ड्यालस (टेक्सस)- नेपाली दुतावास वासिंगटन डिसीको आयोजनामा टेक्ससको ड्यालसमा आयोजना गरिएको घुम्ती शिवीरबाट पाँचसय १६ जनाले सेवा लिएका छन् ।
बिहीबारदेखि सुरु भएर शनिबार सम्पन्न शिविरमा ४ सय ३१ जनाले पासपोर्ट र ८७ जनाले एनआरएन परिचयपत्र बनाएका छन् । यस पटकको शिबीरमा उल्लेख्य रुपमा सहभागिता रह्यो ।
एनआरएन टेक्सस च्याप्टर र नेपाली समाज टेक्ससको समन्वयमा भएको शिबीरबाट पासपोर्टको म्याद सकिएकाले पासपोर्ट नविकरण र अमेरिकी नागरिकता लिएर एनआरएन कार्ड बनाउन चाहनेहरुले सेवा पाएका छन् ।
यो शिबीरमा भएको सहभागिताले अमेरिकाको दक्षिण पश्चिम क्षेत्रको लागि ड्यालसमा स्थायी कन्सुलेट कार्यालय नेपाल सरकारले राख्नुपर्ने अवस्था देखिएको च्याप्टर अध्यक्ष सोफिन थापाले बताए ।
नेपाली समाज टेक्ससका महासचिव सन्देश उप्रेतीले पनि स्थायी कन्सुलेट अफिस राख्न पहल गरिने र यस्तो शिबीर हरेक वर्ष आयोजना गर्नेगरि क्यालेण्डर राखिने बताए ।
कार्यक्रमलाई सफल बनाउन एनआरएन र एनएसटीका पदाधिकारीहरु निकै खटिएका थिए । कार्यक्रममा डिसी स्थित दुतावासबाट द्वितीय सचिव उत्तम घिमिरे, तृतीय सचिव राधारमण दुबे र अधिकृत कुमार श्रेष्ठ सहितको टोलीले सेवा प्रदान गरेको थियो ।
यस्तै शिबीर आईतबार र सोमबार टेक्ससको राजधानी अस्टिन र मंगलबार अमेरिकाको चौथो ठूलो शहर ह्युस्टनमा हुँदैछ ।
ड्यालसको समापन कार्यक्रममा नेपाली दुतावासका द्वितीय सचिव घिमिरेले कार्यक्रम व्यवस्थित रुपमा सम्पन्न गराएकोमा एनआरएन टेक्सस च्याप्टर र एनएसटीलाई धन्यवाद ज्ञापन गरे । घिमिरेले यस्तो कार्यक्रम नियमित रुपमा गर्ने वचन समेत दिए ।
त्यस अवसरमा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्ले, एनअारएन च्याप्टर अध्यक्ष सोफिन थापाले अागामी दिनमा सुधारहरू गर्दै प्रभावकारी सेवा दिने बताए ।












प्रतिक्रिया