मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको जबर्जस्त प्रवेश, तीन ठूला दलको विरासत ढल्यो

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको जबर्जस्त प्रवेश, तीन ठूला दलको विरासत ढल्यो

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । सर्वाधिक चासो र चर्चामा रहेको चितवनका तीनवटै क्षेत्रमा तीन ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले विरासत जोगाउन सकेनन् । यसपटकको निर्वाचनमा धेरैको आँकलनविपरीत नतिजा आएको छ ।
 
आइतबार सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी नयाँ शक्तिका रूपमा उदाएको मात्र छैन । उसले कांग्रेस र एमालेको किल्ला नराम्रोसँग हल्लाइदिएको छ । जसका कारण ठूला र स्थापित भनिएका दलहरुलाई नराम्रोसँग झस्काउनुको साथै आगामी दिन उनीहरुका लागि निकै चुनौतीपूर्ण हुने देखिएको छ ।
 
चितवनमा २०७४ सालको निर्वाचनमा क्षेत्र नं १ बाट एमालेका उमेदवार पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे र क्षेत्र नं २ मा एमालेकै उमेदवार कृष्णभक्त पोखरेल विजयी भएका थिए । कांग्रेसको किल्ला मानिएको क्षेत्र नं ३ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए । यसअघिको २०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका सभापति सुशील कोइराला भारी मतसहित विजयी भएका थिए ।
 
कांग्रेसको अन्तर्कलहका कारण यो क्षेत्र सधैँ विवादित बन्दै आएको छ । यस क्षेत्रमा प्रचण्डले चुनाव लड्ने चर्चा चले पनि कांग्रेसकै किचलोका कारण प्रचण्ड गोरखा क्षेत्र नं १ मा जान बाध्य भए । लोकतान्त्रिक वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का डा. भोजराज अधिकारीले टिकट पाए पनि उनका लागि पनि सो क्षेत्र फलदायी हुन सकेन । एकातर्फ विभाजित मतदाता र अर्कोतर्फ नयाँ अनुहारका उमेदवारलाई अगाडि सारेसँगै माओवादीभित्र पनि असन्तुष्टिको ज्वारभाटा उठेको थियो । त्यसमा बाधक बने कांग्रेसकै बागी उमेदवार दिनेश कोइराला ।
 
यसबाहेक भरतपुर महानगरको मेयरमा बागी उमेदवारी दिएका जगन्नाथ पौडेल अर्को चुनौतीका रुपमा आए । अन्ततः पौडेलले उमेदवारी निस्क्रिय पारे पनि त्यसको सकारात्मक प्रभाव गठबन्धनमा परेन । गठबन्धनका उमेदवारलाई कमजोर तुल्याउन एमालेले बागी उमेदवार कोइरालालाई सघाउने मौखिक सहमति गरेर आफ्नो उमेदवार रामप्रसाद न्यौपानेलाई मैदान खाली गर्न लगायो ।
 
चितवनमा राप्रपाका केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डे चुनावी प्रतिस्पर्धामा होमिए । यसअघि तीनपटक चुनाव लडेका पाण्डेले दुई पटक पराजय भोगे भने एकपटक चुनाव जितेका थिए । माडीलगायत क्षेत्र नं ३ का लागि विकासप्रेमी नेताको छवि बनाएका उनका लागि अहिले चुनाव जित्ने सुनौलो अवसर थियो । र, भारी मतान्तरका साथ उनले अग्रता बढाएका छन् । 
 
यो समाचार तयार पार्दासम्म क्षेत्र नं ३ मा विक्रम पाण्डेले २१ हजार १८० मत प्राप्त गर्दा डा. भोजराज अधिकारीले १३ हजार १२१ मत पाएका छन् । तेस्रो शक्तिका रुपमा स्वतन्त्र पार्टीका जिता बरालले ६ हजार ९७४ मत ल्याएकी छन् । 
 
जनताको आक्रोशसँगै रविको ओज
 
रवि लामिछाने राजनीतिमा प्रवेश गरेसँगै जनतामा एक किसिमको वैकल्पिक ऊर्जा थपियो । प्रमुख दलहरूका उमेदवारमाथि जनताकै विश्वास घट्दै गएपछि जनताले स्वतन्त्र पार्टीलाई नै वैकल्पिक शक्तिका रुपमा रोजे । जुन उनीहरुले प्रकट गरेको जनअभिमतबाट प्रष्ट भइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीलाई मत दिनेहरू पुरानै कांग्रेस, एमाले र माओवादीलाई भोट हाल्ने मतदाता हुन् । दलमा आवद्ध व्यक्तिहरु खुलेरै स्वतन्त्र पार्टीमा नलागे पनि उनीहरुले घण्टीमा भोट हालेर आफ्ना असन्तुष्टि र आक्रोश पोखेका छन् ।
 
