विचार / ब्लग

डेमोक्रेट रोज्ने कि रिपब्लिकन

प्रजातन्त्रका लागि चुनौतियुक्त डोनाल्ड ट्रम्प

प्रकाशित |
मुख्य विषयमा प्रवेश गर्नु अघि पहिले दुईवटा प्रसंग ।

केही दिन पहिले ड्यालसमा सामाजीक कार्यपछिको एउटा भोज कार्यक्रम थियो । भोजमा राजनीतिक चर्चा त स्वभाविक भैहाल्यो । नेपालीहरु धेरै भएको भोज, जमघटमा नेपालकै राजनीतिका विषयमा उसै पनि ज्यादै वहश हुन्छ । त्यसमाथि अहिले नेपालमा चुनावी मौसम छ । यहाँ बस्ने कसै न कसैका परिवारका सदस्यहरु, आफन्तहरु, साथीभाई उम्मेदवार भएपछि त झनै घतीभूत छलफल हुने नै भयो ।
 
नेपालको राजनीतिको वहश सकिएपछि एकजनाले कुरा निकाले । ‘यहाँ अमेरिकामा पनि चुनाव हुँदैछ क्यार । कहिले हो साँची ?’ अमेरिका बसेको एक दशक नाघिसकेका उनलाई अमेरिकी चुनावको तिथिमिति समेत पत्तो नरहेको अनुमान मैले गरिहाले ।
 
‘भोट त रिपब्लिकनलाई नै हाल्ने हो म चाँही । हामी व्यबसायीका लागि रिपब्लिकनले बढ्ता हेर्छ । डेमोक्रेट पार्टी सत्तामा आयो भने त व्यापारमा कर बढाउँछ’ अर्का अलिक जान्ने सुन्ने हुन खोज्नेले बीचैमा बोले । रिपब्लिकनको सरकार भएकै कारण टेक्सस राज्यमा व्यापार सजिलो भएको भन्ने उनको बुझाई रहेछ ।
 
भोजमा समावेश केहीले उनको कुरामा सही थापे । केहीले जुन पार्टीको सरकार भएपनि अमेरिकामा काम गर्ने वर्गलाई फरक नपर्ने तर्क गरे । कोहीले जो डोनाल्ड ट्रम्पले ध्वँस्त पारेको अमेरिकाको छवी जो बाइडेनले लयमा फर्काएको दावी गरे । केहीले भने आफू अमेरिकी पासपोर्ट (नागरिकता) नलिएको बताउँदै अमेरिकी राजनीतिको विषयको कुराकानीबाट पन्छिए ।
 
यसको केही दिन पछि लउज नाम गरेको घरायशी सामान पाइने स्टोरमा एक नेपाली भेटिए । बजारभाउ बढेको महसुस गरेका उनले भने–‘डोनाल्ड ट्रम्प राष्ट्रपति भएको भए यस्तो महंगो हुने थिएन ।’ कोरोना संकट पछि तंग्रिएको विश्व अर्थतन्त्रले बस्तुको मागमा भएको वृद्धि, युक्रेन र रुसबीचको तनावले पेट्रोलियमको मूल्यमा भएको वृद्धि, अमेरिकामा रोजगारीमा भएको वृद्धिले व्यापक रुपमा बस्तुको माग बढाइको जस्ता मुख्य कारणलाई नबुझेर हो या ट्रम्पप्रतिको आशक्तिले हो उनले मूल्य वृद्धिको कारक बाइडेन प्रशासनलाई ठहर्‍याएका रहेछन् ।  
 
ट्रम्प शासनकालको अन्तिम वर्ष विश्वव्यापी रुपमा आएको महामारी कोभिडले वस्तुको मूल्य व्यापक घटेको थियो । उपभोक्ताको मनोवल साह्रै गिरेको थियो । बस्तु तथा सेवाको मागमा भएको गिरावटले गर्दा उत्पादकले नोक्सानी सहेर सामाज बिक्री गरेका थिए । अहिले बाइडेनको समयमा पनि उनको अपेक्षा कोरोनाकालको जस्तै सस्तो बजारभाउको छ ।
 
