मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

गौँडा-गौँडामा सरकारलाई ठगेर देश बन्छ ?

गौँडा-गौँडामा सरकारलाई ठगेर देश बन्छ ?

रामचन्द्र भट्ट

शेयर गर्नुहोस:

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मेरा एक सहकर्मी छन् । युरोपिएन मुलका अमेरिकन हुन् उनी । इटालीबाट उनका जिजुबाजे अमेरिका आएका थिए । उनी अमेरिकामै जन्मिए, यतै हुर्किए । यहीँ शिक्षादीक्षा लिए ।

परिवारमा दुईजनामात्र छन् । उनी र उनकी पत्नी । तर उनी दुई ठाउँमा काम गर्छन् । उनकी पत्नी पनि काम गर्छिन । हप्तामा ६०/६५ घण्टा काममा खटिन्छन् । सरकारलाई कर तिर्छन् । बच्चाबच्ची नभएका कारण सरकारले ठटाएर कर लिन्छ उनको पारिश्रमिकबाट । हप्ताभरि काम गरेपछि सरकारलाई कर तिरेर बाँकी भएको रकममात्र उनको खातामा जान्छ । सरकारले कर लिएको विषयमा उनी कहिल्यै गुनासो गर्दैनन् । तर महंगी बढेकोमा चिन्ता गर्छन् । अमेरिकाको ऋण ३१ ट्रिलियन (तीनसय १४ खर्ब) डलर पुगेकोमा डर असाध्यै चिन्ता लिन्छन् ।

आफ्नो भन्दा बढ्ता देशको अर्थतन्त्रको चिन्ता गर्छन् । घण्टाको १९/२० डलर कमाउँछन् । तर दुई ठाउँमा काम गर्दा पनि भेकेसन (छुट्टी) मनाउन जान सकेका छैनन् । पुरानो गाडीबाटै काम चलाइरहेका छन् ।

मेरा अर्का मित्र झण्डै चार महिना नेपालमा बिताएर केही दिन अघि अमेरिका फर्किए ।

‘फेरिएको नेपाल कस्तो लाग्यो त ?’ मैले सोधेँ । उनको सटीक जवाफ थियो-‘गाैँडा-गाैँडामा देशलाई ठग्ने र लुट्नेहरु बढेछन् ।’

‘राज्यबाट सुविधा चाहने । तर राज्यलाई कर तिर्न नखोज्ने धेरैतिर भेटिए । राजश्व उठाउन बसेका मालपोतका कर्मचारीहरु सेवाग्राहीलाई कर छल्न सिकाउँछन् । कर छल्ने आइडिया सिकाए वापत आफ्नो खल्तीमा पैसा हाल्छन् । भन्सारका कर्मचारीहरु पनि कम मूल्यांकन गर्दै राजश्वमा नोक्सानी पुर्याएर आयातकर्ता र आफ्नो खल्ती भर्छन् ।

जहाँजहाँ गएँ त्यहीत्यही जसरी हुन्छ सरकारलाई ठग्ने, सरकारी राजश्व मार्ने भन्दा बाहेक अरु मान्छे देख्नै मुस्किल भयो । पाइला पाइला, गाैँडा गाैँडा, चोकचोकमा सरकारलाइ ठग्ने कुरा गर्ने भन्दा अरू भेटिएनन् ।’ नदीको ढुंगा निकालेर हुन्छ कि वालुवा निकालेर, खेती गर्ने नाममा सरकारी अनुदान पचाएर हुन्छ कि कमसल निर्माण कार्य गरेर हुन्छ । जसरी हुन्छ राज्यलाइ ठग्ने भन्दा मान्छे भेट्न मुस्किल भएको अनुभव उनले मलाइ बेली विस्तार लगाए । उनका अनुसार जो इमान्दार देखिएका छन्, तिनले पनि माैका नपाएर या अवसर नमिलेर मात्र इमान्दार भएका हुन् । माैका पाउनासाथ सबैजना राज्यलाइ लुट्ने भन्दा बाहेक कसैको ध्याउन्न रहेनछ । उनले यसरी बेलीविस्तार लगाए ।

