मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दुर्गा पक्षको नवौँ दिन गरियो सिद्धिदात्रीको पूजाआराधना

दुर्गा पक्षको नवौँ दिन गरियो सिद्धिदात्रीको पूजाआराधना


काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरिएको छ ।
 
प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् दुर्गा पक्षको नवौँ दिन सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गर्ने वैदिक सनातनी परम्परा छ । घटस्थापना गरिएको स्थलमै नवौँ सिद्धिदात्री देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिन्छ । सिद्धि दिने भएकैले नवौँ देवीको नाम सिद्धिदात्री रहेको हो ।
 
मुक्त हुन चाहनेहरुलाई मोक्ष प्रदान गर्ने हुनाले देवीलाई सिद्धिदात्री भनिन्छ । सिद्ध अर्थात् मोक्ष हुन चाहनेलाई मुक्ति दिन सक्ने भएकैले ती देवीको नाम सिद्धिदात्री रहेको पौराणिक ग्रन्थमा उल्लेख गरिएको छ । सिद्ध, गन्धर्व, यक्ष, सुर र असुरहरुद्वारा सेवित भएकाले यिनलाई सिद्धिदायिनी पनि भनिन्छ । यिनी नवदुर्गा गणकी अन्तिम अर्थात् नवौँ देवी मानिएकी छिन् । सिद्धिदात्री देवीको विधिपूर्वक पूजाआराधना गरेमा मनकामना पूरा हुने धार्मिक विश्वास छ ।
 
दुर्गा देवीका नौ नाम स्वयं ब्रह्माजीले मार्कण्डेय ऋषिलाई बताउनुभएको विभिन्न पुराणमा उल्लेख छ । यी नौ नाम स्मरणमात्र गर्नाले जुनसुकै कष्ट वा सङ्कटबाट पनि मानिसले सजिलैसँग छुटकारा पाउने विश्वास गरिन्छ । 
 
नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । 
 
दोस्रो दिन असोज ११ गते मङ्गलबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन असोज १२ गते बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरियो । चौथो दिन असोज १३ गते बिहीबार कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो भने पाँचौँ दिन असोज १४ गते शुक्रबार स्कन्दमाताको पूजाआराधना गरियो । छैटौँ दिन असोज १५ गते शनिबार कात्यायनी देवीको विधिपूर्वक पूजाआराधना गरिएको थियो । 
 
सातौँ दिन असोज १६ गते आइतबार कालरात्रि देवीको विधिपूर्वक पूजाआराधना गरियो । दुर्गा पक्षको आठौँ दिन असोज १७ गते सोमबार महागौरी देवीको विशेष पूजाआराधनासहित पूजाआराधना गरियो । दुर्गापक्षको नवौँ दिन एवं नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको विधिपूर्वक विशेष पूजाआराधना गरिएको हो । 
 
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशति (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म आराधना गरिएकी देवीलाई बुधबार बिहान १०ः३४ बजे विसर्जन गर्ने साइत दिइएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
 
नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष असोज १९ गते बुधबार विजयादशमी परेको छ । विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भए पनि साइत खोज्नेका लागि बिहान ११ः५१ बजेको साइत उत्तम रहेको उनले बताए । दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व भव्यरूपमा मनाउँछन् ।
 
दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । रासस