मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
प्रेस विज्ञप्ती / सूचना पाटी   
बोस्टन   

बोस्टनमा ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी

बोस्टनमा ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी


बोस्टन । ११३औँ अन्तर्राष्ट्रिय नारी दिवस मार्च ८ तारिख नजिकिँदै गर्दा अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा पनि दिवस मनाउने तयारी गरिएको छ। यस राज्यमा बसोबास गर्ने नेपाली नारीहरुले यस दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गर्न तयारी थालेका हुन्।

विशेष गरी नारी अधिकारको संरक्षण तथा नारी सशक्तिकरणमा केन्द्रीकृत भएर विश्वभर मनाइने यस अन्तर्राष्ट्रिय नारी दिवसलाई, दिवसको मर्मअनुसार अर्थपूर्ण तरिकाले मनाउने गरी तयारी थालिएको आयोजकले जनाएको छ। त्यसको नेतृत्व मासाच्युसेट्स राज्यको बोस्टन स्थित नेपाली मूलका नारीहरु आबद्ध रहेको विश्व सञ्जाल नेपाली वोमन्स ग्लोबल नेटवर्क, न्यू इग्ल्याण्ड च्याप्टर, बोस्टन Nepali Women’s Global Network(NWGN),New England Chapter, Boston ले लिएको छ।

यस अवसरमा संस्थाले यस वर्षको मूल नारा Embrance Equity लाई आत्मसात् गर्दै आउँदो मार्च ५ तारिख आइतवारका दिन मासाच्युसेट्स राज्यको क्याम्रिज सहरको २ अम्हर्स्ट स्ट्रिट 2 Amherst St.,Cambridge मा एक कार्यक्रमको आयोजना गरेर मनाउने गरी आवश्यक तयारी थालेको छ।

आयोजित उक्त कार्यक्रमको बारेमा जानकारी दिँदै एनडब्लुजिएन (NWGN)की पूर्वकेन्द्रीय अध्यक्ष रुकमिणी कार्कीले भनिन्, ‘मासाचुसेट्स राज्यमा रहेका नेपाली समुदायका बिचमा यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी गरेका छौं। नारी सशक्तिकरणमा पुरुषहरुको पनि महत्त्वपूर्ण भूमिका रहने भएकाले, आयोजित उक्त कार्यक्रम नारी र पुरुष दुबैलाई लक्षित हुनेछ। कार्यक्रममा सक्रिय सहभागिता जनाइ कार्यक्रमलाई सफल बनाइ दिनहुन सबैलाई अनुरोध गर्दछौँ ।’

नारीहरुको अधिकार, नारी हिंसा, शोषण, भेदभाव, समानता, सशक्तिकरण, अवसर, चुनौतीजस्ता महत्त्वपूर्ण सवालहरुमा जोडदार आवाज उठाउनु पर्ने अवस्था अझै विद्यमान रहिरहेको जिकिर गर्दै कार्कीले भनिन्, ‘नारीहरुका हरेक सवालहरुलाई यथोचित सम्बोधन गरी परिणाममुखी बनाउन संस्थागत र व्यक्तिगत रुपमा अझै सक्रियताको खाँचो छ।’

नारी सशक्तिकरणको क्षेत्रमा केन्द्रिकृत भएर काम गर्ने मुख्य उद्देश्यले सन् २००२ मा स्थापना भएको मुनाफारहित यस संस्थाले संस्थाको उद्देश्य अनुसार सक्दो काम गर्दै आइरहेको जानकारी दिदै एनडब्लुजिएन(NWGN) मासाच्युसेट्स राज्य, च्याप्टरकी उपाध्यक्ष रोशना घिमिरेले भनिन्, ‘संस्थाको उद्देश्य अनुसार नारी दिवसका अवसरमा कार्यक्रय गर्ने तयारी गरेका छौं। तयारी अन्तर्गत कार्यक्रममा सहभागिताका लागि निम्तो दिने, प्रचारप्रसार र अन्य तयारी गर्ने काम भइरहेको छ।’

नारी सशक्तिकरण अभियानलाई सफल बनाउन सबैभन्दा पहिला समुदायका बीचमा एकताको खाँचो रहेको औँल्याउँदै आयोजित कार्यक्रमले समुदायबीचको एकतालाई थप मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उपाध्यक्ष घिमिरेको अपेक्षा गरिन् ।

