै अनियमित भयो । दशैं मनाउन काठमाडौं गएकी म्याडम फर्केर आउनुभएन । सर चाँही छठ मनाएर तराईबाट फर्किनुभयो । उहाँको डेरा पनि सर्यो ।

म्याडमको लागि सिरक डसनाको विषयमा मैले त्यतिखेर लिएको चिन्ताको सुधोपनलाई घटनाको २/३ वर्षपछि म आफैले बुझेँ । सहपाठी अर्जुनले किन गालामा झापड हान्यो भन्ने कुराको भेउ पनि पाएँ ।

जब मैले आफ्नो सुधोपनलाई बुझेँ त्यसदिन देखि जबजब म यो बाटो हिँड्छु हाँसो थाम्न सक्दिन । यसैयसै हाँसोको काउकुती लागेर आइहाल्छ ।

————0———–

‘ल यही हो यहाँ आइपुगेपछि मेरो हाँसोको रहस्य ।’

हाँसोको रहस्य सुनेर सुमीले मुन्टो बटारिन् । ‘तिमीहरु केटाहरुको दिमागमा यस्ता नचाहिँदो कुरा पनि कतिञ्जेल गढेर बस्छ हँ ? कुरा सुन्दा पनि उदेक लाग्छ’ उनले आँखा तर्दै भनिन् ।

त्यो रात सर र म्याडम मध्य को बेडमा सुत्यो र को चाँही भुईमा सुत्यो होला ? मेरो मनले अझैपनि यो प्रश्नको जवाफ भेट्न सकेको छैन ।