मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

मासाचुसेट्सवासी बृहत सुशोभन समारोहको तयारीमा जुटे

मासाचुसेट्सवासी बृहत सुशोभन समारोहको तयारीमा जुटे

शेयर गर्नुहोस:

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिकाको मासाचुसेट्स राज्यको बोस्टन सहरमा हुन गइरहेको ‘बृहत सुशोभन समारोह एवं साँस्कृति कार्यक्रम’ सफलतापूर्वक सम्पन्न गर्न मासाचुसेट्सवासी नेपाली/गैर आवासीय नेपाली समुदाय तयारीमा जुटेका छन्। 
 
समारोहको मुख्य उद्देश्य ‘नेपालमा गुणस्तरीय समता शिक्षालाई सर्वसुलभ बनाइ राष्ट्रनिर्माणमा टेवा पुर्‍याउन सक्दो सहयोग जुटाउने’ रहेको छ। 
 
अमेरिकामा स्थापित नाफारहित संस्था ‘समता ग्लोबल सिनेट’को आयोजना तथा बोस्टनस्थित ग्रेटर बोस्टन नेपाली कम्युनिटी र पशुपतिनाथ बुद्ध फाउन्डेशनको आतिथ्यतामा, आउँदो नोभेम्बर १३ तारिख आइतबारका दिन मासाचुसेट्स राज्यको आर्लिङ्गटन सहरको 7 Medford street स्थित Regent Theatre मा उक्त समारोह आयोजना गर्ने गरी तयारी थालिएको हो।  
 
”सिनेटर बन्नुहोस्, राष्ट्र निर्माणमा योगदान गर्नुहोस् (Be a senator, contribute to nation building)” भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको उक्त सुशोभन समारोहमा, 
अमेरिकामा रही समभावले समता शिक्षा अभियानमा जोडिएका समता सिनेटरहरुलाई सम्मान गरिदै छ। 
समता शिक्षा निकेतनका संस्थापक तथा समता शिक्षाका प्रमुख अभियान्ता उत्तम संजेल र संरक्षक तथा वरिष्ठ कलाकार ‘मह’ जोडी(मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले समता सिनेटरहरुलाई समता शिक्षा उपाधिसहित सम्मान गर्ने जनाइएको छ। 
 
बोस्टनमा हुने समारोहलाई सफल पार्ने तयारी अन्तर्गत समता ग्लोबल सिनेटका ‘समता सिनेटर’ बोस्टनवासी ठाकुर ज्ञवालीको संयोजकत्वमा, मासाचुसेट्स राज्यमा अवस्थित विभिन्न संघ संस्था तथा प्रबुध्द  व्यक्तित्वहरुलाई समेटेर ‘मूल समारोह आयोजक समिति’ गठन गरिएको छ। मूल समारोह आयोजक समिति गठन गरेसंगै समितिले तयारीको विविध कामहरु सुरु गरिसकेको छ। समितिका संयोजक ज्ञवालीले जानकारी दिएअनुसार समारोहको प्रचारप्रसार, सम्भावित सहयोगीहरु र सिनेटर बन्न इच्छुक व्यक्तित्वहरुको खोजी कार्य सुरु गरिसकिएको छ। संयोजक ज्ञवालीले भने, ‘ 
समारोहको मिति नजिकी सकेको छ। तयारी धेरै गर्नु पर्ने भएकाले ‘मूल समारोह आयोजक समिति’ गठन गरेर हामी काममा जुटिसकेका छौं।समितिमा मासाचुसेट्स राज्यमा अवस्थित विभिन्न संघसंस्था तथा प्रबुध्द व्यक्तित्वहरुलाई समेटिएको छ। अरुलाई पनि समेट्दै जानेछौं” 
 
शिक्षाप्रेमी, समाजसेवी तथा नेपालप्रेमीहरुका लागि यो सुवर्ण अवसर भएको जिकिर गर्दै ज्ञवालीले ‘समता सिनेटर’ बनेर समता शिक्षा अभियानमा हातेमालो गर्न सबैलाई अनुरोध गरेका छन्।  
 
हाल ज्ञवालीसहित बोस्टनबाट कुमार सिंह डाँगी, राजु तामाङ, कैलाश डाँगी, एनड्रे, डाँगी, एडम डाँगी र समृद्धि डाँगी (४ वर्षिया सबै भन्दा कान्छी सिनेटर) समता सिनेटर रहेका छन्। गत वर्ष स्थापना गरिएको यस संस्थामा अन्य शिक्षाप्रेमी, नेपालप्रेमी तथा समाजसेवीहरु पनि समता सिनेटर बन्ने क्रम जारी छ। यस वर्षको अन्तसम्ममा अमेरिका भरीबाट दुई सय जना सिनेटरहरु हुने समता ग्लोबल सिनेटको अनुमान छ। 
 
संस्थाका अनुसार, इच्छुकहरुले समता सिनेटरको उपाधि पाउनका लागि एक हजार अमेरिकी डलर शुल्कसहित रितपूर्वक निवेदन दिनु पर्नेछ। र, संस्थाको समभावप्रतिको निवेदकको प्रतिबद्धता प्रमाणित हुनु पर्नेछ। समता सिनेटरको उपाधि दिने वा नदिने निर्णय भने संस्थाद्वारा गठित शिक्षाप्रेमीहरुको एक स्वतन्त्र समितिले गर्नेछ।
 
समितिका सहसंयोजक तथा समता सिनेटर कैलाश जंग डाँगीका अनुसार उक्त समारोहमा मनोरञ्जनात्मक विविध सांस्कृतिक कार्यक्रम पनि हुनेछ। जसमा समता शिक्षा निकेतनका संरक्षक तथा वरिष्ठ कलाकार द्वय ‘मह’ जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) र लोकप्रिय गायक रामकृष्ण ढकालले बेजोड साँगीतिक खुराक पस्कने छन्।सहसंयोजक डाँगीले वरिष्ठ कलाकार ‘मह’ जोडी र लोकप्रिय गायक रामकृष्ण ढकालको बेजोड प्रस्तुति रहने साँगितिक कार्यक्रममा सहभागी भइ भरपुर मनोरञ्जन लिन गीत संगीत प्रेमीहरुलाई अनुरोध गरेका छन्।
 
उनले दिएको जानकारी अनुसार  कार्यक्रममा सहभागिता जनाउनका लागि सहयोग शुल्क तिरी कागजी वा अनलाइनबाटै पनि टिकट किन्न सकिने व्यवस्था मिलाइदैछ। सहयोग शुल्क स्वरुप प्रति टिकट १ सय र ५० डलर दर रहने छ। आयोजकले कार्यक्रम स्थलको क्षमतालाई मध्यनजर गर्दै कूल पाँचसय टिकट बिक्री गर्ने लक्ष्य राखेको छ। 
 
यसैगरी, यस्तै ‘बृहत सुशोभन समारोह’ मासाचुसेट्स राज्यको बोस्टनसहित अमेरिकाको ९ राज्यहरुमा हुदैछ। नोभेम्बर-५ तारिखमा अमेरिकाको न्युयोर्क, नोभेम्बर-६मा सिकागो, नोभेम्बर-११मा कोलम्बस, नोभेम्बर-१२मा पिट्स्बर्ग, नोभेम्बर-१८मा लुइस्, नोभेम्बर-१९ मा सान फ्रान्सिस्को र नोभेम्बर-२०मा डालासमा आयोजना गरिदै छ।