मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कर्णाली प्रदेशमा बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, २२ जना बेपत्ता, ४८० घरपरिवार विस्थापित

कर्णाली प्रदेशमा बाढीपहिराबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुग्यो, २२ जना बेपत्ता, ४८० घरपरिवार विस्थापित


कर्णाली । कर्णाली प्रदेशभर बाढीपहिरामा परी मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । प्रदेश प्रहरी कार्यालय कर्णालीका अनुसार प्रदेशभर मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको हो । सबैभन्दा धेरै जुम्लामा नौ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेशका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । 
 
उनका अनुसार मुगुमा आठ, कालिकोट र हुम्लामा चार/चार, जाजरकोटमा तीनको मृत्यु भएको छ । डोल्पा र सल्यानमा दुई/दुई जनाको मृत्यु भएको छ भने दैलेखमा एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुर्खेत र रुकुम पश्चिममा भने मानवीय क्षति नभएको प्रहरीको भनाइ छ । 
 
२२ जना अझै बेपत्ता भएको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए । बेपत्ता हुने सबैभन्दा धेरै कालिकोटका एक प्रहरी जवानसहित २० रहेका छन् । जुम्लाका दुई र दैलेखका एक जना रहेका छन् । बाढीपहिरामा परी प्रदेशभर २१ घाइते भएको विवरण प्रहरीको तथ्याङ्कमा छ ।

जसअन्तर्गत कालिकोटका मात्रै सात छन् भने मुगु र हुम्लाका पाँचरपाँच घाइते भएका छन् । जुम्लाका दुई, रुकुम पश्चिमका एक र जाजरकोटमा एक जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 
सयौँ घरपरिवार विस्थाापित 
 
लगातारको वर्षाका कारण कर्णाली प्रदेशभर चार सय ८० घर परिवार विस्थापित भएका छन् । प्रहरीको तथ्याङ्कअनुसार सबैभन्दा धेरै दैलेखमा एक सय तीन घर परिवार विस्थापित भएका छन् । मुगुका एक सय ७८ घर परिवार विस्थापित हुँदा जुम्लाका ८६, कालिकोटका ४८, हुम्लाका ४०, सल्यानका नौ, सुर्खेतका आठ घर परिवार विस्थापित भएका हुन् । 
 
डोल्पाका चार घर परिवार विस्थापित हुँदा जाजरकोट र रुकुम पश्चिमका दुई/दुई घर परिवार विस्थापित भएका छन् । प्रभावित जिल्लामा जिल्ला सुरक्षा समितिले समन्वय गरी नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षाकर्मी परिचालन गरी उद्धार र राहत कार्य भइरहेको प्रवक्ता श्रेष्ठले बताए । 
 
घर क्षति र विस्थापितलाई लागि प्रदेश सरकारले राहत पठाउने प्रक्रियामा सुरु गरेको जनाएको छ । घाइतेको उद्धारको लागि हेलिकप्टर परिचालन भइरहेको जनाइएको छ । रासस