अब चाँही मुख्य सन्दर्भ ।
नेपालमा चुनाव हुन अझै झण्डै एक महिना बाँकी छ । मंसिर ४ गते अर्थात नोभेम्बर २० तारिकमा नेपालको संसद र प्रदेश सभाका लागि चुनाव हुँदैछ । अमेरिकामा भने चुनाव आजबाट सुरू भएको छ । मुख्य चुनावको दिन नोभेम्बर ८ तारिक भएपनि मतदाताहरुले आज सोमबारदेखि आफ्नो नजिकको केन्द्रमा गएर भोट हाल्न सुरु हुँदैछ । जसलाइ अर्ली भोटिङ भनिन्छ ।
 
अमेरिकामा छिटपुट रुपमा अनेक चुनाव भैरहन्छन् । सिटी (नगरपालिका) का चुनावदेखि लिएर स्कुल डिस्ट्रिक्ट, काउन्टीका न्यायाधीशदेखि लिएर रेलरोड कमिस्नरसम्मका चुनाव बीचबीचमा अनेकन पटक भैरहन्छन् ।
 
तर यसपटक नोभेम्बर ८ को चुनाव चाँही मिडटर्म चुनाव हो । मिडटर्मको अर्थ अल्पायुमै अर्थात मध्यावधि चुनाव भने होइन । यो नियमित चुनाव हो । राष्ट्रपतिको कार्यकालको पहिलो दुई वर्ष बितेपछि हुने कारणले गर्दा यसलाई मिडटर्म भनिएको हो । राष्ट्रपतिले आफ्नो कार्यकालको पहिलो दुई वर्षमा राम्रो काम गरेको या जनअपेक्षा अनुरुप काम नगरेको नतिजा यो चुनाव परिणामले संकेत गर्छ । राष्ट्रपतिको दलले तल्लो सदन हाउस र माथिल्लो सदन सिनेटमा बहुमत ल्याएमा लोकप्रिय रहेको प्रमाणित हुन्छ भने सिट संख्या घटेमा सरकार अलोकप्रिय भएको, जनचाहना अनुसार काम नगरेको पुष्टी हुन्छ ।
 
अमेरिकाको तल्लो सदन कंग्रेसका सदस्यहरुको पदावधि दुई वर्षको मात्र हुन्छ । संसारका अधिकांश देशहरुमा संसदको आयु ५ वर्षको हुन्छ । तर अमेरिकामा भने तल्लो सदनको आयु दुई वर्षमात्र हुन्छ । माथिल्लो सदन सिनेटका सदस्यहरुको पदावधि भने ६ वर्षको हुन्छ ।
 
अमेरिकाका ५० राज्यहरुमा ४ सय ३५ निर्वाचन क्षेत्र छन् । ती निर्वाचन क्षेत्रहरुबाट हरेक दुई वर्षमा प्रतिनिधि चुनिन्छन् । त्यस्तै यही समयमा अमेरिकी माथिल्लो सदन सिनेटका एकसय सिटमध्य केही सिटका लागि समेत चुनाव हुँदैछ । राज्यका संसदहरुका लागि पनि यही समयमा चुनाव हुन लागेको छ । यही समयमा अमेरिकाकै दोस्रो ठूलो राज्य टेक्ससको सबैभन्दा माथिल्लो पद ‘गभर्नर’ का लागि समेत यही समयमा चुनाव हुँदैछ ।
 
अमेरिकामा यसपटकको चुनावी राजनीति असाध्यै ध्रुबीकृत छ । राजनीतिमा चासो राख्ने र लामो समयदेखि अमेरिकामै रहेका नेपालीहरुका अनुसार यस्तो खतरनाक धु्रबीकरण यसअघिका कुनै चुनावमा पनि देखिएको थिएन ।
 
