काठमाडौँ । नेपाल सरकारले यस वर्षको मानवअधिकार पुरस्कारबाट सडक आश्रित मानवको उद्धार गर्दै आएको मानवसेवा आश्रम र विगत चार दशकदेखि मानवअधिकारको क्षेत्रमा योगदान पुर्याउँदै आएका प्राडा कपिलमान श्रेष्ठलाई सम्मान गरेको छ ।
नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार सिंहदरबारमा आयोजित एक समारोहमा सो पुरस्कार प्रदान गरेका हुन् । उक्त पुरस्कारको राशि जनही रु एक लाख ११ हजार एक सय ११ रहेको छ ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री कार्कीले मानवअधिकारको संरक्षण र सम्वद्र्धनमा नेपालले विभिन्न काम गरिरहेको र संविधानद्वारा प्रत्याभूत हक कार्यान्वयन गर्दै सुशासन, पारदर्शीता र जवाफदेहितासहित मानवअधिकारमैत्री राज्य स्थापना गर्न नेपाल सरकार अग्रसर रहेको बताए ।
उनले नेपालको संविधानले परिकल्पना गरेको सामाजिक न्यायसहितको समावेशी शासन र मानवअधिकारमैत्री नागरिक र राज्यबीचको सम्बन्ध र अपनत्वलाई अभिवृद्धि गर्न हरबखत सरकार क्रियाशील रहेको बताए ।
सरकारले मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको उपलक्ष्यमा मानवअधिकारको क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई उच्च कदर गर्ने उद्देश्यले मानवअधिकारको सम्मान, संरक्षण र सम्बद्र्धनमा उल्लेख्य योगदान पु¥याउने व्यक्ति र संस्थालाई मानवअधिकार पुरस्कार प्रदान गर्न थालेको पनि उनले जानकारी दिए । सम्ममानित व्यक्ति र संस्थालाई बधाई ज्ञापन गर्दै मन्त्री कार्कीले मानवअधिकारको सम्मान, संरक्षण तथा प्रवर्द्धनलाई संस्कृतिको रुपमा विकास गर्न सबैको सक्रिय योगदानको अपेक्षा गरे ।
कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले अक्षयकोष नै स्थापना गरी विसं २०७८ देखि मानवअधिकारको सम्मान संरक्षण र सम्बद्र्धनमा उल्लेखनीय योगदान पु¥याउने एक व्यक्ति र एक संस्थालाई पुरस्कार दिन सुरु गरेको छ । सोही क्रममा आज सरकारले यस वर्ष संस्थातर्फ आश्रमलाई र व्यक्तितर्फ प्राडा श्रेष्ठलाई पुरस्कृत गरेको हो ।
यस वर्ष (विसं २०७९) मा मानवअधिकार पुरस्कार प्रदान गर्न सार्वजनिक सूचनाअनुसार प्राप्त आवेदनको मूल्याङ्कन गरी विज्ञको सिफारिसको आधारमा उक्त पुरस्कार प्रदान गरिएको मन्त्रालयका सचिव उदयराज सापकोटाले जानकारी दिए ।
उनका अनुसार ‘मानवसेवा आश्रम (काठमाडौँ) लाई सडकपेटी तथा अन्य सार्वजनिकस्थलमा परित्यक्त, असहाय, असमर्थ, बेवारिसेरुपमा रही अत्यन्तै कष्टपूर्ण जीवनयापन गरिरहेका व्यक्तिको उद्धार, उपचार परामर्श लापनपालन संरक्षण र त्यस्ता व्यक्तिको शव सद्गद तथा व्यवस्थापनलगायत कार्य गरी मानवअधिकारको संरक्षणमा पु¥याएको योगदानका लागि मानवअधिकार पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।
यस्तै, सरकारले लामो समयदेखि मानवअधिकारका विभिन्न विधामा अध्ययन, अनुसन्धान, अध्यापन, लेख, रचना प्रकाशन, मानवअधिकारको प्रवर्द्धन, पैरवी, संरक्षणमा निरन्तररुपमा पु¥याएको योगदानको कदर गर्दै व्यक्तितर्फ प्रा डा श्रेष्ठलाइ उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको सचिव सापकोटाले बताए ।
विसं २०६९ मा स्थापना भएको आश्रमले हालसम्म सडकबाट झण्डै आठ हजार मानिसको उद्धार गरिसकेको छ । झण्डै एक हजार व्यक्तिलाई उनकै परिवारमा पुनर्मिलनसमेत गराइसकेको छ । हाल काठमाडौँलगायत १९ जिल्लामा रहेका २३ शाखा कार्यालयबाट सेवा दिइरहेको आश्रममा एक हजार छ सय आश्रित रहेका सम्मान समारोहमा आश्रमका सचिव तथा प्रवक्ता सुमन बर्तौलाले जानकारी दिए ।
उनले विसं २०८२ सम्म मुलुकका सडकपेटीमा यस्ता बेसहारा तथा वेवारिसे व्यक्ति नरहने अवस्था निर्माण गर्ने लक्ष्यका साथ काम गरिरहेकाले उक्त अभियानलाई सबैको साझा अभियान बनाउनुपर्ने आवश्यकता औँल्याए ।
सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मानवअधिकारवादी प्राडा श्रेष्ठले यो सम्मान आफ्नो नभई समग्र मानवअधिकार आन्दोलन र नागरिक समाजको सम्मान भएको बताए । मानवअधिकार विश्वव्यापी विस्तार, विकास र परिस्कृत हुँदै गएको बताउँदै उनले नेपालमा अझै मानवअधिकार प्रवर्द्धनको खाँचो रहेको औँल्याए । रासस
प्रतिक्रिया