मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

न्यु योर्क सहरमा ‘मह’ जोडीसहितको वृहत साँस्कृतिक कार्यक्रम हुदै

न्यु योर्क सहरमा ‘मह’ जोडीसहितको वृहत साँस्कृतिक कार्यक्रम हुदै

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विविध कोणबाट विश्वमै चर्चाको शिखरमा रहेको अमेरिकाको न्यु योर्क सहरमा, नेपाली/ गैर आवासीय नेपालीहरुले वृहत साँस्कृतिक कार्यक्रम गर्ने भएका छन्।
 
नेपालका चर्चित वरिष्ठ कलाकार तथा लामो समयदेखि विविध क्षेत्रमा सचेतना जगाउन अमुल्य योजदान पुर्याउदै आएका सचेतक अभियान्ता द्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी)सहित अन्य चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने उक्त साँस्कृतिक कार्यक्रमलाई ‘समता साँझ’ नाम दिइएको छ। ‘समता साँझ’ यहि आउदो नोभेम्बर ५ तारिखका दिन अमेरिकाको न्यु योर्क सहरको Woodhaven manor caters & Banquet, 96-01 Jamaica Avenue, Woodhavenमा आयोजना गरिदै छ। उक्त साँस्कृतिक कार्यक्रम आर के फाउन्डेशन, अमेरिकासंगको सहकार्य र सहयोगी भूमिका निर्वाह गर्ने अन्य स्थानीय संघ संस्थाहरुको आतिथ्यतामा, ग्लोबल समता सिनेटले आयोजना गर्न लागेको हो। मातृभूमिमा रहेका शिक्षाबाट बन्चित बालबालिकाहरुलाई सहयोग जुटाउने हेतुले साँस्कृतिक कार्यक्रम ‘समता साँझ’को आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। 
ग्लोबल समता सिनेटका बरिष्ठ उपाध्यक्ष तथा साँस्कृतिक कार्यक्रम ‘समता साँझ’का संयोजक टिका ढकालका अनुसार, कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न आवश्यक तयारी सुरु गरिसकिएको छ। यो साँस्कृतिक कार्यक्र भएतापनि, यसको मुख्य उद्देश्य भने मातृभूमि नेपालमा रहेका शिक्षाबाट बन्चित बालबालिकाहरुलाई सर्वसुलभ गुणस्तरीय शिक्षा दिलाउने अभियानलाई टेवा पुर्याउन सक्दो सहयोग जुटाउनु नै हो भन्दै संयोजक ढकालले भने, ‘कार्यक्रमबाट उठेको रकम नेपाल स्थित समता शिक्षा निकेतनद्वारा सञ्चालित समता शिक्षा अभियानलाई टेवा पुर्याउनका लागि सदुपयोग गरिनेछ। हामी  नेपालमा सञ्चालित समता शिक्षा निकेतनको समता शिक्षा अभियानसंग जोडिएर नेपालको शैक्षिक क्षेत्रमा सक्दो सहयोग गर्नका लागि जुटेका छौं। आसा छ कि, न्यु योर्कवासी नेपालीहरुले सक्दो साथ र सहयोग दिनुहुनेछ।’ संयोजक ढकालले भने, ‘यो अमेरिकामा रहेका नेपाली/गैर आवासीय नेपालीहरुका लागि, मातृभुमिप्रतिको ऋण तिर्ने सुवर्ण अवसर हो। आऔं ! सक्दो सहयोग गरेर मातृभूमिको ऋण तिरौं ! र पुण्य कमाऔं ! ”   
आयोजकका अनुसार समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार द्वय ‘मह’ जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र लोकप्रिय गायक रामकृष्ण ढकाल ‘समता साँझ’ का मुख्य आकर्षक रहनु हुनेछ। उनीहरुसंगै लोक दोहोरी गायक बिमल डाँगी, गायिका निसा सुनार र गायक मुकेश घिमिरेले गीत गाएर कार्यक्रममा सांगीतिक माहोल शृजना गर्ने छन् भने, नृत्यमा पारङ्गत कलाकारहरु गोबिन्द राई(नृत्य निर्देशक), लाक्पा डोल्मा लामा चेन र लोचना सुवेदीले  आआफ्नो खारिएको नृत्यकला पस्किएर साँगीतिक माहोललाई थप रौनक र मनोरञ्जनात्मक बनाउने छन्। उक्त कार्यक्रममा दर्शकहरुलाई खानाको पनि व्यवस्था गरिएको जानकारी दिदै कार्यक्रम संयोजक ढकालले साँगितिक कार्यक्रममा सहभागी भइ भरपुर मनोरञ्जन लिन सम्पूर्ण न्यु योर्कवासी समाज सेवी तथा संगीत प्रेमीहरुलाई अनुरोध गरेका छन्। 
 
कार्यक्रममा सहभागिता जनाउनका लागि सहयोग शुल्क स्वरुप प्रति टिकट सय डलर दर तोकिएको छ भने, कार्यक्रममा व्यवसायको व्यानर राख्नका लागि एक हजार डलर सहयोग शुल्क तिर्नु पर्ने छ। आयोजकले कार्यक्रम स्थलको क्षमतालाई मध्यनजर गर्दै कूल नौं सय टिकट बिक्री गर्ने लक्ष्य राखेको छ।
 