भन्सार र मालपोत मात्र होइन । भ्याएसम्म र सकेसम्म देशलाई ठग्ने, देशको स्रोतमा आँखा गाड्नेहरुको भेटिए । मेहनत नगरि करोडपति हुने हाइवेमा दौडिएका धेरै देखिए ।

उनका कुरा सुन्दा बढी बोलेकी जस्तो पनि लाग्यो । तर यसो सोच्दा त पाएसम्म सरकारलाई धुत्ने भन्दा बाहेक कोही देखिएनन् ।

यो तथ्यलाई पुष्टी गर्न सबैभन्दा माथिबाटै जाउँ न त अब ।

डा. रामवरण यादव गणतन्त्र नेपालका प्रथम राष्ट्रपति । उनको नाम नेपालको इतिहासमा पहिलो राष्ट्रपतिका रुपमा सदा आइरहन्छ । पेशाले चिकित्सक हुन् उनी । पारिवारिक रुपमा पनि हुनेखाने वर्गकै हुन । छोराछोरी देखि लिएर परिवारमा राम्रै कमाई भित्रिन्छ उनको ।

पूर्ब राष्ट्रपतिलाई सरकारले मनग्गे घरभाडा दिएको हुन्छ । कुनै सरकारी कर्मचारी नभएपनि उनले मासिक तलब बुझ्दै आएका छन् । कुनै लेखापढी नहुने भएपनि सरकारले पूर्ब राष्ट्रपतिलाई कर्मचारी, सुरक्षाकर्मी दिएको छ । सचिवालय सञ्चालनका लागि भनेर बजेट पनि मनग्ये दिएको हुन्छ सरकारले ।

नियमित रुपमा तलब भत्ता पाइरहेर पनि उनले कहिले स्वास्थ उपचारका नाममा त कहिले खर्च कम भयो भन्ने नाममा सरकारी स्रोतमा र्‍याल चुहाइरहेकै छन् । उनलाई राजतन्त्रको बेलाको राजपरिवार र गणतन्त्रको राष्ट्रपतिबीच सरकारी स्रोत दोहनमा कस्तो भिन्नता हुन्छ भनेर नमूना भएर देखाउने अवसर थियो । तर उनले आफूलाई जनताभन्दा भिन्न रुपमा प्रस्तुत गर्दै बारम्बार घर भएर पनि डेराभाडामा, उपचारका नाममा बेलमाम रकम लिनेमा अग्रपंक्तीमै देखिए । भरखरै सार्वजनिक भएको तथ्य अनुसार उनले गत मंसिर महिनामा २५ लाख रुपैयाँ सरकारसँग लिएका छन् ।

झलनाथ खनाल अर्का व्यक्ति हुन् जो राज्यका स्रोतहरु खुम्चिएपनि, विकास शिथील भएपनि अनेक नाममा सरकारी स्रोतमा आँखा गाड्न छाड्दैनन् । यस अघि पनि पटक पटक स्वास्थ उपचारका नाममा सरकारी राजश्व लिइरहेका खनालले यसवर्ष पनि २० लाख रुपैयाँ लिएका छन् ।

स्वास्थ उपचारका नाममा सरकारी राजश्व बेहिसाब बाँडिदै आएको छ । सर्वसाधारण जनता विरामी पर्दा उपचार नपाएर मृत्युको मुखमा पुग्नुपरेका एउटा होइनन्, दुईवटा होइनन्, तीनवटा मात्र पनि होइनन् वर्षेनी सयौं घटना छन् । नदी पार गर्ने पुल नहुँदा बगेर मृत्यु भएका दर्जनौ घटना छन् । तर नेताहरु, तिनका कार्यकर्ताहरुले वेपर्वाह हिसाबले सरकारी राजश्वमा दाई गर्न पाइरहेकै छन् ।

