न्यूयोर्क । द गुरुङ (तमु) सोसाइटी अमेरिकाले गुरुङ तमु जातिको महान् पर्व ल्होछार २०७९ विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाउँदै छ । यो वर्ष तो ल्हो अर्थात बाघ वर्गको बिदाइ र हि ल्हो अर्थात बिरालो वर्गको स्वागत गर्दै यही डिसेम्बर २३ तारिखका दिन ल्होछार मनाउन लागेको द गुरुङ (तमु) सोसाइटीका अध्यक्ष तोरण गुरुङले जानकारी दिए ।
गुरुङहरुले हरेक वर्ष पुष १५ लाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । ल्होको अर्थ वर्ग (वर्ष) र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने चलन छ । तमु जातिले वर्गको आधारमा उमेर गणना गर्छन् ।
गुरुङ जातिको भाषा, लिपी, धर्म, संस्कार, संस्कृति, भेषभुषा, परम्पराको संरक्षण गर्न र पहिचान जोगाउनको लागि सोसाइटीले ल्होछार वार्षिक रुपमा मनाउँदै आएको बताउँदै अध्यक्ष गुरुङले गुरुङ समुदायका सम्पूर्ण बुबा आमा दाजुभाइ तथा दिदी बहिनीहरुलाई आप्नो छोराछोरीहरु सहित ल्होछारमा सहभागी हुन र कार्यकम सफल बनाउन अनुरोध गरे ।
अध्यक्ष गुरुङले भने, यो विदेशी भूमीमा ल्होछार मनाउँदा, नयाँ पुस्तालाई हाम्रो संस्कार, संस्कृति, अस्तित्व र पहिचानका बारेमा जानकारी दिने महत्वपूर्ण पर्वसँगै सम्पूर्ण गुरुङ जातिलाई एकताको सुत्रमा बाँध्ने महत्त्वपूर्ण अवसर पनि हो । आजका युवा भोलिका कर्णधार भन्ने मूल नाराका साथ युवाहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यले युवाहरुलाई ल्होछारमा स्वयंसेवकको रुपमा सहभागी गराउँदै आएको सोसाइटीले जनाएको छ ।
न्यूयोर्क र न्यूजर्सीमा बसोबास गर्ने गुरुङ जातिले हरेक वर्ष ल्होछार मनाउँदै आए पनि कोभिडका कारण २०२० मा भने भर्चुअल रुपमा ल्होछार आयोजना गरिएको थियो ।
गुरुङ जातिले विभिन्न १२ ओटा जीव जन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होछार मनाउँदै आएको छ । गुरुङ सोसाइटीले सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ न्यूयोर्कमा ल्होछार पर्व मनाउँदै आएको छ ।
सोसाइटीले आफ्नो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागि सन् २००१ मा न्यु योर्क सिटीमा विधिवत् रूपमा संस्था दर्ता गरी हरेक वर्ष पौष १५ मा ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आइरहेको छ । पुष १५ सबै भन्दा लामो रात र छोटो दिन हुने साथै हेमन्त ऋतु अन्त्य भइ शिशिर ऋतु शुरु हुने भएकोले पनि यो दिनको विशेष महत्त्व रहेको छ ।
न्यूयोर्कमा ल्होछारको यो २३ औं संस्करण हो । ल्होछार पर्वले, गुरुङहरूको संस्कृतिलाई जगेर्ना गर्न, प्रवर्धन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तराष्ट्र्रिय स्तरमा चिनाउन पनि बर्सेनि तमु ल्होछार मनाउँदै आएको सोसाइटीले जनाएको छ ।
कार्यक्रममा विभिन्न गुरुङ जातिको मौलिक संस्कृति झल्कने नृत्य सोरठी, कौडा, लगायत विभिन्न सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिने आयोजकले जनाएको छ । विगतमा सामुहिक रुपमा भेला भएर स्यो कै वनभोज खाएर ल्होछार पर्व मनाउँदै गरिन्थ्यो ।
ल्होछार पर्वलाई राष्ट्रिय पर्वको रुपमा नेपाल सरकारले दिँदै आएको सार्वजनिक बिदा कटौती गरेकोप्रति विश्वका सम्पूण गुरुङहरुले विरोध गर्दै सार्वजनिक विदा कायम गर्न माग गर्दै आएको छ । पुष १५ विश्वभरिका गुरुङहरुले विभिन्न कार्यक्रम गरी ल्होछार मनाउँदै आएका छन् ।
प्रतिक्रिया