सन् २०१६ देखि एकाएक आएका डोनाल्ड ट्रम्पले अघि सारेको अस्त्रका कारण अमेरिकामा खतरनाक रुपमा एउटा धार अघि बढेको छ । प्रत्यक्ष रुपमा दुई दल र अप्रत्यक्ष रुपमा अन्य आधा दर्जन दलहरु मात्र देखिने गरेका थिए । तर ट्रम्पले गर्दा अहिले दलभन्दा पनि व्यक्तिका पछि लाग्ने भीडतन्त्रको विकास भएको प्रत्यक्ष देख्न सकिन्छ । सन् २०२१ को जनवरी ६ को घटना त्यसैको एउटा ‘बाई–प्रोडक्ट’ हो । जुन दिन अमेरिकी इतिहासमै कालो दिनका रुपमा चित्रित छ । डोनाल्ड ट्रम्प चुनावबाट हारेपछि त्यो नतिजालाई अमान्य घोषणा गर्न सडकदेखि लिएर अमेरिकाको गौरबमय स्थान ‘क्यापिटल हिल’ जहाँ दुबै सदन छ । त्यहाँ ट्रम्पका समर्थकहरुले आक्रमण गरे । स्पिकर (सभामुख), सांसदहरु भागेर ज्यान जोगाउनुपर्ने अवस्था सिर्जना भयो । संसद भवन तोडफोड भयो । सुरक्षार्थ खटिएका प्रहरी समेत मारिए । आफ्ना भक्तहरुलाई उकासेर ह्वाइट हाउसमा बसेर ट्रम्प क्यापिटल हिल आक्रमणको रमिता हेर्दै थिए ।
 
ट्रम्प र उनका भक्तहरुमा यस्तो भूत सवार थियो कि उनी भनेका परमात्माका अवतार हुन् । चुनाव हार्नै हुँदैन । अमेरिका जस्तो सूचना प्रविधिको क्षेत्रमा संसारको विश्वास जित्न सफल देशको चुनावमा धाँधली भयो भनेर यिनले हौवा पिटाए । यिनका तर्कले बाँकी दुनिया हाँस्यो, अझै हाँस्दैछ ।
 
कोभिड महामारीले एसियालाई गाँजीसक्दा आन्ध्र महासागर र प्रशान्त महासागर नाघेर रोग आउन सक्दैन भन्दै चुपचाप लाग्ने ट्रम्प र यिनका मतियार नै थिए । जब पहिलोपटक सन् २०२० मा सियाटलमा कोभिड देखियो, अझै पनि उनीहरुमा कोरोनाले अमेरिकालाई हल्लाउन सक्दैन भन्ने घमण्ड थियो । चिनिया भाइरस भन्दै खिसी टिउरी गर्न ट्रम्प व्यस्त थिए । जीवनका महत्वपूर्ण समय सेन्ट्रल फर डिजिज कन्ट्रोल (सिडिसी) मा बिताएका डा. एन्थोनी फाउची लगायत चिकित्सकको हुर्मत लिन ट्रम्प र यिनका क्याबिनेट सदस्यहरु लागे । कतिसम्म भने ट्रम्पले एक पटक भनेका थिए–‘म चुनाव जितेर दोस्रो कार्यकाल सुरु गरेकै दिन फाउचीलाई फायर हुनेछन् ।’
 
सत्ताको दुरुपयोग, अनियन्त्रित मुख, राजनीतिको शून्य ज्ञान र बाहिरी विश्वमा अमेरिकाले कैयौँ शताव्दी लगाएर आर्जन गरेको ख्याती माटोमा मिलाउने प्रयास ट्रम्पले चुनाव हार्नु पछाडीका कारण थिए । बाहिरी विश्वमा अमेरिकाको विश्वसनीयतालाई धुलीसात बनाउन ट्रम्प कार्यकालको एजेण्डा जस्तै बन्यो । बातावरण संबन्धि पेरिस सम्झौताबाट अमेरिकालाई अलग बनाएर ट्रम्पले पर्यावरणको मुद्धा केही होइन भन्ने जस्तो मुख्र्याई देखाए । यसले बाहिरी विश्वमा अमेरिकाको विश्वास निकै गिरेको थियो ।
 
