काठमाडौँ । सरकारले पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषदको बैठकले माघ २ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
“आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ, दिवङ्गतप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ, निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ”, उनले भने, “शोकपूर्ण घटनाका सन्दर्भमा भोलि माघ २ गते शोक मनाउने र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।”
शोकमा राष्ट्रिय झण्डा आधा झुकाइने
कास्कीको पोखरामा आइतबार भएको विमान दुर्घटनाप्रति दुख व्यक्त गर्दै शोकको घडीमा सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जानकारी दिएको छ ।
विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झण्डा आधा झुकाउने तथा अत्यावश्यक बाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
विमान दुर्घटनाको शोकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने अध्यक्ष रहेको भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले भोलि मनाउन लागेको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस पनि स्थगित गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
आइतबार बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराका लागि ६८ यात्रु र चार चालक दलका सदस्यसहित उडेको यति एयरको एआरटी ७२ विमान पोखरा महानगरपालिका १५ नयाँ गाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।
यतीको सोमबार देशभरको उडान रद्द
दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ ।
विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
कुल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९एन–एएनसी एटिआर–७२ जहाज आइतबार बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।
प्रतिक्रिया