मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

बोष्टनवासीले भावनात्मक एकता दर्शाउदै एकै स्वरमा भने

बोष्टनवासीले भावनात्मक एकता दर्शाउदै एकै स्वरमा भने

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्…
यी हातले सँधैसँधै नेपाल लेख्न पाइयोस्… 
 
माथीका यि हरफहरु देश भक्ती, मातृभूमिप्रतिको आघात प्रेम, नेपाल र नेपालीको अन्तरहृदयदेखि नै भलो चिताइएको मर्म स्पर्शी गीतको हो। चर्चित रचनाकार कालीप्रसाद रिजालको रचना र आलोक श्रीको संगीत रहेको बहुचर्चित यस गीतलाई, लोकप्रिय गायक रामकृष्ण ढकालले आफ्नो सुमधुर स्वर भरेर जीवन्त र कर्णप्रीय बनाएका छन्। शब्द, संगीत र स्वरको अनुपम संयोजन भएको यो गीत कतै बजेको सुन्दा वा कसैले गाएको सुन्दा, जो कोही सच्चा नेपाली, मातृभूमिप्रतिको मायाँले ओतप्रोत भइ भावनामा डुबेर गुनगुनाउदै  श्रध्दा अर्पण गर्न बाध्य हुन्छ।
 
यस्तै भयो गत नोभेम्बर १३ तारिख आइतबार, अमेरिकाको बोस्टन सहरमा। नेपालमा रहेको समता शिक्षा निकेतनद्वारा सञ्चालित सर्वसुलभ गुणस्तरीय शिक्षा अभियानका लागि सक्दो सहयोग जुटाउने अभियान अन्तर्रगत आयोजित कार्यक्रमको दौरानमा, सहभागीहरुले नेपाल र नेपालीप्रति सगौरव भावनात्मक एकता प्रदर्शन गरे। 
 
‘बृहत सुशोभन समारोह एवम् साँस्कृतिक साँझ’ नाम दिइएको कार्यक्रम, समता ग्लोबल सिनेट’को आयोजना तथा बोस्टनस्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटी र पशुपतिनाथ बुद्ध फाउन्डेशनको आतिथ्यतामा भएको थियो। 
 
कार्यक्रम स्थल आर्लिङ्गटन सिटीको 7 Medford street स्थित Regent Theatre नेपाली दर्शकहरुले भरिभराउ थियो। कार्यक्रम तालिका अनुसार आफ्नो प्रस्तुति दिने पालो आएपछि निकै उत्साहका साथ आफ्ना चर्चित गीतहरु पस्किएर माहोल तताउदै गरेका ढकालले जब ‘बिहान उठ्ने बित्तिकै …’ गीत गाए, तब मनोरञ्जनात्मक साँगीतिक माहोलले अर्कै मोड लियो। मन्त्रमुग्ध भएर नेपाल र नेपाली संझदै भावनामा डुबेका दर्शकहरुले ढकाललाई साथ दिदै मनैबाट नेपाल र नेपालीप्रति श्रध्दा अर्पण गर्न पुगे । र, मुखबाट एकै स्वरमा भने…
हिमाल देख्न पाइयोस् ……
नेपाल लेख्न पाइयोस्…
नेपाल भन्न पाइयोस् …
 
यति बेला साँगीतिक माहोल एकाएक देश भक्ति, मातृभूमिप्रतिको आघात प्रेम, नेपालीपन, नेपाल र नेपालीप्रतिको सद्भाव र अनेकता बिचको कदरयोग्य एकता प्रदर्शनमा परिणत भयो। हातमा नेपालको झण्डा लिएर फर्फराउदै दर्शकहरुलाई उत्साहित र उत्प्रेरित गरेर गायक ढकालले आफूसंगै गीत गाउन अनुरोध गरेपछि दर्शकहरुले पनि धक फुकाएर ढकालसंगै आफ्नो स्वर मिसाएका थिए। कार्यक्रम स्थल ‘जय नेपाल’ को आत्मीय एकताको भावनाले गुञ्जायमान हुन पुग्यो। र, कार्यक्र स्थल नेपाल र नेपालीमय बन्न पुग्यो।
यही कुरा नेपालमै भएको भए तुलनात्मक रुपमा त्यति धेरै महत्व र चर्चाको विषय बन्दैन थियो होला। तर, तन परदेशमा रहेर पनि मन भित्र भने नेपाल र नेपालीको माया साँचेर प्रदर्शित उक्त एकिकृत भावना, साच्चै मननयोग्य र कदरयोग्य रह्यो। कार्यक्रमका दौरानमा ढकालले मन पराउने हजार भेटिन्छन् …, ममा पनि जलन छ, तिमीमा पनि जलन छ…, मैले त बिन्ती बिसाको…लगायत आफ्ना चर्चित गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाए।
 
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको आयोजकलाई यो माहोलले निकै खुशी दिलाउदै थप उत्प्रेरित गरिरहेको थियो। 
 
कार्यक्रममा बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ स्वास्थ्यका कारण उपस्थित हुन सकेनन्। यद्यपि, उनले बोस्टनवासीका लागि भिडियो सन्देश पठाएर समता स्कूललाई सहयोग गर्न अपिल गरेका थिए। कार्यक्रममा समता शिक्षा निकेतनका संस्थापक उत्तम सञ्जेलले विद्यालयको बारेमा संक्षिप्त जानकारी दिएका थिए। उनले हालसम्म विद्यालय सहयोगी मनहरुकै सहयोगबाट सञ्चालन भइरहेको जानकारी दिनुका साथै सहयोगीहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा पनि सहयोगलाई निरन्तरता दिन अनुरोध गरे। कर्यक्रममा वरिष्ठ कलाकार तथा समता स्कूलका संरक्षक हरिवंश आचार्यले तन विदेशमा रहेर पनि मन नेपालमा रहेका नेपाली र नेपाल प्रेमीहरुले गरेको सहयोग र नेपाल र नेपालीप्रति दर्शाइएको मायाको प्रशंसा गरे। 
 
