अमेरिका- नेपालमा रहेको समता शिक्षा निकेतनलाई आर्थिक सहयोग जुटाउन, बृहत अभियान लिएर समता शिक्षा अभियान्ताहरुको टोली अमेरिका भित्रिएको छ। अभियान्ताहरुको टोली सोमबार अमेरिकाको न्यु योर्क सहर आइपुगेको हो। टोलीमा समता शिक्षा निकेतनका संस्थापक तथा समता शिक्षाका अभियान्ता उत्तम सञ्जेल, बरिष्ठ कलाकार तथा समता शिक्षा निकेतनका संरक्षक हरिबंश आचार्य र समता ग्लोबल सिनेटकी सद्भावना दुत रमिला आचार्य रहेका छन्।
बरिष्ठ कलाकार तथा समता शिक्षा निकेतनका संरक्षक मदनकृष्ण श्रेष्ठ र लोकप्रिय गायक रामकृष्ण ढकाल भने यस अघि नै अमेरिकामा आइसकेका छन्। टोलीलाई समता ग्लोबल सिनेटका अध्यक्ष उत्तम गौली, बरिष्ठ उपाध्यक्ष टिका ढकाल, समता सिनेटरहरु शंकर भण्डारी, विकास खरेल, पारस खरेल, विश्व बास्तोलालगायतको टोलीले स्वागत गरेको थियो।
यस सम्बन्धमा जानकारी दिदै कार्यक्रम आयोजक संस्थाका अध्यक्ष गौलीले समता शिक्षा अभियान्तहरुलाई अमेरिकामा स्वागत गर्न पाँउदा साह्रै खुशी लागेको प्रतिक्रिया दिए। उनले भने, ‘हामी उहाँहरुलाई स्वागत गर्न पाउदा निकै हर्षित छौं।यस क्षणले कार्यक्रमलाई प्रभावकारी बनाउन हामीलाई थप उर्जा र उत्साह मिलेको छ। कार्यक्रम हुने विभिन्न स्थानहरुका साथीहरु र दर्शकहरु पनि निकै उत्साहित छन्। कार्यक्रमलाई अभियानको उद्देश्य अनुसार सफल बनाउन हरसम्भव कुनै कसर बाँकी राखिने छैन।’

कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न आश्यक तयारीमा सबै जुटिरहेको बताउदै अध्यक्ष गौलीले समता सिनेटर बनेर र कार्यक्रममा सहभागी भएर समता शिक्षा अभियानमा जोडिन सबैलाई आव्हान गरे।
अभियान्ताहरुको टोलीले समता शिक्षा निकेतनलाई आर्थिक सहयोग जुटाउने मुख्य उद्देश्यले अमेरिकाको बिभिन्न सहरहरुमा हुन गइरहेको ‘बृहत सुशोभन समारोह एवम् साँस्कृतिक कार्यक्रम’मा सहभागिता जनाउने छ।
नेपालमा गुणस्तरीय समता शिक्षालाई सर्वसुलभ बनाइ राष्ट्रनिर्माणमा टेवा पुर्याउने प्रमुख उद्देश्यका साथ अमेरिकामा स्थापित नाफारहित संस्था ‘समता ग्लोबल सिनेट’को आयोजना र अमेरिकास्थित नेपाली समुदायका विभिन्न संघ संस्थाहरुको आतिथ्य तथा सहयोगमा, अमेरिकाको विभिन्न दश वटा सहरहरुमा ‘बृहत सुशोभन समारोह एवम् साँस्कृतिक कार्यक्रम’ हुन गइरहेको छ। कार्यक्रम तालिका अनुसार नोभेम्बर-५ तारिखमा अमेरिकाको न्युयोर्कबाट अभियान सुभारम्भ हुदैछ। त्यसैगरी, नोभेम्बर-६मा सिकागो, नोभेम्बर-११मा कोलम्बस, नोभेम्बर-१२मा पिट्स्बर्ग, नोभेम्बर-१३मा बोस्टन,नोभेम्बर-१८मा सेन्ट लुइस, नोभेम्बर-१९ मा सान फ्रान्सिस्को, नोभेम्बर-२०मा डालासमा र नोभेम्बर-२२मा बाल्टिमोरमा कार्यक्र सम्पन्न गर्ने गरी आवश्यक तयारी गरिएको छ।

”सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् (Be a senator, contribute to nation building)” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त बृहत सुशोभन समारोह एवम् साँगीतिक कार्यक्रममा, अमेरिकामा रही समभावले समता शिक्षा अभियानमा जोडिएका समता सिनेटरहरुलाई सम्मान गरिने भएको छ। हालसम्म ५५ जना समता सिनेटर बनिसकेको र यस वर्षको अन्तसम्ममा सिनेटर बन्नेको संख्या दुइसय पुग्ने संस्थाले अपेक्षा गरेको छ। समता शिक्षा अभियान्ताहरुले अमेरिकामा रहेका
शिक्षाप्रेमी, समाजसेवी तथा नेपालप्रेमीहरुलाई ‘समता सिनेटर’ बनेर समता शिक्षा अभियानमा हातेमालो गर्न सबैलाई आव्हान समेत गरेका छन्।
संस्थाका अनुसार, इच्छुकहरुले समता सिनेटरको उपाधि पाउनका लागि एक हजार अमेरिकी डलर शुल्कसहित रितपूर्वक निवेदन दिनु पर्नेछ। र, संस्थाको समभावप्रतिको निवेदकको प्रतिबद्धता प्रमाणित हुनु पर्नेछ। समता सिनेटरको उपाधि दिने वा नदिने निर्णय भने संस्थाद्वारा गठित शिक्षाप्रेमीहरुको एक स्वतन्त्र समितिले गर्नेछ।

आयोजकले दिएको जानकारी अनुसार उक्त समारोहमा मनोरञ्जनात्मक बेजोड विविध सांस्कृतिक कार्यक्रम पनि हुनेछ। जसमा समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार द्वय ‘मह’ जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र लोकप्रिय गायक रामकृष्ण ढकालले बेजोड साँगीतिक खुराक पस्कने छन् भने, कार्यक्रम हुने सहरहरुमा रहेका स्थानीय कलाकारहरुले पनि आ-आफ्नो कला प्रस्तुत गर्ने छन्। कार्यक्रमबाट बचेको रकम भने समता शिक्षा निकेतनका बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि प्रदान गरिने आयोजकले जनाएको छ।
बृहत सुशोभन समारोह अन्तर्गत नोभेम्बरको ५ तारिखका दिन न्यु योर्कमा हुने पहिलो कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको समता ग्लोबल सिनेटका बरिष्ठ उपाध्यक्ष टिका ढकालले जानकारी दिए। उनले भने, ‘हामी तयारीको अन्तिम चरणमा छौं। कार्य विभाजन अनुसार कार्य भैरहेको छ। कार्यक्रम पूर्ण रुपमा सफल हुन्छ भन्नेमा हामी विश्वस्त छौं।’ वरिष्ठ उपाध्यक्ष ढकालले कार्यक्रममा सहभागिता जनाइ भरपूर मनोरञ्जन लिने र समता सिनेटर बनेर समता शिक्षा अभियानमा जोडिने अवसर नगुमाउन न्यु योर्कवासी नेपाली समुदायलाई अनुरोध समेत गरेका छन्।
समता शिक्षा निकेतनको समता शैक्षिक अभियान, यस संस्थाका संस्थापक तथा सर्वसुलभ समता शिक्षाका अभियान्ता-उत्तम सञ्जेलको सक्रिय अगुवाइमा आजभन्दा २१ वर्ष अघि २०५८ सालमा काठमाण्डौं जोरपाटीको नयाँ बस्तीबाट प्रारम्भ भएको हो। संस्थाले विद्यार्थीहरुलाई प्रति विद्यार्थीबाट मासिक एक सय रुपैयाँ मात्र लिइ सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गरेर शैक्षिक क्षेत्रमा अमुल्य योगदान पुर्याउदै आइरहेको छ। हाल यस संस्थाले नेपालको ७७ जिल्लामा ८१ वटा विद्यालयहरु सञ्चालन गरिरहेको छ। यसका अलावा संस्थाले आफ्नो अभियानलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यका साथ भारत, श्रीलंका र बंगलादेशमा समेत आफ्नो शाखा बिस्तार गरेको छ। अन्य देशहरुमा पनि पुग्न आवश्यक पहल गरिरहेको छ। समता शिक्षा निकेतनले २०६६ देखि उच्च माध्यमिक तह र २०७२ देखि स्नातकोत्तर तहको पठनपाठनसमेत सञ्चान गरिरहेको छ।








प्रतिक्रिया