त्यतिमात्र होइन सन् २०२० को जुलाईमा जतिखेर कोरोनाको ग्राफ संसारभरि तीब्र गतिमा उकालो लाग्दै थियो । त्यही बेला ट्रम्पले विश्व स्वास्थ संगठन (डब्लु एच ओ) जस्तो बहुराष्ट्रिय राष्ट्रसंघीय संस्थाबाट अमेरिकालाई अलग बनाउने घोषणा गरे । डब्लुएचओ चीनबाट परिचालित भएको भन्ने हल्का र स्तरहिन टिप्पणी ट्रम्पको थियो । अफगानिस्तानबाट अमेरिकी सेना हटाउने निर्णय पनि ट्रम्प प्रशासनकै थियो । जुन पछि बाइडेन प्रशासनले कार्यान्वयन मात्र गरेको हो ।
 
डोनाल्ड ट्रम्पले अघि सारेको घृणाको राजनीति हो, विभाजनको राजनीति हो । एक आपसमा जुधाउने र बजाउने राजनीति हो । अर्काको अस्तित्व नस्विकार्ने सर्वसत्तावादी राजनीति हो । जनमतलाई अपमान गर्ने र आफूले जित्नैपर्छ भन्ने बलमिच्याईको राजनीति हो । सिधै भन्न नसकेर अमेरिकी फस्टका नाममा अमेरिकामा रहेका आप्रवासी र रंगभेदी नीतिको पक्षपोषण हो । तत्कालिन ट्रम्प प्रशासनका टीमका सदस्य, सल्लाहकारहरु तिर फ्लासब्याकमा पुगेमात्र पनि पुग्छ । ती कस्ता रंगका, कस्ता चरित्रका थिए भनेर ।
 
ट्रम्पको शैलीले अमेरिकी प्रजातन्त्रको जग, संस्कार खल्बलिएको टिप्पणी स्वयम् रिपब्लिकन पार्टीका नेताहरुले गरिरहेका छन् । तर रिपब्लिकन पार्टी यतिखेर ट्रम्पको बन्धक बनेको छ । अमेरिकी संबिधान, प्रणाली, संस्कारका कुरा गर्ने रिपब्लिकन नेताहरुलाई समेत ट्रम्पले खोइरो खन्दैछन् । आफ्ना अन्धभक्तहरुलाई उकासेर रिपब्लिकन नेताहरुकै मान मर्दन, चरित्रहत्या गर्न ट्रम्प सकृय छन् । तर राजनीतिक अवस्था यति खतरनाक मोडमा छ कि ट्रम्पलाई गलत भन्ने आँट अधिकांश रिपब्लिकन नेताहरुको छैन । सबै नुन खाएका कुखुराजस्ता ओइलाएका छन् । रिपब्लिकन पार्टीको प्राइमरी जित्नका लागि समेत ट्रम्पबाट स्विकृत हुनुपर्ने खतरनाक परिपाटी रिपब्लिक पार्टीभित्र भित्रिएको छ ।
 
रिपब्लिक पार्टी गलत थिएन । यसका नीतिहरुबाट कोही पनि प्रभावित हुने अवस्था थिएन विगतमा । डेमोक्रेटिक पार्टीै खुल्ला संस्कार प्रति कटिवद्ध, आप्रवासीप्रति केही उदार, अल्पसंख्यक, समलिंगी प्रति उदार छ । रिपब्लिकन पार्टी परम्परागत संस्कार प्रति कटिवद्धहरुको दल हो । पुरातनपन्थीहरुको यसमा बाहुल्यता छ । त्यसैले गर्भपतन गर्न दिन नहुने पक्षमा यो दलका नेताहरु अभिमत जाहेर गर्दै आएका छन् ।
 
