मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आचारसंहिता कार्यान्वयनमा आयोग दण्डात्मकतर्फ : आयुक्त डा तुलाधर

आचारसंहिता कार्यान्वयनमा आयोग दण्डात्मकतर्फ : आयुक्त डा तुलाधर


त्रिशूली । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि जारी गरिएको आचारसंहिता कार्यान्वयन गराउन आयोग दण्डात्मकतर्फ अघि बढेको निर्वाचन आयुक्त डा जानकीकुमारी तुलाधरले बताएकी छन् ।  
 
निर्वाचनको तयारीका सम्बन्धमा शुक्रबार नुवाकोटमा अनुगमनका लागि आएकी आयुक्त डा तुलाधरले आयोगमा हालसम्म आचारसंहिता उल्लङ्घनका २८ वटा उजुरी परेकामा त्यसमध्ये ११ जनालाई जरिवाना तिराएको जानकारी दिइन् । 
 
“आचारसंहिता उल्लङ्घनका घटनाको उजुरीमा स्पष्टीकरण सोधेर के भएको रहेछ भनेर बुझ्ने काम गरिन्छ”, उनले भनिन्, “चित्तबुझ्दो जवाफ नपाएमा कारबाही गरिने भएकाले यस निर्वाचनमा ११ जनालाई जरिवाना तिराउँदै निर्वाचनलाई निष्पक्ष बनाउन आयोग आचारसंहिता कार्यान्वयनमा कडारूपमा प्रस्तुत भएको छ ।”
 
शुक्रबारदेखि सुरु भएको स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घनको घटना वृद्धि हुनसक्ने भएकाले त्यसतर्फ आयोग थप चनाखो भएको उनको भनाइ छ । 
 
आचारसंहिता उल्लङ्घनको घटना रोक्नदेखि निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउनका लागि सहयोग पु¥याउन आयुक्त डा तुलाधरले सञ्चारकर्मीलाई आग्रह गरिन् । 
 
“सूचनाको सही सम्प्रेषण गर्नु सञ्चारकर्मीको जिम्मेवारी हो । आचारसंहिता उल्लङ्घनका घटनाका तथ्य बाहिर ल्याउन र मतदातालाई निर्वाचनप्रति जागरुक बनाउन सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुन्छ”, उनले भनिन् ।
 
आयुक्त डा तुलाधरका अनुसार गत स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मत खसेको थियो । उनले यही आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा ७५ प्रतिशत मतदान हुने लक्ष्य आयोगले लिएको बताइन् । रासस