मनतव्य दिने क्रममा उनले नेपालको शैक्षिक अवस्था दयनीय रहेको र समग्र देश नै संकटको घडिबाट जुग्रिरहेकोप्रति इंकित गर्दै यसको प्रमुख जिम्मेवार राजनैतिक दलहरु नै रहेको जिकिर गरे। आचार्यले समता स्कूलले आर्थिक अवस्था कम्जोर भएका कारण शिक्षाबाट बन्चित हुन पर्ने अवस्था भएकाहरुलाई सर्वसुलभ(मासिक शुल्क एक सय रुपैया मात्र) गुणस्तरीय शिक्षा प्रदान गरी देशको समग्र विकासमा टेवा पुर्याउने पवित्र उद्देश्य लिएर अघि बढिरहेकाले आफूहरु(मह जोडी) पनि यस अभियानमा जोडिएको प्रस्ट्याए। समता स्कूललाई सक्दो सहयोग गर्न अनुरोध गर्दै उनले महत्वपूर्ण संन्देश समेटिएको मनोरञ्जनात्मक गीत गाएर नेपाली राजनितिको चिन्ताजनक अवस्था, राजनितिक दल तथा तिनका नेताहरुको चरित्रलाई व्यङ्ग गरेका थिए। समता ग्लोबल सिनेट, अमेरिकाका अध्यक्ष उत्तम गौली, नेपाल सुन्दरी शृङ्खला खतिवडाले सम्बोधन गरेको कार्यक्रममा आचार्यले अमुल्य संदेश बोकेको साझा बसमा जो पनि चड्दछ ……, हाम्री आमा सारै नै बाठी छिन् …, लगायत गीत गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए। 
कार्यक्रममा स्थानीय कलाकारहरुले पनि नेपाली गीत संगीतलाई सम्मान गर्दै आ-आफ्नो प्रस्तुति पस्किएर कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए। नारायण श्रेष्ठले उद्घोषणको भूमिका निर्वाह गरेको उक्त कार्यक्रम, साँझ ७ बजेबाट प्रारम्भ भइ बेलुका १०:१५ बजेसम्म सञ्चालन भएको थियो। कार्यक्रममा सहभागी हुने दर्शकहरुले कार्यक्रम निकै सभ्य र भव्य भएको प्रतिक्रिया दिएका छन्। ‘समग्रमा कार्यक्रम राम्रो लाग्यो। सामाजिक कार्यका लागि गरिएको कार्यक्रम सभ्य र भव्य थियो।’ कार्यक्रममा सहभागी अश्मिन अधिकारीले भने, ‘ कार्यक्रमको सामाजिक उद्देश्यको बारेमा अझ बढि प्रचारप्रसार गरिएको भए, थप प्रभावकारी हुने थियो। हरिवंश आचार्य र रामकृष्ण ढकालको प्रस्तुतिमा भरपुर मनोरञ्जन लिएँ।’ 
 
समता ग्लोबल सिनेट, अमेरिकाका अध्यक्ष उत्तम गौलीले कार्यक्रम निकै प्रभावकारी भएको प्रतिक्रिया दिदै कार्यक्रम सफल बनाउन प्रतक्ष्य अप्रतक्ष्य रुपमा योगदान पुर्याउने सबै व्यक्तित्वहरुलाई र दर्शकहरुलाई संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरे। उनले भने,’ कार्यक्रम उदेश्य अनुसार सफल भयो। हामी निकै उत्साहित छौं। सबैलाई धन्यवाद !’ 
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोप्रति निकै खुशी हुदै समता ग्लोबल सिनेट, अमेरिकाका सचिव कैलाश जंग डाँगीले पनि कार्यक्रमको उद्देश्य पुरा भएको प्रतिक्रिया दिए।’कार्यक्रम सभ्य र भव्य रुपमा गर्ने हाम्रो तयारी थियो। सोही अनुसार सम्पन्न पनि भयो। कार्यक्रमको उद्देश्य प्राप्त भएकोमा हामी निकै खुशी छौं।’उनले भने , ‘यो नितान्त सामाजिक काम हो। सबैले बुझेरै साथ सहयोग दिनु भयो। र, कार्यक्रम पनि सफल भयो।’सचिव डाँगीले अभियानमा साथ सहयोग गर्नु हुने सबैलाई आयोजकको तर्फबाट विशेष धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि आवश्यक साथ सहयोगको निरन्तरताका लागि अनुरोध गरे।
 
कार्यक्रममा समता सिनेटर बनेर समता शिक्षा अभियानमा जोडिएका २६ जना समता सिनेटरहरुलाई  सम्मान गरिएको थियो। नेपाल स्थित समता स्कूलको सहयोगार्थ ”सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस्” भन्ने मुल नाराका साथ अमेरिकाको १० प्रमुख सहरहरुमा आयोजना गर्ने गरी तय गरीएको यस कार्यक्रम, हालसम्म बोस्टन सहित न्युयोर्क, सिकागो, कोलम्बस र पिट्स्बर्गमा सफलतापूर्वक सम्पन्न भइसकेको छ भने, नोभेम्बर १८मा सेन्ट लुइस, नोभेम्बर १९ मा सान फ्रान्सिस्को, नोभेम्बर २०मा ड्यालस र नोभेम्बर २३ मा बाल्टिमोरमा हुदैछ।