सन् २०१६ मा स्थापित यस न्यू इग्ल्याण्ड च्याप्टर, बोस्टनले आफ्नो स्थापनाकालदेखि संस्थाको उद्देश्यअनुसार बेलाबखतमा विविध कार्यक्रमहरु गर्दै आइरहेको भएता पनि पर्याप्त र सोचेजति प्रभावकारी हुन नसकिरहेको यथार्थलाई स्वीकार गर्दै उनले भने, संस्थाको उद्देश्य पूरा गर्न हामी क्रियाशील छौँ। तर, विविध कारणले सोचेजति प्रभावकारी हुन भने सकिरहेको छैन। कोभिडका कारण लामो समय हाम्रो गतिविधिहरु प्रभावित भए। अब केही सहज अवस्था आएको छ। क्रियाशील हुँदैछौँ।भावी दिनहरुमा थप कोसिस गर्ने छौँ। त्यसका लागि सबैको साथ, सहयोग र सुझावको खाँचो छ।’

उपाध्यक्ष घिमिरेले कार्यक्रममा सहभागिताका लागि सम्बन्धित सबैलाई आह्वानसमेत गरेका छन् ।

यसैबिच, यस दिवसलाई लक्षित गर्दै संसारभर राष्ट्रिय तथा अन्तर्राट्रिय सरकारी तथा गैर सरकारी संघ संस्थाहरुले विविध क्रियाकलापहरु गरेर ‘११३ औं अन्तर्राष्ट्रिय नारी दिवस’ मनाउदै छन्। यस दिवसको प्रारम्भिक अभियानको थलो अमेरिकाको न्युयोर्कलाई मानिन्छ। जहाँ सन् १९०८ मा १५ हजार भन्दा बढी श्रमिक नारीहरूले आफ्नो हक अधिकार सुनिश्चित गराउन आन्दोलन छेडेका थिए।

अमेरिकाको सिकागो सहरका नारीहरुले पनि मार्च ८ तारिखका दिन नारीहरुलाई समान अधिकार दिलाउन आन्दोलनमा होमिएका थिए। उनीहरु नारी कामदारहरुको तलब तथा सेवा सुविधा बढाउन, काम गर्ने घण्टा घटाउन र मतदानको अधिकार सुनिश्चित गर्न माग गर्दै आन्दोलनमा उत्रिएका थिए। यस आन्दोलनलाई अमेरिकाको सोसलिष्ट पार्टीले समर्थन गरेसंगै सन् १९०९ देखि अमेरिकामा नारी दिवस मनाउन थालिएको हो। यस दिवसलाई अन्तर्राष्ट्रियकरण गर्नमा भने नारी मुक्ति आन्दोलनकी अभियान्ता क्लारा जेट्किनको महत्वपूर्ण योगदान छ।

उनले सन् १९१० मा कोपेनहेगेनमा भएको नारीहरुको अन्तर्राट्रिय सम्मेलनमा मार्च ८ तारिखलाई अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस घोषणा गर्न प्रस्ताव गरेकी थिइन्। उक्त प्रस्तावलाई सम्मेलनले पारित गरेपछि यस दिवसले अन्तर्राष्ट्रिय स्तरमा वैधता पाउन सफल भयो। र, सन् १९११ देखि हरेक वर्ष मार्च ८ तारिखका दिन औपचारिक रुपमा यो दिवस मनाउन थालियो। संयुक्त राष्ट्र संघले सन् १९७५ मा यस दिवसलाई औपचारिक मान्यता दिएपछि यो दिवस अन्तर्राष्ट्रियकरण हुन पुगेको हो।

संयुक्त राष्ट्र संघले सन् १९९६ मा पहिलो पटक ‘यसको विगतको उत्सव मनाउनुहोस्, भविष्यको योजना बनाउनुहोस् ‘ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको थियो। यस दिवसलाई नेपालले पनि प्राथमिकताका साथ विविध क्रियाकलापहरु गरेर मनाउदै आइरहेको छ। संसारभर छरिएर रहेका नेपाली मूलका नारीहरुले पनि संगठित भएर विविध क्रियाकलापहरु गर्दै यस दिवसलाई उत्सवका रुपमा मनाउदै आइरहेका छन्।

पछिल्ला वर्षहरुमा यस दिवसको अवसर पारेर हुने गरेका क्रियाकलापहरु मुलत: औपचारिकतामा मात्र केन्द्रिकृत हुने गरेकाले लगानी अनुसार सन्तोषजनक परिणाममुखी नतिजा हासिल गर्न भने सकिरहिएको छैन।