कसैले पनि आफ्नो पार्टी त्याग गरेका छैनन् । तर, पार्टीका उमेदवारप्रति विश्वास नभएपछि विकल्पमा रहेको स्वतन्त्र पार्टीलाई जनताले मत दिएका हुन् ।
 
मतदाताको आशीर्वाद र रविको ओजपूर्ण व्यक्तित्वका कारण चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल निर्वाचित भएका छन् । उनले नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार ५८१ मतले पछि पार्दै निर्वाचित भएका हुन् ।
 
ढकालले ३४ हजार १८९ मत प्राप्त गर्दा पाण्डेले २६ हजार ६०८ मत प्राप्त गरे । नेपाली कांग्रेसका अर्थविद् डा.विश्वनाथ पौडेलले २४ हजार ९०९ मत प्राप्त गरेका थिए । यो क्षेत्रमा प्रमुख प्रतिस्पर्धी पाण्डे र डा. पौडेल थिए । दुवै हस्तीलाई पाखा लगाउँदै ढकालले इतिहास रचे । 
 
सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये तीन हजार छ सय २१ मत बदर भई ९१ हजार चार सय २० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।
 
यस्तै, क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा नेकपा (एमाले)का जगन्नाथ थपलिया विजयी भए । थपलियाले १७ हजार ६८८ र नेपाली कांग्रेसका क्षेत्रीय सभापतिसमेत रहेका किरणभूषण ओलीले १० हजार ७१२ मत प्राप्त गरेका थिए । यस प्रदेशमा ४३ हजार ८३६ मत खसेको थियो ।
 
यस्तै, क्षेत्र नं १ को प्रदेशसभा २ मा नेकपा (एकीकृत समाजवादी)का कृष्णप्रसाद खनाल विजयी भए । खनालले १५ हजार ५०७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रकाश खनाल ‘शैलेश’ले १४ हजार ७६८ मत प्राप्त गरेका थिए । यस प्रदेशमा ५१ हजार १३६ मत खसेको आयोगले जनाएको छ ।
 
चितवन क्षेत्र नं २ मा भारी मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने निर्वाचित भए । लामिछाने ३४ हजार २६४ मतान्तरका साथ निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । 
 
लामिछानेले ४९ हजार २६१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका छन् । सोही क्षेत्रमा नेकपा (एमाले)का कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा ८३ हजार ९५६ मत खसेको थियो । जसमा ३ हजार २५० बदर भएको थियो ।
 
प्रदेशसभाअन्तर्गत चितवन क्षेत्र नम्बर २(१) मा नेकपा एमालेका कृष्णप्रसाद सिलवाल विजयी भएका छन् । उनले एक हजार २४० मतान्तरले विजयी भएका हुन् । उनले १६ हजार पाँच सय मत प्राप्त गर्दा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उमेदवार माओवादी केन्द्रका घनश्याम दाहालले १५ हजार २६० मत प्राप्त गरेका छन् । 
 
राष्ट्रिय प्रजातन्त्र पार्टीका रुक्मागत पोख्रेलले पाँच हजार १९३ मत प्राप्त गरेका थिए । यस क्षेत्रमा ४३ हजार ९७ मत खसेको थियो । जसमा तीन हजार ५० मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 
यसैगरी, चितवन क्षेत्र नम्बर २(२) मा नेपाली कांग्रेसका उत्तम जोशीले अग्रता लिएका छन् । उनले १३ हजार ३०६ मत प्राप्त गर्दा एमालेका देवी ज्ञवालीले १२ हजार ७४४ मत प्राप्त गरेका छन् ।
 
यस्तै, चितवन क्षेत्र नं ३ (१) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरबहादुर तामाङ विजयी भएका छन् । तामाङले नेपाली कांग्रेसका प्राडा सूर्यकान्त घिमिरेलाई दुई हजार ८५७ मतले पछि पार्दै विजयी भएका हुन् । तामाङ १७ हजार आठ सय १३ मतका साथ प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।
 
उनको निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक वाम गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका प्राडा घिमिरेले १४ हजार ९५६ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का कृष्ण भुर्तेलले ११ हजार ६२३ मत पाएका छन् । क्षेत्र नम्बर ३ (१) मा ५० हजार २१२ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 
यस्तै, यस्तै चितवन क्षेत्र नं ३ (२) मा माओवादी केन्द्रका ठाकुर ढकाल १ हजार ९५५ मतका साथ अग्रता लिएका छन् । राप्रपाका उमेदवार रिना गुरुङले १ हजार ६६९ मत प्राप्त गरेकी छन् भने एमालेका सरस्वती विष्टले १ हजार २०१ मत पाएकी छन् ।