तर डोनाल्ड ट्रम्पको उदयपछि रिपब्लिक पाटीको स्वरुप क्षय हुँदै गएको विश्लेषण गरिदैछ । एकल र निर्विकल्प नेताका रुपमा ट्रम्पले आफूलाई उभ्याउन प्रयास गरेका छन् । आफ्ना कुरासँग असमतलाई गालीगलौज गरेर अपमानित गर्ने मामिलामा ट्रम्प माहिरनै छन् । सन् २०२४ को चुनावमा रिपब्लिकन पार्टीका तर्फबाट संभावित फ्लोरिडा गभर्नर रोन डी सान्टिसलाई गाली गलौज, पूर्ब उपराष्टपति डिक चेनीकी छोरी तथा बर्तमान कंग्रेस सदस्य लिज चेनीमाथि ट्रम्पले गरेको अपशव्द सुन्दा दलीय रुप भन्दा बेलगामको घोडा जस्तो रुपमा अघि बढिरहेको दृश्य अघि आउँछ ।  
 
रिपब्लिकन पार्टी र तिनका सांसदहरुले वर्तमान राष्टपति बाइडेनका हरेक नीति तथा कार्यक्रममा भाँजो हाल्दै आएका छन् । सन् २०२० को राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीले लुटेको हाँस्यास्पद अनि तेस्रो विश्वले समेत नपत्याउने तर्क गर्दै यो पार्टी कंग्रेसमा बहुमत ल्याउने दाउमा छ । यदी कंग्रेसमा रिपब्लिकनको बहुमत भएमा राष्ट्रपतिले बाँकी दुई वर्षे कार्यकाल कुनै काम गर्न सक्दैनन् । किनकी सरकारले जुनसुकै नयाँ नीति बनाउँदा दुबै सदनबाट पारित हुन जरुरी छ । रिपब्लिकनले कंग्रेसमा जित्नु भनेको राष्ट्रपतिका दुबै हात बाँधिनु हो ।
 
ताजा उदाहरणलाई लिउँ । राष्ट्रपति जो बाइडेनले ल्याएको नीति विद्यार्थीहरुले पढ्नका लागि लिएको ऋण उन्मुक्ति दिने नीतिलाई बडो कष्टसाथ दुबै सदनबाट पारित त भयो । तर पुरातनपन्थीहरुको बाहुल्यता भएको अदालतले तत्काललाई भाँजो हालेको छ ।
 
अब सदनमा राष्ट्रपतिको दलले बहुमत गुमाउँदाका अवस्थामा राष्ट्रपतिले तलब खाएर बस्नुभन्दा अरु कुनै काम गर्न सक्दैनन् । ट्रम्प र यिनलाई पक्षधरहरु चुनावमा जित्नु भनेको जनवरी ६, २०२१ मा घटाइएको कुकृत्यलाई वैधता दिनु हो । जुन विषयमा अमेरिकी संसदले समिति गठन गरेर घनीभूत रुपमा अनुसन्धान गरिरहेको छ ।
 
उहिल्यै नेपालमा सरकारी कार्यालयका हाकिमहरुले सरुवा हुँदा आफ्नो सरकारी निवासका पर्दा, फर्निचर, ल्यापटपहरुसँगै उठाएर हिड्ने चलन थियो । अफिसमा पनि गतिला सामानमा हाकिमहरुले आँखा गाड्थे । नैतिकहिनताको पराकाष्ठा थियो त्यस्तो कार्य । अमेरिकामा चुनाव हारेर ह्वाइट हाउसबाट बाहिरिएका राष्ट्रपति डोनाल्ड ट्रम्पले अतिनै महत्वपूर्ण, संवेदनशील डकुमेन्टहरु बोकेर निस्किए । ती कागजपत्रहरु राष्ट्रपतिका व्यक्तिगत सम्मानपत्र थिएनन् । सबै महत्वपूर्ण सूचना, डकुमेन्टहरु थिए । जो शताव्दीयौसम्म सरकारी सम्पत्तिका रुपमा रहनुपर्ने गोप्य सूचनाहरु समेत थिए, दस्तावेजहरू थिए । यस्ता डकुमेन्टलाई आफ्नो सम्पत्ति ठानेर बोकेर हिँड्ने ट्रम्प एकमात्र पूर्ब राष्ट्रपति हुन् ।

