टेक्सास । नेपाल हुँदा र नेपाल पुगेपछि जीवनको गहिराई बुझ्न हरेकपल्ट पशुपतिनाथको मन्दिर परिसरमा मैले केही घन्टा बिताउने गरेको छु । अनि हिँड्दै हिँड्दै थोरै उकालो चडेर गौशला चोकसम्म आउँछु । यसो त घार्मिक हिसावले भगवान् शिवको दर्शन गर्न कैयन मन्दिर काफी छन् । सबै मन्दिरमा बस्ने भगवान एउटै होलान्, भन्ने मेरो विश्वास हो ।
गौशलाचोकदेखि मन्दिरसम्म पुग्दा मनमा छुट्टै उत्साह, उमङ्ग अनि भरोसा हुन्छ । जब पशुपति परिसर पुगेर भगवान् शिवको दर्शन गर्छु अनि पारी पट्टी जलिरहेका लासहरु र पीडामा रहेका आफन्तहरुलाई हेर्छु त्यसपछि आफन्त र त्यो जलिरहेको लास देख्छु अनि जीवन के रहेछ र अखिर भन्ने फेरि एकपल्ट महसुस गर्छु । जसरी पहिले पहिले गर्थें । हिजोसम्म नामले बोलाउने आफन्त, ईष्टमित्र अनि परिवारका सदस्यले एकाएक लासको नाम दिन्छन् । लास जल्दासम्म मान्छेको मन न हो, पीडामा हुन्छ । त्यो जलिरहेको लासअघिको मान्छेसँगका सम्बन्धका कारणले मान्छे रुन्छ, कराउँछ, चिच्याउँछ यसरी भनौँ पीडा निकाल्छ, पीडा बोध गर्छ ।
जब धार्मिक संस्कारअनुसार त्यो कर्म सकिन्छ, लास जलेर खरानी हुन्छ । त्यसपछि त्यहाँबाट त्यो हुल तितरबितर हुन्छ, मान्छे नदीकिनारबाट निस्कन्छ । अनि हिँड्दै जब गौशाला चोकमा आउँछ तब परिवेश फरक हुन्छ । त्यहाँ आइपुग्दा देखिने भीडभाड र भागदौडमा मान्छे एकाएक हराउँछ । यदि उ त्यो भीडअनुसार दौडिएन भने म पछाडि पर्छु भन्ने सोच्छ अनि हतारहतार त्यही भीडमा मिसिन्छ ।
जब म गौशलाचोकमा ठिङ्ग उभिन्छु अनि चर्को स्वरमा गौशला, चाबहिल, नयाँ बसपार्क भन्दै कराइरहेको कन्डक्टरलाई एकोहोरो हेर्छु, चर्को आवाजमा हर्न बजाउँदै तँछाडमछाड गर्दै दौडिरहेका गाडीहरुको हुललाई हेर्छु, सडक पेटीमा फूलमाला बेच्न बसेका मान्छेलाई नजिकबाट नियाल्छु, पारीपट्टि सामान बेच्न तँछाडमछाड गरिरहेका साहुजीहरुलाई हेर्छु अनि मनमनै मुस्कुराउँछु । फेरि यस्तै रहेछ जीवन भन्दै फेरि जिन्दगीको म्यारथुनमा स्वयम् सहभागी हुन्छु ।
केही दिनअघि मेरो मिल्ने साथीले यो घर्ती छोड्यो, केही दिन पीडाले बोल्न पनि मुस्किल भयो । मान्छे रगतमा भन्दा बढ्ता भावनामा विश्वास गर्छ । म पनि अरु जस्तै मन भएको मान्छे न हुँ, त्यही पीडाले मलाई उmसँग बिताएका पलहरु र हिजो गोजीमा रुपैयाँ कम हुँदा पनि सापटी मागेर रमाइलो गरेका पलहरुले पिरोलीरह्यो । मेरो मात्रै होइन धेरैको मनमा बस्न सफल भएको त्यो मेरो साथीलाई जब अस्पतालले लास भन्यो अनि त्यो लासमा पनि नम्बर थपिदियो त्यसपछि म फेरि छाँगाबाट खसेजस्तो भएँ ।
पत्रकार अनि राजनीतिक रुपमा पनि अग्लो उचाई बनाइरहेको त्यो मेरो साथीलाई समाजले फलानोजी भनेर सम्बोधन गर्थ्यो । तर, एकाएक ऊ लास भयो । नमेटिने घाउ बनेर भगवानको प्यारो भयो ।
जीवनलाई पटकपटक गहिरो गरी महसुस गर्नकै लागि होला म जब नेपाल पुग्छु पशुपतिनाथको मन्दिर परिसरदेखि गौशाला चोकसम्म हरेक पटक हिँड्छु अनि भोगिने जीवन र अनुभव गरिने अनुभूति लिएर फेरि जीवनको म्याराथुन दौडमा सहभागी हुन्छु ।
परिवार, आफन्त, ईष्टमित्र र माया, फगत हो भनेर कसरी भनुँ तिनै आफन्त, परिवार र मायाले नै जीवन चलिरहेको हुन्छ, जीवन धानिएको हुन्छ । यसैले हरेक पल्ट गरिने प्रणजस्तै यसपल्ट पनि अरुजस्तो बन्ने दौड छाडेर आफू, आफैँजस्तो भएर जीवन बाँच्ने फेरि अर्कोपटक प्रण गर्छु । र, भगवानसँग प्रार्थना गर्दै भन्छु, हे भगवान् मलाई मान्छे भएर बाँच्ने मेरो कोसिस सधैँ जीवन्त रहोस्, जय जिन्दगी, लभ यू जिन्दगी !
प्रतिक्रिया