न्यूयोर्क (अमेरिका) । नेपाली उत्पादनको व्यापार बिस्तारका लागि नेपाली महाबाणिज्यदूतावास न्यूयोर्कले एनआरएन न्यूयोर्क च्याप्टरको सहकार्यमा कार्यक्रम सम्पन्न गरेको छ ।
महावाणिज्यदूतावास न्यूयोर्कले गैरआवासीय नेपाली संघ अमेरिका, न्यूयोर्क च्याप्टरसँगको सहकार्य र स्थानीय नेपाली उद्यमी, व्यवसायी तथा संघसंस्था लगायतको सहभागितामा शनिबार न्यूयोर्कमा “नेपाली उत्पादन, मौलिक परिकार तथा पर्यटन प्रवर्द्धनमा गैरआवासीय नेपाली समुदायरव्यवसायीको भूमिका” विषयक अन्तर्क्रिया आयोजना गरेको हो ।
कार्यवाहक महावाणिज्यदूत बिष्णु गौतमले अतिथिलाई स्वागत गर्दै नेपाल र अमेरिकाबीच रहेको मैत्रीपूर्ण र सुमधुर कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ पार्न जनस्तर र व्यवसायस्तरका सम्बन्धको महत्वपूर्ण भूमिका हुने विचार राखेका थिए । दुईदेशबीचको कूटनीतिक सम्बन्धको पचहत्तरौं बार्षिकोत्सबको प्रसंग उठाउँदै गौतमले नेपाल र अमेरिकाबीचको व्यापार, पर्यटन, शैक्षिक तथा सांस्कृतिक आदानप्रदान अझ बृद्धिगर्न नेपाली व्यवसायी, शैक्षिक संस्था, नेपालका मित्र अमेरिकी नागरिक, पर्यटक, तथा गैरआवासीय नेपाली समुदायको संजाल निकै प्रभावकारी हुनसक्ने विचार राखे ।

एनआरएनए न्यूयोर्क च्याप्टरका तर्फबाट उपाध्यक्ष शोभाकान्त पाण्डेले अतिथिलाई स्वागत गर्दै महत्वपूर्ण विषयको कार्यक्रममा नेपाली महावाणिज्यदूतावाससंग सहकार्य गर्न पाउँदा खुसी लागेको विचार व्यक्त गरे । उनले गैरआवासीय नेपालीको मातृभूमीसँग निकट र भावनात्मक सम्बन्ध रहेको र नेपाल सरकारले देशको आर्थिक सम्बृद्धिका लागि एवम् नेपाली बस्तु निर्यात तथा पर्यटन प्रवर्द्धनका लागि चालेका कदममा गैरआवासीय नेपाली समुदायको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
अमेरिकामा विभिन्न नेपाली बस्तुको आयात, बजारीकरण, विक्रिवितरण, तथा पर्यटन र परिकार प्रवर्द्धनमा सक्रिय अनिल रौनियार, लिंकन एभरेष्ट, सुमित अग्रवाल, निश्चल बांस्कोटा, दुर्गेशजंग कार्की, मनीष कर्ण र साङ्गदोर्जे शेर्पा गरी सात व्यवसायीद्वारा प्रस्तुतीकरण गरिएको थियो।
प्रस्तुतीकरणमा नेपालको प्रवर्द्धनका लागि आ(आफ्ना तर्फबाट भइरहेका प्रयास, अवशर र चुनौती तथा नेपालमा स्थानीय स्तरमा उत्पादित बस्तुदेखी लिएर अन्य बस्तु निर्यात संजालमा जोड्न, जिएसपी नवीकरण, भंसार सुविधा, बजारीकरण र नेपाली बस्तुको गुणस्तर कायम राख्न नेपाल सरकारको सहयोग आवश्यक रहेको धारणा व्यवसायीले राखेका थिए । नेपाली संघसंस्था तथा संचार जगतका सहभागीले विभिन्न सुझावसहित नेपाल सरकारको प्रयासमा आफ्नो सदैव साथ रहने कुरा व्यक्त गरे ।
कार्यक्रमको संचालन र मोडेरेशन वाणिज्यदूत गणेश अधिकारीले गरेका थिए ।

















प्रतिक्रिया