एफबीआइले उनको घरमा छापा मारेपछि बडो विचित्रको तर्क राखेका छन् । पहिलेका पूर्ब राष्ट्रपतिहरुले पनि यस्ता डकुमेन्टहरु सँगै बोकेर जाने गरेका थिए भनेर उनले बडो हास्यास्पद तर्क गरे । त्यो तर्कको जीवित पूर्ब राष्ट्रपतिहरु जर्ज बुस, जिमी कार्टर र बिल क्लिन्टनले तत्कालै प्रतिवाद गरे । आफ्नो गल्ती ढाक्न अरुले गर्दै नगरेको, हुँदै नभएको आरोप लगाउने पुरानै स्वभाव हो ट्रम्पको ।
 
भोलीदेखि सुरु हुने अमेरिकी चुनावमा ट्रम्पमार्काका रिपब्लिकनले जित्दा अमेरिकाका लागि निकै चुनौतियुक्त हुनेछ । पहिलो, जनवरी ६ को अमेरिकाकै बदनामी गर्ने घटनालाई प्रोत्साहन पुग्नेछ । किनकी त्यसको एकमात्र कारक डोनाल्ड ट्रम्पमात्र थिए । दोस्रो, वर्तमान राष्ट्रपति जो बाइडेनको हात पुरै बाँधिनेछ । जसका कारण संसदबाट कुनै पनि नयाँ नीति तथा कार्यक्रम पारित हुनेछैनन् ।
 
जो बाइडेन अलोकप्रिय पक्कै भएका छन् । तर अमेरिकाको साखलाई गिराउने काम कुनै गरेका छैनन् । बरु अन्तर्राष्ट्रिय फोरमहरुमा अमेरिकालाई पहिलेजस्ते दह्रो उपस्थित गराएका छन् । यदी बाइडेन नहुँदा हुन् त यतिखेर रुसले युक्रेन कप्लक्कै खाइसकेको हुन्थ्यो ।
 
कानुनी राजको परिपालना, अरुको अस्तित्वको सम्मान, महिला अधिकार, चरम ध्रुबीकरण अन्त्यका लागि ट्रम्पमार्काहरु यसपटक पछारिनुपर्छ । भोलीदेखि सुरु हुने चुनावमा विवेक प्रयोग गरिएन भने भोलीका दिनका चुनावहरुमा ध्रुबीकरण, भीडले मनलाग्दी गर्ने प्रवृत्ति अझै मौलाउने निश्चित छ । त्यतिखेर पछुताएर कुनै फाइदा हुनेछैन ।
 
डेमोक्रेटिक पार्टी र वर्तमान सत्ताले जनअपेक्षालाई संबोधन गर्न सकेको नसकेको पक्कै हो । बढ्दो महंगी, मुद्रास्फितीलाई वर्तमान सरकारले नियन्त्रणमा राख्न नसकेकै हो । यसले जनतालाई सास्ती र तनाव भोगिरहनु परेको छ । यो क्षणीक अर्थात अल्पकालिन समस्या मात्र हो ।
 
तर ट्रम्प र उनका मतियारहरुले चुनाव जित्नु भनेको अहिलेको क्षणीक समस्या भन्दा चर्को दीर्घकालिक समस्या बढ्नेछ । बन्दुकमा निर्वाध खुल्लापन, गर्भपतन गर्नै नपाउनेगरि कानुनमा व्यबस्था, मताधिकारमा कडाई थपिनेछन् । तसर्थ रिपब्लिकनलाई भोट दिएर ट्रम्पको मनोबल उकास्ने या डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई रोजेर अमेरिकाको छबीलाई माथि उकास्ने ? यसको जिम्मा मतदाताकै दायित्व हो । यो दायित्व निर्वाह गर्ने दिन आजबाट सुरु भैसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया