कोलोराडो । कोलोराडो डेनभर नजिक एरोरा सिटीमा सञ्चालित नेपाली भाषा कक्षाको दोस्रो सेमेष्टर शनिबार सकिएको छ । उक्त नेपाली भाषा कक्षामा ५२ जना नेपाली समुदायका बालबालिका सहभागी थिए ।
कार्यक्रममा नेपाली भाषा कक्षामा सहभागी विद्यार्थी, शिक्षक र सहयोगीलाई प्रमाणपत्र तथा धन्यवाद दिइएको थियो । नेपाली भाषा कक्षा मेदेखि अक्टोबरसम्म प्रत्येक शनिबार सञ्चालन गरिएको थियो ।
नेपाली समुदायका बालबालिकालाई नेपाली बोल्न लेख्न र पढ्न सिकाउने उद्देश्यले भाषा कक्षा सञ्चालन गरिएको संयोजक पद्म विश्वकर्माले बताए । ‘हामीले अभिभावक र विद्यार्थीवाट राम्रो प्रतिक्रिया पाएका छौँ’, विश्वकर्माले भने, ‘यो अर्को वर्ष पनि जारी रहन्छ ।’ विश्वकर्मा अमेरिकामा रहेर नेपाल साहित्य प्रवर्द्धन र लेखनमा लागिपरेका छन् । उनको क्वारेन्टाइन उपन्यासलगायत कथा र कवितासङ्ग्रह प्रकाशित छन् ।
उक्त भाषा कक्षा सञ्चालनका क्रममा अभिभावक र समुदायको राम्रो र सक्रिय सहयोग रहेको उनको भनाइ छ । ‘अभिभावकहरुले अर्को वर्ष पनि यस्तो कक्षा जारी राख्नुपर्ने सुझाव दिनुभएको छ’, विश्वकर्माले भने, ‘हामी निरन्तरता दिन्छौँ ।’
शनिबार सकिएको नेपाली भाषा कक्षा दोस्रो सेमेष्टर हो । सेमेष्टर समापनको अवसरमा सहभागी बालबालिकाले नेपाली राष्ट्रिय गान गाउनुका साथै गीत तथा नृत्य प्रस्तुत गरेका थिए । एरोरा कोलोराडोको राजधानी डेनभरसँगै जोडिएको सिटी हो । यहाँ नेपाली समुदायको बसाइ उल्लेख्य छ ।
प्रतिक्रिया