मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

चुनावपछि सबै सुकुम्बासीको हातमा लालपुर्जा हुन्छ : उत्तम जोशी

चुनावपछि सबै सुकुम्बासीको हातमा लालपुर्जा हुन्छ : उत्तम जोशी


चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार उत्तम जोशीले भूमिहीन र अव्यवस्थित बसोबासीका लागि लालपुर्जा सधैँ चुनावी आश्वासन मात्रै हुनु दुःखद भएको बताएका छन् ।
 
शुक्रबार भरतपुर महानगरपालिका २ मा घरदैलोको क्रममा जोशीले यस्तो बताएका हुन् । उनले आफूले लालपुर्जालाई केबल चुनावी आश्वासन मात्रै नबनाउनेमा ढुक्क हुन आग्रह गरे ।
 
गठबन्धन सरकार आएपछि लालपुर्जा वितरण सुरु भएको भन्दै निर्वाचनपछि फेरि निरन्तरता पाउने उनले बताए । ‘सुकुम्बासीको ३० ४० वर्षदेखिको लालपुर्जाको जुन समस्या थियो अहिले हामीले गठबन्धनको सरकार आएपछि वितरण गरेका छौं । अब चुनावपछि सबैको हातमा लालपुर्जा हुन्छ’, जोशीले भने ।
 
उनले भूमिहीन सुकुम्बासीले लालपुर्जा पाउन फेरि गठबन्धनको सरकार आवश्यक रहेको बताए । उनले जनताले मत दिएर विजयी गराए भूमिहीन सुकुम्बासीका सबै समस्या समाधान गर्ने प्रतिबद्धता जनाए ।
 
लालपुर्जासँगै स्वास्थ्य, शिक्षा, खाने पानी, सडक र विद्युतको समस्या पनि समाधान गर्ने उनले प्रतिवद्धता जनाए । आफू निर्वाचित भएपछि जन चाहना अनुसार नै काम गर्ने उनको भनाइ थियो ।
 
उनले चितवन २ लाई पर्यटकीय गन्तव्यको रुपमा बिकास गर्ने बताए । केरुङ्गा घोल, डबकहा घोल, पुङ्गीखोलालगायतलाई व्यवस्थित गर्ने आफ्नो योजना रहेको उनले बताए । यस्तै जलदेवी सामुदायिक वन, जखडीमाई, गणेशस्थान, राइनो ताललगायतको क्षेत्रलाई समेटी धार्मिक सांस्कृतिक पर्यटन क्षेत्रको रुपमा बिकास गर्ने योजना रहेको उनले सुनाए ।
 
नेपाली कांग्रेसका जोशी मंसिर ४ मा हुने निर्वाचनका लागि लोकतान्त्रिक गठबन्धनबाट चितवन २ (ख) का साझा उम्मेदवार हुन् । गठबन्धनबाट प्रतिनिधि सभा चितवन २ मा कांग्रेसकै उमेश श्रेष्ठ र २ (क) मा माओवादी केन्द्रका घनश्याम दाहाल उम्मेदवार छन् ।