नेपालमा रहेको समता शिक्षा निकेतनद्वारा सञ्चालित ‘सर्वसुलभ गुणस्तरीय शिक्षा अभियान’का लागि सक्दो सहयोग जुटाउने हेतुले अमेरिकाको न्युयोर्कमा आयोजित ‘समता साँझ’ कार्यक्रममा घटेको घटनाप्रति आयोजकले गहिरो दु:ख प्रकट गरेको छ। गत नोभेम्बर ५ तारिखका दिन समता ग्लोबल सिनेट र आर के फाउण्डेसनको आयोजना तथा स्थानीय संघ संस्थाहरुको आतिथ्यतामा न्युयोर्क सहरको Woodhaven manor caters & Banquet,96-01 Jamaica Avenue, Woodhaven मा आयोजित बृहत सुशोभन समारोह एवम् समता साँझ कार्यक्रमको दौरानमा उक्त दुःखद घटना घटेको थियो।
यस सम्बन्धमा आयोजकले प्रेस वक्तव्य जारी गर्दै कार्यक्रमको दौरानमा वरिष्ठ कलाकार हरिवंश आचार्यलगायतको प्रस्तुति चलिरहेका बखत केहि व्यक्तिहरुले मन्चमै चडेर कलाकारहरुको प्रस्तुतिमा बाधा अवरोध गर्दै आयोजक माथि नै हातपात गर्नेसम्मको अशोभनीय, अमर्यादित र उशृंखल गतिविधिहरु गरेका कारण, केही बेर कार्यक्रम अवरुध्द हुन पुगेको जनाएको छ।
समता ग्लोबल सिनेटका वरिष्ठ उपाध्यक्ष तथा समता साँझ कर्यक्रमका संयोजक टिकाराज ढकालद्वारा जारी विज्ञप्तिमार्फत आयोजकले नेपाल स्थित समता स्कूललाई सक्दो सहयोग जुटाउने अभियान अन्तर्गत आयोजित सुखद सामाजिक कार्यक्रमका दौरानमा घटेको उक्त दुःखद घटना निन्दनीय भएको ठहर गर्दै घटनाको घोर भत्सना गरेको छ।विज्ञप्तिमा भनिएको छ, ‘ यस्तो सामाजिक उद्देश्य बोकेको कार्यक्रममा केही व्यक्तिहरुले प्रदर्शन गरेको अशोभनीय कार्य र उशृंखल गतिविधिप्रति हामी घोर भत्सना र निन्दा गर्न चाहन्छौं।’
आयोजकले कार्यक्रममा घटेको घटनालाई लिएर सत्य तथ्य बङ्ग्याइ भ्रम फिजाएर उल्टै आयोजकलाई दोषारोप गरिएकोप्रति चिन्ता व्यक्त गर्दै सत्य तथ्य समाचार प्रशारण र प्रकाशन गरिदिन हुन सम्पूर्ण सञ्चारमाध्यमहरुलाई अनुरोध समेत गरेको छ।
आयोजकले उक्त दुःखद घटनाका कारण पर्न गएको असुविधाप्रति सम्बन्धित सबैसंग क्षमा माग्दै आगामी दिनमा उक्त घटना घटाउने सम्बन्धीत व्यक्तिहरुबाट यस्ता निन्दनीय कार्यहरु नहुने अपेक्षा समेत गरेको छ। कार्यक्रम आयोजकले विज्ञप्ति मार्फत कार्यक्रममा सहभागिता जनाइ कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने सबैप्रति आभार प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर सहयोग, सद्भाव र मायाको अपेक्षा गरेको छ।
‘सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस्’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम, अमेरिकाको न्युयोर्क सहरसहित १० सहरमा आयोजना गरिदैछ। उक्त कार्यक्रमहरुमा समता शिक्षा निकेतनका संस्थापक उत्तम संजेल, वरिष्ठ कलाकार तथा समता शिक्षा अभियान्ताहरु द्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, लोकप्रिय गायक रामकृष्ण ढकाल, समता ग्लोबल सिनेटकी सद्भावना दूत रमिला आचार्यलगायतको सहभागिता रहेनेछ।












प्रतिक्रिया