मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सलाम चित्रबहादुर, धिक्कार शेरबहादुर

सलाम चित्रबहादुर, धिक्कार शेरबहादुर


यता बसेर नेपालामा देखिएका अनौठा र अप्रत्यासित कुराहरुमा टिप्पणी नगरुँ भन्यो , अति हुन्छ अनि मन मान्दैन । आखिर मन त नेपाली नै पर्यो् । खासगरी नेपालको राजनीति र त्यसभित्रको बेथिति हेर्दा र सुन्दा मन अमिलो हुन्छ । सुल्टो हुनुपर्ने उल्टो देखिन्छ । आशलाग्दो हुनुपर्ने निराश लाग्छ । पन्ध्रवर्ष टिकाउने भनेको गठबन्धन निमेषमा भत्किन्छ । एउटाले देखिरहेको सपना क्षणभरमै तुहिन्छ । गतिलो प्रतिपक्षको जनअपेक्षा सत्ताको चास्नी स्वादमा खोसिन्छ । 
 
नेपालका पुराना दलहरुप्रतिको अविश्वास र आक्रोशले चुनावमा उदाएका नयाँ दलका नेताहरुमा सत्ताप्रतिको हतारो , स्टन्ट्बाजिको प्रतिस्पर्धा र सामान्य राजनीतिक नैतिकताको हेक्का नगर्ने चरित्र हेर्दा जनाताको विश्वास गर्ल्याम्म ढल्ने खतरा छ । जस्को विरुध्द हिजो नसा फुलाएर भाषण गरे अहिले उनकै टाङ्ग मुनि छिरेर आदर्श फलाक्दा त्यो कति स्थायी होला भन्ने पनि ख्याल नगर्ने नेतृत्वबाट जनाताले के अपेक्षा गर्ने ?   तैपनि जनताको ठुलो मतबाट जितेर आएका नयाँ अनुहारहरुलाई शंकाको सुविधा दिएर केहि महिना कुर्न सकिन्छ । तर आफुलाई लोकतान्तृक मान्ने नेपाली काँग्रेसको भूमिकाले भने संसदीय पध्दति  र लोकतन्त्रको मुल्यमान्यलाई जसरी भताभुङ्ग बनाउदैछ त्यसप्रति भने आँखा चिम्लेर समर्थन गर्न किमार्थ सकिदैन । लोकतन्त्रको मसिहा ठान्ने अनि त्यसले निर्दिष्ट गरेका मान्यता र संकृति नमान्ने पनि हुन्छ र ?   
 
काँग्रेससंगको गठबन्धन तोडेर प्रचण्डले एमाले र अरु दलसंग मिलेर सातदलको गठबन्धन सरकार बनाए । छैटौंपटक प्राधानमन्त्रीको कुर्सीमा जाने पक्कापक्की गरेर र्याल चुहाएर बसेका काँग्रेस सभापति देउवाको होस गुम्यो , आँखा तिर्मिराए । हातैमा आएको सत्ता गुमेकोमा काँग्रेस भित्रै उनको व्यापक आलोचना भयो । सत्ताको छेउमा पुगिसकेको दाउ पराजित भएकोमा तिल्मिलाएका देउवाका नंदिभृरङ्गी अर्को दाउको खोजिमा लागे । अस्थिर प्रचण्ड  केपी ओलिको दादागिरिबाट अलिकती भए पनि फुत्किन सकिने त्यान्द्रो काँग्रेसबाट पाइने संकेत बुझेर गदगद भए । परिणाम प्रचण्ड बहुमतले उनलाई प्राधानमन्त्री स्विकार गर्योम । प्रमुख प्रतिपक्षको भूमिकामा बस्नुपर्ने नेपाली काँग्रेस सत्तापक्ष बन्यो । 
 
शेरबहादुर देउवा सत्ता र सुविधाको लागि जेपनि गर्न तयार हुने राजनीतिज्ञ हुन् । आफ्नो दल , देश भड्खालो जाओस् उनको लागि सत्ता भन्दा प्यारो केहि छैन । यो मेरो आरोप हैन देउवाको राजनीतिक इतिहासले बताउँछ । उनको सत्ता इतिहास कहिल्यै पनि प्रशंशित भएन । २०५२ यता पाँचौंपटक प्राधानमन्त्री हुँदा समेत देउवाबाट देशले केहि पाएन । पायो त दर्जनौं विकृती । ४८ सदस्यीय मन्त्री मण्डल , प्राडो पजेरो संकृती र दरबारमा प्रजातन्त्र बुझाउने नालायिकी ! उनको नेतृत्वमा भएको चुनावमा काँग्रेस लाजामर्दो पराजय भोग्छ , देउवाले आफ्नो गल्ती स्विकार्दैनन् । नैतिक जिम्मेवारिबोध गर्दैनन् । उमेर , स्वास्थ्य र सकृयताले पनि उनलाई साथ दिएको छैन । तर सत्ता लिप्साले उनलाई र्याले बनाएको छ । उनका नंदिभिरङ्गी भन्दा पर देख्दैनन् ।
 
अहिले त झन् रामचन्द्र दाहिना छन् । विपिका नालायक पुत्र शशांक भाग पाउने लोभमा उतै टाँसिएका छ्न् । सिटौला , बिमलेन्द्र , प्रकाशशरण जस्ता हरुवा आउट्डेटेड प्रमुख सल्लहाकार छन् ।  संस्थागत मान्यतामा देउवाको विश्वास छैन । नेपाली काँग्रेसको सैद्दान्तिक पक्ष संसदिय लोकतन्त्र हो । उसले संसदमा सत्तापक्ष र प्रतिपक्षको भूमिकालाई आत्मसात गर्दै त्यही अनुकुल व्यवहार देखाउनु पर्छ । तर बहुमत पुर्याएको पुष्पकमल दाहालको सरकारलाई विश्वासको मत थोपरिदिएर आफ्नो दलको वैचारिक मान्यता विपरित काम गरेकोछ ।
 
अब नेपाली काँग्रेसले संसदमा संवैधानिक र नैतिकरुपले प्रतिपक्षको स्थान गुमाएको छ । भोली कुनै बहानामा सत्ताको चास्नी फेरि भोग्न पाइने मनोदशाले ग्रसित देउवा ग्रन्थीको कोपभाजनमा काँग्रेस पर्योे । उनको सुविधाभोगी अनैतिक राजनीतिले नेपाली काँग्रेसको कन्तविजोग त हुने नै भयो ,लोकतन्त्र समेत धरापमा पर्ने निश्चित छ । यस्तो अनैतिक खेलको साक्षी बसेर शेखर कोइरालाले पनि आफुलाई असफल सावित गर्दैछन् , किन थाहा छैन । बरु कम्युनिष्ट नेता चित्रबहादुर केसी पो विजेता निस्किए । संसदीय मुल्य र मान्यतालाई उनले बचाइदिए । संसदमा एक्लो बृहस्पती बनेर प्रतिपक्षीको झण्डा उचाले । सलाम चित्रबहादुर ! धिक्कार शेरबहादुर