मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन

मतगणना र मतपरिणामसम्बन्धी सूचना सहजीकरणबारे आयोगको निर्देशन


काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनको मतगणना र मतपरिणामसम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन छ बुँदे निर्देशन जारी गरेको छ । सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय गरेको आयोगले जनाएको छ ।
 
आयोगले प्रत्येक मतगणनास्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारका लागि सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउन र सो कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्न भनेको छ । 
 
यस्तै मतगणना कार्यको सुरुआतमा एकपटक वा पालो मिलाएर भिडियो तथा फोटो पत्रकारलाई गणनास्थलको दृश्य र तस्बिर लिन सक्ने गरी आवश्यक प्रबन्ध गर्न तथा मतगणनाको प्रत्येक घण्टामा प्राप्त मत परिणामलाई मतगणनामा रहेका कर्मचारी, दल, उम्मेदवार र प्रतिनिधिले एकीन गरी सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्न निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जानकारी दिए ।
 
मतगणना स्थलमा राजनीतिक दल र उम्मेदवारको सहमतिका आधारमा माइकङि वा डिस्प्ले वा अन्य माध्यमबाट मत परिणामको सूचना उपलब्ध गराउन निर्देशनमा भनिएको छ । आयोगले मतगणनाबारे आधिकारिकता पुष्टि नगरी गलत सूचना प्रवाह नगर्न नगराउन सबै सञ्चारमाध्यमलाई आग्रह पनि गरेको छ । रासस