मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एनआरएनए सामाजिक सुरक्षा कार्यान्वयनमा सरकारको सहयात्री बन्ने

एनआरएनए सामाजिक सुरक्षा कार्यान्वयनमा सरकारको सहयात्री बन्ने


काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सरकारको प्रयासको सराहना गरेको छ । 
 
संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार विभागका प्रमुख डिबी क्षेत्रीले एक वक्तव्य जारी गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गरी अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकसमक्ष पुर्‍याइएकामा आभार प्रकट गरेका छन् ।  
 
वैदेशिक रोजगारीमा रहेका लाखौँ नेपाली श्रमिक पनि सामाजिक सुरक्षा योजनामा औपचारिकरुपमा जोडिने बाटो खुलेको जनाउँदै उनले गैरआवासीय नेपालीका लागि यो गौरवको विषय भएको उल्लेख गरे । 
 
नेपालमा सामाजिक सुरक्षाकोषको स्थापना हुनुअघिदेखि नै सङ्घले विदेशमा रहेका नेपालीलाई पनि सामाजिक सुरक्षा कोषको दायरामा समेट्नुपर्छ भनेर वकालत गर्दै आएको उनले बताए । 
 
“संघले जिम्मै लिएर सरकारसँग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो”, उपाध्यक्ष क्षेत्रीले भने, “विशेष गरी भारतसहित, मध्यपूर्वलगायत श्रम बजारमा रहेका रहेका नेपाली श्रमिकको आवाजको प्रतिनिधित्व संघले गरेको थियो । एक दशकभन्दा बढी समयपछि त्यो छलफल र संघको पहलले मूर्तरुप लिएको छ ।”
 
आगामी दिनमा नेपाल सरकारसँग सहकार्य र समन्वय गरी यस योजनाको प्रचारप्रसार र कार्यान्वयनमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै उनले सामाजिक सुरक्षालाई सबै श्रमिकसमक्ष पुर्‍याउन सरकारको सहयात्रीका सङ्घले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । 
 
“गैरआवासीय नेपालीका लागि एउटा उपलब्धिको दिन र समग्र नेपाली आप्रवासीका लागि नयाँ अध्ययनको सुरुआत पनि हो”, उनले भने, “यस कार्यलाई सफल बनाउन भूमिका खेल्ने सबैमा सङ्घ धन्यवाद दिन चाहन्छ ।”