बोस्टन (अमेरिका)- यति बेला अमेरिकाको बिभिन्न सहरहरुमा ‘बृहत सुशोभन समारोह एवम् साँस्कृतिक साँझ’ भैरहेको छ। नेपालमा रहेको समता शिक्षा निकेतनद्वारा सञ्चालित सर्वसुलभ गुणस्तरीय शिक्षा अभियानका लागि सक्दो सहयोग जुटाउने मुख्य ध्येयले यो कार्यक्रमको आयोजना गरिदैछ। नेपालमा गुणस्तरीय शिक्षालाई सर्बसुलभ बनाई राष्ट्रनिर्माणमा टेवा पुर्याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा स्थापित नाफारहीत संस्था ‘समता ग्लोबल सिनेट र कार्यक्रम आयोजना गरिने सहरहरुमा रहेका स्थानीय संघ संस्थाहरुको आतिथ्यतामा कार्यक्रम हुदैछ। अमेरिकाको न्युयोर्क सहरबाट सुभारम्भ भएको कार्यक्रम, थप प्रमुख ८ सहरहरुमा आयोजना गर्ने गरि तयारी भैरहेको छ।
यस अभियान अन्तर्गत नोभेम्बर ६मा सिकागो, नोभेम्बर ११मा कोलम्बस, नोभेम्बर १२मा पिट्स्बर्ग, नोभेम्बर १३मा बोस्टन, नोभेम्बर १८मा सेन्ट लुइस, नोभेम्बर १९ मा सान फ्रान्सिस्को, नोभेम्बर २०मा डालासमा र नोभेम्बर २३ मा बाल्टिमोरमा कार्यक्र सम्पन्न गर्ने गरी आवश्यक तयारीलाई तिब्रता दिइएको आयोजकले जनाएको छ।
यसै क्रममा, अमेरिकाको मासाच्युसेट्स राज्यको बोस्टन सहरमा पनि कार्यक्रमको तयारीलाई तिब्रता दिइरहिएको छ। कार्यक्रम तालिका अनुसार यहीँ आउदो नोभेम्बर १३ तारिख आइतवारका दिन आर्लिङ्गटन सिटीको 7 Medford street स्थित Regent Theatre मा कार्यक्रम गर्ने गरी आवश्यक तयारी गरिदैछ। समता ग्लोबल सिनेट’को आयोजना तथा बोस्टनस्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटी र पशुपतिनाथ बुद्ध फाउन्डेशनको आतिथ्यतामा हुन गइरहेको समारोहलाई आयोजकले आफ्नो लक्ष्य प्राप्तिसहित ऐतिहासिक बनाउन आवश्यक तयारीमा कुनै कसर बाँकी नराख्ने गरी काम गरिरहेको जनाइएको छ।
यत्रतत्र नेपाली/गैर आवासीय नेपाली समुदायका बिच कार्यक्रमको बारेमा चलिरेको सकारात्मक चर्चा परिचर्चाले निकै प्राथमिकता पाइरहेको छ। यसो हुनुमा कार्यक्रमको मूल उद्देश्य र कार्यक्रमका मुख्य आकर्षकका रुपमा रहेका ‘मह’ जोडि वरिष्ठ कलाकार, समाज सेवी, समता निकेतनका संरक्षक तथा समता शिक्षा अभियान्ताहरु द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, समता शिक्षा निकेतनका संस्थापक उत्तम संजेल, समता ग्लोबल सिनेटकी सद्भावना दूत रमिला आचार्य, लोकप्रिय गायक रामकृष्ण ढकाललगायतको सहभागिता नै हो। यही मौकामा समता शिक्षा अभियानलाई सहयोग जुटाउने अभियान लिएर अमेरिका दौडाहामा रहेका यि अभियान्ताहरुसंग साक्षात्कार गर्दै साङ्गीतिक माहोलमा रमाउदै समता शिक्षा अभियानमा जोडिन आतुर छन् बोस्टनवासी नेपाली समुदाय।
यस सम्बन्धमा बोस्टनवासी कल्पना अधिकारीले आफू, आफ्नो परिवार र चिनेजानेका साथीहरु कार्यक्रमको तिब्र प्रतिक्षामा रहिरहेको बताइन्।कार्यक्रममा सहभागिता जनाउन टिकट खरिद गरिसकेको बताउदै अधिकारीले भनिन्, ‘कार्यक्रमको उद्देश्य राम्रो छ। पवित्र छ।र, कार्यक्रममा प्रस्तुति दिने कलाकार ‘मह’ जोडि र रामकृष्ण ढकाल मलाई अति मन पर्ने कलाकार भएकाले उहाँहरुको सम्मानका लागि पनि कार्यक्रममा जान आतुर छु।’ कार्यक्रममा सहभागिता जनाउदा स्रष्टाहरुको पनि सम्मान हुने, समता स्कूललाई पनि केही सहयोग पुग्ने र मनोरञ्जन पनि हुने भएकाले आफू उत्साहित भएको भन्दै अधिकारीलेअरुलाई पनि सहभागी हुनु आग्रह गरिन्।
कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र लोकप्रिय गायक रामकृष्ण ढकालले नेपालदेखि बोस्टनवासीका लागि लेराएको साङ्गीतिक कोसेलीहरु पस्किने छन् भने, स्थानीय कलाकारहरुले पनि उनिहरुसंगै तालमेल मिलाएर आफ्नो कला प्रस्तुत गर्दै सहभागिहरुलाई भरपूर मनोरञ्जन दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएका छन्।

ग्रेटर बोस्टन नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष मिलन कुमार कार्कीले नेपालको शैक्षिक क्षेत्रमा सहयोग गर्ने यो सुवर्ण अवसर भएको जिकिर गर्दै आफू पनि कार्यक्रम सफल बनाउन सक्दो लागिपरिरहेको र समता सिनेटर बनेको बताए। समता स्कूलले नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, अभियान्ताहरुको पृष्ठभूमि र उहाँहरुले खेलेको भूमिकाहरुले आफ्नो मन जितेका कारण समता सिनेटर बनेको उनको भनाइ छ। ‘नेपालको शिक्षामा समता स्कूलको योगदान कदरयोग्य छ। त्यसमा पनि ‘मह’ जोडि जस्तो पूजनीय व्यक्तित्वहरु यस अभियानका अगुवा भएकाले आफूलाई पनि जोडिन मन लाग्यो,’ कार्कीले भने, ‘मेरो बुझाइमा अमेरिकामा रहेका नेपाली र नेपालप्रेमीहरुका लागि, नेपाल र नेपालीलाई सहयोग गर्ने यो महत्वपूर्ण र सूवर्ण अवसर हो। त्यसैले उत्साहित भएर अवसरको सदुपयोग गरी समता सिनेटर बनेको हुँ। र, अरुलाई पनि नहिच्किच्याई, विलम्ब नगरी सिनेटर बन्नु हुन अनुरोध गर्दछु।’
सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् (Be a senator, contribute to nation building)” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रममा, समता सेनेटर बन्नेहरुलाई सुशोभनका साथ सम्मान गरिने छ। आयोजकका अनुसार हालसम्म मासाच्युसेट्स राज्यबाट १३ जना समता सिनेटर बनिसकेका छन् भने, अमेरिका भरीबाट ८६ जना सिनेटर बनिसकेका छन्। अरु पनि थपिने प्रक्रियामा रहेको जनाइएको छ।
कार्यक्रमको उद्देश्य अनुसार कार्यक्रम सफलतापूर्वक सम्पन्न हुनेमा आयोजक ठुक्क रहेको छ। कार्यक्रमको तयारीका सम्बन्धनमा जानकारी दिदै कार्यक्रम संयोजक तथा समता सिनेटर ठाकुर ज्ञावालीले भने, ‘कार्यक्रमको तयारी लगभग अन्तिम अवस्थामा पुगेको छ। हामी जोडकातोड तयारीमा जुटिरहेका छौं’ । कार्यक्रमलाई सफल बनाउन आवश्यक तयारीका क्रममा बोस्टनवासी नेपाली समुदायहरु र संघ संस्थाहरुले अहम भूमिका खेलिरहेकोप्रति कृतज्ञता प्रकट गर्दै संयोजक ज्ञावालीले बोस्टनवासीलाई आफ्नो इतिहास रच्न पाउने मौकामा नछुट्न र नचुक्न आव्हान गरेका छन्। ‘ यो हाम्रो इतिहास रच्ने अवसर हो।त्यसैले सबैले सक्रिय सहभागिता जनाऔं ! कोही नछुटौं ! कोही नचुकौं !’
आयोजकले कार्यक्रममा सहभागिता जनाउन इच्छुकहरुलाई सहयोग स्वरुप १०० डलर र ५० डलर दरका टिकटको व्यवस्था गरेको छ। टिकट अनलाइनबाट र भौतिक टिकट विक्रेताहरुबाट पनि खरिद गर्न सकिने छ। संयोजक ज्ञवालीका अनुसार लक्ष्य गरिए अनुसार विक्रीका लागि टिकट वितरण भैसकेको र हालसम्म ५० प्रतिशत भन्दा बढि टिकट बिक्री भैसकेको छ। कार्यक्रममा सहभागिता जनाउन इच्छुकहरुको सुविधालई ध्यानमा राखी आयोजकले नारी स्टोर, बम्बाइ मार्केट, जुजु म:म रेष्टुरेन्ट एण्ड बार, साथी कन्भेनियन्ट स्टोरलगायत स्थानहरुबाट पनि टिकट विक्री गर्ने व्यवस्था मिलाइएको छ।












प्रतिक्रिया