गत हप्तमात्रको घटना हो । भाञ्जी नाता पर्ने मेरी एकजना चेलीको सुत्केरी हुने क्रममा उचित उपचार नपाउँदा जीवन गुमाउनुपर्यो । नेपालमा डा. रामवरण यादव, केपी शर्मा ओली, झलनाथ खनालका मात्र जीवन हुन् । उनीहरुले राज्यस्रोतबाट जति खर्च गरेर पनि बाँचिरहन पाउनुपर्ने तर जनताले मात्र उचित उपचार नपाउने अवस्था छ ।

केही वर्ष अघि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नीको उपचार अमेरिकामा भयो । प्रचण्ड पत्नीको उपचारमा भएको खर्च पनि सरकारकै थियो ।

दुई दिन अघिमात्रको अर्को ताजा खबर आएको छ । उपसभामुख इन्दिरा रानाले आफुलाई घरभाडा नपुग भएको गुनासो गरेकी छिन् । सार्वजनिक भएको एउटा भिडियोमा उनले घरभाडा थोरै भएको गुनासो गरेकी छिन् । आफूले ४४ हजार घरभाडा तिरेको, तर उपसभामुखलाई ३६ हजारमात्र दिइको भन्दै उनले पनि सरकारी स्रोतमै आफ्नो ध्यान लगाएकी छन् ।

जनता झनै बेइमान र पाइला पाइलामा सरकारलाई ठग्न प्रेरित छन् । कुनै ठाउँमा सानो आयोजना बन्न लाग्यो भने चलेको भाउभन्दा १० गुणा बढाएर मुआब्जा सरकारसँग लिन्छन् । त्यसरी नदिँदा अनेक भाँजो हालेर काम ठप्प पार्छन् । मुआब्जा लिइसकेको जग्गालाई बिसौं वर्षपछि आफ्नो हकदावी गर्दै मुद्धा हाल्छन् ।

सरकारलाई एक पैसा कर तिर्न चाँही नपरोस् । तर सरकारले बिजुली, पिउने पानी, सडक, टेलिफोन सबै सुविधालाई घर अगाडी ल्याइदिनुपर्छ भन्ने धारणा जनताको हुन्छ । कर्मचारीलाई भ्रष्ट हुन आँट बढाउने जनता हुन् । नेतालाई भ्रष्ट बनाउने पनि जनतानै हुन् । कर्मचारीलाई अण्डर टेबल घुस दिएर नहुने र नमिल्ने काम पनि बनाएर जनताले बिगारेका छन् । अनि नेतालाई नहुने र नमिल्ने काममा दवाव दिएर बिगार्ने पनि जनतानै हुन् ।

देश यत्तिकै बन्दैन । देश बन्नका लागि इमान्दार जनता चाहिन्छ, जस्ले गलत गर्ने कर्मचारीलाई कठालो समातेर कानुनी कठघरामा उभ्याउने हिम्मत राख्छन् । जनता आफैँले पनि जागरुक भएर सरकारलाई कर तिर्ने हो भने आफूले तिरेको करको मायाँ जाग्छ । अनि सरकारले जथाभावी बाँड्दा आवाज उठाउने नैतिकता रहन्छ । त्यसरी आवाज उठाउँदा भविष्यमा मनलाग्दी आर्थिक सहायता, चन्दा, पुरस्कार बाँड्न सरकार डराउने परिस्थिती पैदा हुन्छ ।

मैले यो आलेखको सुरुमै उल्लेख गरेको मेरो अमेरिकन सहकर्मी जस्तो जनता हुन जरुरी छ । नत्र देशलाई पाइला पाइलामा, जस्ले जहाँ सक्छ त्यहीँ, जसरी सकिन्छ त्यसैगरि लुट्ने प्रवृत्ति मौलाउँदै जानेछ ।