‘समता साँझ’ कार्यक्रम  
‘सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् (Be a senator, contribute to nation building)” भन्ने मूल नाराका साथ समता सिनेटर बन्ने/बनाउने अभियानसंग जोडिएको कार्यक्रम हो । यसै कार्यक्रमका बिच अमेरिकामा रही समभावले समता शिक्षा अभियानमा जोडिएका समता सिनेटरहरुलाई सम्मान गरिने भएको छ। 
 
समता शिक्षा निकेतनका संस्थापक तथा समता शिक्षाका प्रमुख अभियान्ता उत्तम संजेल र प्रमुख संरक्षक तथा वरिष्ठ कलाकार द्वय ‘मह’ जोडी(मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले समता सिनेटरहरुलाई समता शिक्षा उपाधिसहित सम्मान गर्न लागिएको कुरा ग्लोबल समता सिनेटका वरिष्ठ उपाध्यक्ष तथा समता साँझका संयोजक ढकालले जानकारी दिए। ढकालले शिक्षाप्रेमी, समाजसेवी तथा नेपालप्रेमीहरुलाई ‘समता सिनेटर’ बनेर समता शिक्षा अभियानमा जोडिन हुन अनुरोध समेत गरेका छन्।  
 
आयोजकका अनुसार, सिल्भर समता सिनेटर बन्नका लागि ६ सय लडर, समता सिनेटर बन्नका लागि एकहजार डलर र गोल्ड समता सिनेटर(कार्यक्रममा आफ्नो व्यवसायको व्यानर पनि राख्न पाँउने)बन्नका लागि दुइहजार डलर सहयोग शुल्क तिर्नु पर्नेछ। सिनेटर बन्ने र कार्यक्रमा व्यानर राखेर सहयोग  गर्नेलाई दुइवटा टिकट निशुल्क उपलब्ध गराइने जनाइएको छ। आवश्यक शुल्कसहित रितपूर्वक निवेदन दिएकाहरुको संस्थाको समभावप्रतिको प्रतिबद्धता प्रमाणित भएमा, उनीहरु समता सिनेटर बन्न सफल हुनेछन्। समता सिनेटरको उपाधि दिने वा नदिने निर्णय भने संस्थाद्वारा गठित शिक्षाप्रेमीहरुको एक स्वतन्त्र समितिले गर्ने जनाइएको छ।
 
गत वर्ष अमेरिकामा स्थापना गरिएको ‘ग्लोबल समता सिनेट’ संस्थामा यस वर्षको अन्तसम्ममा अमेरिका भरीबाट दुई सय जना सिनेटरहरु आवद्ध हुने आशा गरिएको छ।

  

समता शिक्षा निकेतनको समता शिक्षा अभियानलाई सहयोग जुटाउने हेतुले न्यु योर्क राज्यसहित अमेरिकाको ९ राज्यहरुमा यस प्रकारको साँस्कृतिक कार्यक्रमसहितको सुशोभन समारोह हुन गइरहेको आयोजकले जनाएको छ। जस अनुसार नोभेम्बर-६मा सिकागो, नोभेम्बर-११मा कोलम्बस, नोभेम्बर-१२मा पिट्स्बर्ग, नोभेम्बर- १३ मा मासाचुसेट्स, नोभेम्बर-१८मा लुइस्, नोभेम्बर-१९ मा सान फ्रान्सिस्को र नोभेम्बर-२०मा डालासमा आयोजना गरिने गरी समय तालिका तय गरिएको छ।
 
समता शिक्षा निकेतनको समता शैक्षिक अभियान, यस संस्थाका संस्थापक तथा सर्वसुलभ समता शिक्षाका अभियान्ता-उत्तम सञ्जेलको सक्रिय अगुवाइमा आजभन्दा २१ वर्ष अघि २०५८ सालमा काठमाण्डौं जोरपाटीको नयाँ बस्तीबाट प्रारम्भ भएको हो। संस्थाले विद्यार्थीहरुलाई प्रति विद्यार्थीबाट मासिक एक सय रुपैयाँ मात्र लिइ सर्वसुलभ गुणस्तरीय शिक्षा प्रदान गरेर शैक्षिक क्षेत्रमा अमुल्य योगदान पुर्याउदै आइरहेको छ। हाल यस संस्थाले नेपालको ७७ जिल्लामा ८१ वटा विद्यालयहरु सञ्चालन गरिरहेको छ। यसका अलावा संस्थाले आफ्नो अभियानलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यका साथ भारत, श्रीलंका र बंगलादेशमा समेत आफ्नो शाखा बिस्तार गरेको छ। अन्य देशहरुमा पनि पुग्न आवश्यक पहल गरिरहेको छ। समता शिक्षा निकेतनले २०६६ देखि उच्च माध्यमिक तह र २०७२ देखि स्नातकोत्तर तहको पठनपाठनसमेत सञ्चान गरिरहेको छ।