मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण

गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । 
 
गैरआवासीय नेपाली संघ (एनआरएनए) दिवसका अवसरमा संघद्वारा मंगलबार आयोजित कार्यक्रममा उनले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी गराए । 
 
मन्त्री खाणले नागरिकता विधेयक सबै दलको सहमतिमा कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुन नपरोस् र गैरआवासीय नेपालीले पनि संविधानअनुसार नागरिकता प्राप्त गरुन् भन्ने उद्देश्यले सरकारले ल्याएको स्पष्ट पारे । 
 
सो अवसरमा उनले गैरआवासीय नेपालीलाई विदेशमा आर्जन गरेको सीप, लगानी र पुँजी नेपालमा भित्र्याउनका लागि आह्वान गर्दै त्यसको सुरक्षा सरकरले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 
कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्यालले संघलाई सरकारले महत्त्वका साथ आत्मसात् गरेको उल्लेख गर्दै सरकारले नीति तथा कार्यक्रममा संघसँगको सहकार्य र संघको योगदानलाई परिचालन गर्ने उद्देश्य राखेको जानकारी गराए । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपालीले आफ्नो ज्ञान, सीप र पुँजी नेपालमा भित्र्याएर निजी क्षेत्रसँग गरेको सहकार्य प्रशंसनीय छ भने ।
 
संघका कार्यकारी अध्यक्ष रविना थापाले विदेशमा बस्ने नेपालीका मर्म बुझेर संघको स्थापना भएको बताउँदै यसले अप्ठ्यारो परेका बेला नेपाल र नेपालीलाई महत्वपूर्ण सहयोग र योगदान गर्दै आएको उल्लेख गरे । 
 
संघका अध्यक्ष कुल आचार्यले वर्तमान सरकारले गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन गरेको कार्यको प्रशंसा गर्दै थप लगानीमैत्री कानुन निर्माणका लागि आग्रह गरे । अर्का अध्यक्ष डा बद्री केसीलआगामी निर्वाचनदेखि गैरआवासीय नेपालीलाई आम निर्वाचनमा मतदान गर्ने व्यवस्था कार्यान्वयन गर्न माग गरे ।
 
संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मुलुक समृद्ध नभई व्यक्तिगत सफलताले मात्र साध्य नहुने उल्लेख गर्दै यस उद्देश्यलाई परिपूर्ति गर्ने भावनाका साथ अघि बढ्न सम्पूर्ण गैरआवासीय नेपालीलाई आग्रह गरे । 
 
कार्यक्रममा पूर्व अध्यक्षद्वय जीवा लामिछाने र भवन भट्ट, संस्थापक महासचिव भीम उदासलगायतले संघले गरेका सामाजिक कामकारबाहीका बारेमा जानकारी गराउँदै सरकारले संघलाई थप महत्त्वका साथ लिनुपर्ने धारणा व्यक्त गरेका थिए । 
 
विश्वभर छरिएर रहेका नेपालीको हकहित र अधिकारको संरक्षण र संवर्द्धनका लागि स्थापित संघ विदेशमा रहेका नेपालीको साझा चौतारी हो । संघले स्थापनाकालदेखि नै विश्वका विभिन्न मुलुकमा विभिन्न पेसा, इलम, व्यवसाय गरेर बसिरहेका नेपालीबीच एकता, सद्भाव र पारस्परिक सहयोग अभिवृद्धिका साथै विदेशमा बसेका नेपालीको पुँजी, प्रविधि र उद्यमशीलतालाई मुलुकको विकास निर्माणमा उपयोग र परिचालन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । रासस